फेरि दुई हजार बिन्दुमा बजार

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

राष्ट्र बैंकका अधिकारीहरूको ढाडसपछि सेयर बजारले पुन : बुलिस प्रवृत्ति समाएको छ । सेयर बजार एकै दिन ७२ अंकले बढेर २ हजार ४ बिन्दुमा पुगेको हो । 

१ सय ८३ कम्पनीको मूल्य वृद्धि भएसँगै बजारले उच्च वृद्धि गरेको हो । राष्ट्र बैंकले मार्जिन कर्जा, ओभरड्राफ्ट कर्जाको हालको व्यवस्थामा पुनरावलोकन गर्ने गत बिहीबार जारी चालू आवको पहिलो त्रैमासिक विवरणमा उल्लेख गरेसँगै बजार घटेको थियो । आइतबार लगानीकर्ताले राष्ट्र बैंकका अधिकारी भेटेको र सो भेटमा लगानीकर्ताहरूसँग छलफलपछि मात्रै मार्जिन कर्जाको हालको व्यवस्थामा पुनरावलोकन हुने आश्वासन राष्ट्र बैंकबाट पाएपछि बजारले पुरानै प्रवृत्तिलाई निरन्तरता दिएको छ । 

बजारमा लगानीयोग्य पुँजी उच्च हुँदा नेप्सेमा वृद्धिले निरन्तरता पाइरहेकै छ । सोमबार पनि बजारमा ६ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा आएका सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । व्यापारमूलक, जीवन बिमा, जलविद्युत्, उत्पादनमूलक समूह उच्चदरमा वृद्धि भएको छ । 

यस दिन ६ कम्पनीको मूल्य ९ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ । यसरी मूल्य बढ्नेमा नारायणी डेभलपमेन्ट बैंक, रसुवागढी जलविद्युत्, बिशालबजार कम्पनी, ग्लोबल आइएमई लघुवित्त, माथिल्लो तामाकोसी जलविद्युत् र सान्जेन जलविद्युत् आयोजना रहेका छन् । बजारमा कारोबारमा आएका दुई सय ६ धितोपत्र तथा ऋणपत्रलगायतमा एक सय ८२ वटाको मूल्य बढेको छ भने १० वटाको मात्रै मूल्य घटेको छ ।

६ वर्षपछि गत महिना कारोबार खुलेको नारायणी डेभलपमेन्टको १ बराबर १ अनुपातमा हकप्रद जारी हुने खबरले बजारमा मूल्य बढेको हो । समस्याग्रस्त संस्थाबाट फुकुवा भएको यस संस्था गत आव अन्त्यमा ११ लाख रुपैयाँ नोक्सानमा थियो भने पहिलो त्रैमासमा ४७ लाख रुपैयाँ नोक्सानमा छ । २ करोड ७४ लाख निक्षेप संकलन र ३१ लाख रुपैयाँ कर्जा लगानी छ । कात्तिकमा हकप्रद जारीका लागि अनुमति माग्दै कम्पनी धितोपत्र बोर्ड पुगेको छ । 

रसुवागढीले पहिलोपटक ४९ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, विद्युत् बिक्रीका कारण यस्तो नाफा भएको होइन । कम्पनीले पहिलो त्रैमासिक विवरणमा उल्लेख गरेअनुसार आषाढ २०७८ सम्ममा विद्युत् उत्पादन हुन थाल्ने र लक्षित समयमा काम सम्पन्न भए वार्षिक ३ अर्ब रुपैयाँको आम्दानी हुने उल्लेख गरेको छ ।

हाल केही स्थानमा पहिरोले क्षति पुर्याएकाले मर्मतलगायतका कामसमेत चलिरहेको छ । बिशालबजारमा भने केही महिनादेखि सरकारी स्वामित्वको जग्गा सेयरमा परिवर्तन हुने अपेक्षामा लगानीकर्ताहरू ओइरिएका छन् । 

सेयर जारी गरिसकेको स्पर्श लघुवित्तलाई प्राप्ति गर्न लागेको ग्लोबल आइएमई लघुवित्तको सेयरमा लगानीकर्ता आकर्षित भएका छन् । कम्पनीको काराबोरको फ्लोर सिट हेर्दा भने अन्तिम समयमा १० कित्ताका दरले सेयर किनबेच भएर मूल्य थप बढेको छ । अन्तिम समयतिर यसरी ३० रुपैयाँसम्म मूल्य बढेको छ । कम्पनीको मूल्य भने कुल १ सय ३६ रुपैयाँले वृद्धि भएर १ हजार पाँच सय १४ पुगेको छ । 

त्यस्तै, आइतबारको सञ्चालक समितिले १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको प्रभु बैंकको मूल्य करिब १ प्रतिशतले वृद्धि भयो । १० प्रतिशत बोनस सेयरको घोषणा गरेको बैंकको मूल्य ३ रुपैयाँले बढेर ३ सय ४५ रुपैयाँ पुगेको हो । 

सोमबार मितेरी डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि नगद लाभांशको घोषणा गरेको छ । मितेरीको ५ रुपैयाँले सेयर मूल्य बढेर ४ सय ७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आइसिएफसी फाइनान्सले पनि १० दशमलव ४० प्रतिशत बोनस र ४ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ११ रुपैयाँले मूल्य बढेर २ सय ९५ रुपैयाँ पुगेको हो । 

See More On

सुझावित समाचार