चिकित्सक नपाउँदा सञ्चालन भएन कोरोना अस्पताल

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

चिकित्सक नपाउँदा स्थानीय तहमा कोरोना अस्पताल सञ्चालन हुन सकेका छैनन् । अस्पतालका लागि कतिपय स्थानीय सरकारले तयार गरेका संरचना प्रयोगविहीनजस्तै भएका छन् । 

कैलालीको चुरे गाउँपालिकाले कोरोना अस्पताल सञ्चालनका लागि एकजना एमबिबिएस चिकित्सक र दुईजना स्टाफनर्सका लागि कात्तिक पहिलो साता निवेदन आह्वान गरेको थियो । तर, एमबिबिएस गरेका एकजनाको पनि आवेदन परेन । चिकित्सक नपाएपछि गाउँपालिकाले कोरोना अस्पताल सञ्चालन गर्न सकेको छैन ।

अध्यक्ष धनबहादुर रोकाले दैनिक ज्यालादारीमा काम गर्ने गरी पनि चिकित्सक पाउन नसकेको बताए । ‘दुईजना स्टाफ नर्स छनोट गरिसकेका छौँ । डाक्टरको आवेदन नै परेन,’ अध्यक्ष रोकाले भने, ‘बिरामी हेर्ने डाक्टर नै नपाएकाले कोरोना अस्पताल सञ्चालन गर्न सकेका छैनौँ ।’ 

कैलारी गाउँपालिकाले पनि दुई महिनाअघि नै सूचना जारी गरेर कोरोना अस्पतालका लागि चिकित्सकको माग गरेको थियो । तर, अहिलेसम्म चिकित्सक पाएको छैन । कैलारीका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले चिकित्सक नपाएकाले अस्पताल कसरी सञ्चालन गर्ने भन्ने अन्योल रहेको बताए ।

चिकित्सकको साटो स्टाफ नर्स र हेल्थ असिस्टेन्टबाटै अस्पताल सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको उनले बताए । ‘सार्वजनिक सूचना जारी गरेरै डाक्टर माग ग¥यौँ, तर कसैले आउन मानेनन्,’ सापकोटाले भने, ‘डाक्टरविना कोरोना अस्पताल सञ्चालन गरे पनि संक्रमितलाई सामान्य हेर्नेबाहेक अरू सेवा दिन सकिने अवस्था हुँदैन । अप्ठ्यारो अवस्था आए धनगढी पठाउने काम मात्र हुनेछ ।’ 

धनगढी उपमहानगरपालिकासँगै सिमाना जोडिएको यो गाउँपालिकामातहतका स्वास्थ्य संस्थामा पनि चिकित्सक छैनन् । कैलारी गाउँपालिका–८, मा रहेको उदासीपुर स्वास्थ्य चौकीमा एमबिबिएसको दरबन्दी भए पनि हेल्थ असिस्टेन्टले चलाइरहेका छन् ।

कोरोना संक्रमित दर बढेपछि संक्रमितको उपचारका लागि भनेर सरकारले स्थानीय तहहरूमा एमबिबिएस डाक्टरसहित पाँच शय्याको अस्पताल निर्माणका लागि बजेट पठाएको छ । चालू वर्षको बजेटमै अस्पताल नभएका स्थानीय तहहरूमा कोरोना अस्पताल सञ्चालनका लागि १० लाखका दरले बजेट विनियोजन गरिएको थियो । तर, आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि डाक्टर नपाउँदा स्थानीय तहहरूले कोरोना अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनन् । दुर्गम मात्र होइन, तराई क्षेत्रकै स्थानीय तहले पनि डाक्टर पाएका छैनन् ।

कम्तीमा पाँच शय्याको कोरोना अस्पताल सञ्चालनका लागि सरकारले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाबाहेक कैलालीका अन्य ११ वटा तहमा १० लाखका दरले बजेट पठाएको छ । सरकारले तोकेअनुसार जनशक्ति नपाउँदा कुनै पनि तहले कोरोना अस्पताल सञ्चालन गर्न नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितको संख्या बढ्दा अस्पतालमा शय्याको अभाव हुन थालेपछि सरकारले अस्पताल नभएका हरेक स्थानीय तहमा संक्रमितको उपचार गर्न अल्पकालीन कोरोना अस्पताल सञ्चालन गर्ने योजना चालू वर्षको बजेटमा समावेश गरेको थियो । अस्पतालका लागि एमबिबिएस चिकित्सक हुनुपर्ने मापदण्ड तोकिएको छ ।

सरकारले तोकेको मापदण्डअनुसार जनशक्ति नपाउँदा समस्या भएको स्थानीय तहका प्रमुखहरूको भनाइ छ । सीमित सेवा–सुविधा र सीमित अवधिका लागि मात्रै भएकाले पनि चिकित्सक आउन नचाहेको उनीहरूको बुझाइ छ । ‘पहाडी क्षेत्र भएर पनि होला डाक्टर माग गर्दा आवेदन नै परेन,’ चुरे गाउँपालिका अध्यक्ष रोकाले भने, ‘चिकित्सक नपाउने हो भने संक्रमितको उपचार गाउँमै गर्न सम्भव छैन ।’ तुलनात्मक रूपमा सुगम ठानिएको कैलालीमा मात्र नभई सुदूरपश्चिमका अधिकांश तहले चिकित्सक नपाउँदा कोरोना अस्पताल सञ्चालन गर्न सकेका छैनन् ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी स्थानीय तहलाई जनशक्ति व्यवस्थापन गर्न समस्या भएकाले यसमा सरकारले सहयोग गर्नुुपर्ने बताउँछन् । राज्यको लगानीमा एमबिबिएस पढेकालाई सरकारले केही समयका लागि स्थानीय तहका कोरोना अस्पतालमा खटाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, पाँच शय्याको अस्पतालले मात्र संक्रमित बिरामीको चाप धान्न नसक्ने चौधरी बताउँछन् । ‘संक्रमितको संख्या बढेकोबढ्यै छ । अब पाँच शय्याको अस्पतालले धान्न सक्ने अवस्था हुँदैन,’ उनले भने, ‘स्वास्थ्य उपकरण नभएका छुट्टै अस्पतालको साटो भएका स्वास्थ्य संस्थालाई व्यवस्थित गर्ने र स्तरोन्नति गरेर संक्रमितको उपचार गर्न सक्ने बनाइनुपथ्र्यो ।’ विज्ञापन गर्दा पनि चिकित्सक नआएपछि कोरोना अस्पतालको साटो नजिक पर्ने टीकापुर नगरपालिकास्थित टीकापुर अस्पतालसँग सहकार्य गर्न लागिएको उनले बताए । 

स्थानीय तहमा संक्रमितको उपचारको व्यवस्था नहुँदा अहिले सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमितको चाप बढेको छ । केही समयअघि सेतीको कोरोना अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना भएका थिए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिममा हालसम्म एक लाख २२ हजार एक सय ९५ वटा नमुना जाँच गरिएकोमा ११ हजार नौ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशभरि दुई हजार दुई सय ८१ जना सक्रिय संक्रमित छन् । कैलालीमा मात्र सक्रिय संक्रमितको संख्या ६ सय ९५ छ । गम्भीर प्रकृतिका ५३ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् ।

सुझावित समाचार