भूकम्पले ध्वस्त दोलखा बजार ठडियो

ऐतिहासिक सम्पदा बस्तीका एक सय ५४ घरको पुनर्निर्माण सकियो

सोमबार, २२ मंसिर, २०७७
डिजिटल संस्करण

प्राचीन नगर दोलखा बजारमा निर्माण भइरहेको ऐतिहासिक सम्पदा बस्तीमा एक सय ५४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । विशेष महत्वको प्रसिद्ध भीमेश्वर मन्दिरआसपासको क्षेत्रमा निर्माण भइरहेको सम्पदा बस्तीमा एक सय ५४ भूकम्पपीडित परिवारले आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । 

अधिकांश नेवारी समुदायको बसोवास रहेको दोलखा बजारमा धेरैजसो भूकम्पपीडितको बहुस्वामित्वको घर भएको र प्रशस्तै मन्दिर भएकाले उक्त बस्तीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा बस्तीका रूपमा विकास गर्न लागेको हो । पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन कार्यालय दोलखाका प्रमुख इन्जिनियर अर्जुन तामाङले पछिल्लो समय सम्पदा बस्ती निर्माणको कामले गति लिएको बताए । 

कार्यालय प्रमुख तामाङले प्राधिकरणको पछिल्लो समयसीमा आएसँगै त्यस क्षेत्रका लाभग्राहीले बस्ती निर्माणलाई विशेष महत्वका साथ अघि बढाएको जनाएका छन् । उनका अनुसार सम्पदा बस्तीमा पाँच सय ८५ लाभग्राहीमध्ये पाँच सय ११ जनाले पहिलो किस्ताबापतको ५० हजार, दुई सय ७२ जनाले दोस्रो किस्ताबापतको एक लाख ५० हजार अनुदान लगिसकेका छन् ।

एक सय ५४ जनाले घर निर्माण सम्पन्न गरी तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउन भवन कार्यालयले अनुदान कार्यालयलाई सिफारिस गरिसकेको प्रमुख इन्जिनियर तामाङले जानकारी दिएका छन् । दोस्रो किस्ता लिएर धमाधम घर निर्माण गरिरहेका लाभग्राहीको संख्या एक सय ४६ पुगेको पुनर्निर्माण प्राधिकरणको जिल्लास्थित कार्यालयले जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि, २०७६ जारी गरिसकेको छ ।

कार्यविधिमा घरहरू प्रायः प्राचीन र कलात्मक शैलीका हुनुपर्ने, भार वहन गर्न सक्ने पर्खाल, कम्तीमा दुई आना दुई पैसाबराबरको जग्गामा घर बनाइनुपर्ने, घरको अघिल्तिरको भाग चम्किलो इँटाको पर्खाल हुनुपर्ने, टुँडाल–ट्वाकल राखिनुपर्ने उल्लेख छ । त्यस्तै बनेका घर राणाकालीन घरमा प्रयोग भएजस्तो चुन प्लास्टर, स्टिल वा कंक्रिटको फ्रेम संरचनाजस्ता थुप्रै सर्त उल्लेख छ । उल्लेखित मापदण्ड पूरा नगरे प्राधिकरण र नगरपालिकाले थप अनुदान नदिने जनाइएको छ । 

कार्यविधि झन्झटिलो भएको गुनासो 

सम्पदा बस्ती निर्माण हुने क्षेत्रका स्थानीयले भने प्राधिकरणको कार्यविधि असाध्यै झन्झटिलो भएको बताएका छन् । उनीहरूले सकेसम्म आफ्नो घर सम्पदामैत्री बनाउन खोजे पनि निर्माण सामग्री र दक्ष जनशक्ति अभावका कारण तोकिएका सर्त पूरा गर्न कठिन भएको जनाएका छन् । 

कलात्मक शैलीका घरमा थप अनुदान 
दोलखा बजार यसअघि पनि सांस्कृतिक सहरका रूपमा परिचित छ । यहाँको आफ्नै मौलिकताले धर्म–संस्कृतिसँग खास महत्व राख्ने भएकाले यस क्षेत्रलाई पुरातात्विक महत्व झल्किने गरी विकास गर्न खोजिएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसी बताउँछन् ।

यसअघिको पुरानो संरचना भूकम्पले भत्काएपछि पुरानै महत्व झल्किने गरी भूकम्प प्रतिरोधी मापदण्ड अपनाएर कलात्मक शैलीमा घर निर्माण गर्ने स्थानीयलाई भीमेश्वर नगरले थप अनुदान दिने तयारी गरेको मेयर केसीको प्रतिक्रिया छ । 

सम्पदा बस्तीमा निर्माण हुने घर कलात्मक शैलीका र पुनर्निर्माण प्राधिकरणले निर्धारण गरेअनुसारका सम्पदा बस्तीको कार्यविधिअनुरूप भए प्राधिकरणले थप ५० हजार र भीमेश्वर नगरले ३० हजार गरी लाभग्राहीलाई थप ८० हजार अनुदान वितरण गर्ने तयारी छ ।
 

सुझावित समाचार