मजदुर आन्दोलित भएपछि निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम अवरुद्ध

सोमबार, २२ मंसिर, २०७७
डिजिटल संस्करण

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ज्याला बढाउन माग गर्दै मजदुरहरू आन्दोलित भएका छन् ।

सोमबार बिहानैदेखि निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइट मकालु गाउँपालिका˜– ५ फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको छ । 

उक्त अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका ड्यामसाइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले जिम्मा लिएर गरिरहेको छ । 

लामो समयदेखि मजदुरहरूको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरहरूलाई काम नदिएकोलगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असुन्तष्टि जनाउँदै कामदारहरूले काम अवरुद्ध पारेका हुन् । 

यसअघि पनि मजदुरहरूले ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो । तर, नौ महिना बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरहरूलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेका भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुरहरूको भनाइ छ । 

संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले अरुण तेस्रोको ड्यामसाइटमा कार्यरत मजदुरहरूले ज्याला बढाउनुपर्ने माग गरेको भन्ने खबर आएको बताए । उनले दुवै पक्षबीच छलफल भइरहेको र कामचाहिँ अवरुद्ध नभएको बताए ।

बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । गएको कात्तिक २६ गते प्रधानमन्त्री केपी ओलीले समेत स्थलगत अनुगमन गर्दै अरुण तेस्रोबाट सन्तुष्ट रहेको बताएका थिए ।

मकालु–५ फ्याक्सिन्दा दोभानदेखि ११ किलाेमिटर सुरुङ खनेर चिचिला गाउँपालिका– २ को पुखुवामा पावरहाउस रहनेछ । पावरहाउस भारतीय पटेल इन्जिनिरिङ कम्पनीले काम गरिरहेको छ । 

अरुण तेस्रो परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण गर्न लागिएको हो ।

सुझावित समाचार