प्याराग्लाइडिङका लागि साराङकोटको विकल्प बलेवा

गण्डकी प्रदेश सरकार पूर्वाधार निर्माणमा सक्रिय

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण
प्याराग्लाइडिङका लागि साराङकोटको विकल्प बलेवा

बलेवामा गरिएको प्याराग्लाइडिङको परीक्षण उडान ।

गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङका लागि पोखरा सराङकोटको विकल्पको रूपमा बाग्लुङको बलेवालाई अघि सारेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि साराङकोटमा प्याराग्लाइडिङ सञ्चालन गर्न नसकिने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश सरकारले त्यसको विकल्पका रूपमा बाग्लुङको बलेवा क्षेत्रलाई रोजेको हो । 

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा बाग्लुङ नगरपालिका–१३ पैयुँपाटाको पहरेमा प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गर्न थालिएको छ । एक वर्षअघि बलेवा महोत्सवको अवसरमा पोखराको भ्यालिलेक प्याराग्लाइडिङ कम्पनीले बलेवाको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडानसमेत गरेको थियो । 

प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधारको शिलान्यास गर्दै मन्त्री विकास लम्साल ।


त्यतिवेलै परीक्षण उडानमा सहभागी प्याराग्लाइडिङका पाइलटहरूले भौगोलिक र पर्यटकीय दृष्टिले पनि बलेवा क्षेत्र साराङकोटको विकल्प बन्न सक्ने बताएका थिए । प्रदेश सरकारले गएको कात्तिकमा भ्यालिलेक प्याराग्लाइडिङ कम्पनीका पाइलट टेकबहादुर थापासहितको टोलीलाई पुनः परीक्षण उडान गर्न लगाएको थियो । 

पछिल्लो परीक्षण उडान सफल भएसँगै बलेवामा पूर्वाधार विकासको लागि प्रदेश सरकारको ध्यान केन्द्रीत भएको हो । 

अनुकूल भूबनोट, सुन्दर प्राकृतिक दृश्य

बलेवा क्षेत्रमा हावा उत्तरबाट दक्षिणतर्फ बहन्छ । बलेवाको दक्षिणतिर समथर मैदान छ । यो भूबनोट प्याराग्लाइडिङका लागि उपयुक्त हुने गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । ‘यहाँको भौगोलिक अवस्थिति प्याराग्लाडिङको लागि अत्यन्तै अनुकूल छ।

प्राकृतिक साैन्दर्य पनि पोखराको भन्दा कम छैन,’ मन्त्री लम्सालले भने, ‘हिमालको सुन्दर दृश्य, तल बञ्जी जम्प, बलेवा विमानस्थल र अग्ला झोलुंगे पुल यहाँ छन् । यो क्षेत्र प्याराग्लाइडिङको लागि अत्यन्तै उपयुक्त छ ।’

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि साराङकोटबाट भइइरहेको प्याराग्लाडिङ रोकिने सम्भावना रहेको उनले बताए । ‘त्यो सम्भावनालाई मध्यनजर गर्दै विकल्पका रूपमा बलेवालाई प्राथमिकतामा राखेका छौँ,’ मन्त्री लम्सालले भने । 

केही समयअघि मन्त्री लम्सालले बलेवामा प्याराग्लाइडिङ उडान ९टेकअप० गर्ने ठाउँमा पूर्वाधार निर्माणको शिलान्याससमेत गरेका थिए । 

पूर्वाधार निर्माणमा २० लाख

बलेवामा प्याराग्लाडिङ सञ्चालनको पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस वर्ष २० लाख बजेटबाट बाग्लुङ नगरपालिका–१३ पैयुँपाटा पहरेमा प्याराग्लाइडिङ उडान (टेकअप) गर्ने स्थानमा आवश्यक पूर्वाधार निर्माण गरिने बलेवा प्याराग्लाइडिङ स्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले जानकारी दिए । ‘आगामी वैशाख मसान्तभित्र निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘त्यति रकमबाट शौचालय, चेञ्जिङ कक्षलगायत आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।’ 

परीक्षणमा बलेवा सबैभन्दा उत्तम

सराङकोटबाट विस्थापित हुने प्याराग्लाइडिङका लागि गण्डकी प्रदेश सरकारले केही समयअघिदेखि नै विकल्पको खोजी गरेको थियो । त्यसका लागि गण्डकी प्रदेशका पाँच ठाउँमा प्याराग्लाडिङको परीक्षण उडान गरिएको थियो । 

परीक्षणमा बाग्लुङको बलेवा प्याराग्लाईडिङका लागि सबैभन्दा उत्तम देखिएको हो । बलेवाको आकाशबाट देखिने विभिन्न हिमशृंखला, अग्ला डाँडा, यान्त्रिक पुल, बलेवा विमानस्थल, अग्ला झोलुंगे पुल र होमस्टेले पर्यटकलाई लोभ्याउने छ । त्यस्तै, साहसिक पर्यटनका लागि कालीगण्डकी नदीमा सञ्चालन हुँदै आएको र्‍याफ्टिङ र बञ्जीजम्पले पनि आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षित गर्दै आएका छन् । जसका लागि मुख्य गन्तव्य बाग्लुङ बनेको छ ।

सडक सञ्जाल, प्राकृतिक दृश्यावोलकन तथा अन्य पर्यटनका पूर्वाधारका दृष्टिले पनि बलेवामा प्याराग्लाइडिङ सञ्चालन सहज हुने बाग्लुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । 
‘प्याराग्लाइडिङका लागि बलेवा क्षेत्र सबै दृष्टिले उपयुक्त देखिएको छ । पोखराको विकल्पमा बलेवा पर्नु हाम्रा लागि निकै खुसीको कुरा पनि हो,’ वडाध्यक्ष पौडेलले भने, ‘उड्ने (टेकअप लिने) ठाउँमा त पूर्वाधार निर्माणको काम अघि बढिसकेको छ ।’ ओर्लिने (ल्यान्डिङ) गर्ने ठाउँ पनि बाग्लुङ नगरपालिका–१४ नारायणस्थानमा बनाइने उनले बताए । 

जिल्लाको पर्यटन विकासका लागि प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका हुने भन्दै उनले यसबाट भैरवस्थानको धार्मिक महत्व पनि बढ्ने विश्वास व्यक्त गरे । बलेवामा प्याराग्लाइडिङ सञ्चालनका लागि वरपरका तीन वडासँगै बाग्लुङ नगरपालिका अग्रसर भएको छ ।
 
 

सुझावित समाचार