संयुक्त राष्ट्रसंघीय आपत्कालीन कोषमा ३७ करोड डलरको प्रतिबद्धता

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय आपत्कालीन कोषका लागि ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी सहयाेग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रसंघका अनुसार यो प्रतिबद्धता रकम आगामी वर्ष सन् २०२१ का लागि हो । 

सन् २०२० मा व्यक्त प्रतिबद्धताभन्दा सन् २०२१ का लागि बढी रकम उपलब्ध गराउन दातृ निकायहरू सहमत भएका छन् । 

राष्ट्रसंघीय कोषले सार्वजनिक गरेको विज्ञप्तिमा यस वर्ष कुल ६२ करोड डलर कोषलाई प्राप्त भएको जनाइएको छ । कोषले एक अर्ब डलर सहायता जुटाउने लक्ष्य राखेको छ । 

राष्ट्रसंघीय बजेट प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आपत्कालीन परिस्थितिमा तत्काल सेवा पुर्याउन यस्तो कोष अति प्रभावकारी हुने गरेको बताए । 

सन् २००५ मा स्थापना भएको कोषले हालसम्म झन्डै सात अर्ब डलर तत्काल मानवीय सेवामा खर्च गरिसकेको छ । यस कोषबाट विश्वका १०० भन्दा बढी देशका लाखौँ मानिस लाभान्वित भएको कोषले जनाएको छ । 

सुझावित समाचार