अस्ट्रेलियाको चर्चित टी–२० फ्रेन्चाइज लिग बिग वास अर्को सातादेखि सुरु हुँदै छ । आयोजक क्रिकेट अफ अस्ट्रेलियन (सिए)ले प्रतियोतिगाको तयारी पूरा गरिसकेको छ । खेलाडीहरूको आगमन सुरु हुँदै छ । यसैबीच बिग वासमा खेलाडीहरूको स्वास्थ्य र कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित राख्न नयाँ प्रोटोकल सार्वजनिक गरेको छ । बिग वास चलिरहँदा खेलाडी बस्ने होटेलमा पूर्ण रूपले बार प्रतिबन्ध लगाएको छ ।
होटेलको बारमा खेलाडीदेखि अन्य पाहुनाको भिडभाड हुने सम्भावना भएकाले नै मिनी बार बन्द गर्ने निर्णय गरेको सिएले जनाएको छ । सिएले यसको जानकारी सहभागी टोलीहरूको व्यवस्थापकलाई दिएको छ । १० डिसेम्बरदेखि बिग वास सुरु हुनेछ । ‘खेलाडी तथा स्टाफहरूलाई निश्चित क्षेत्रसम्म जान अनुमति छ, यसबाहेक उनीहरू बारमा मनोरञ्जन गर्न सक्दैनन्,’ सिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि मिनी बार खुला राखेको खण्डमा त्यहाँ खेलाडीमा कोभिड–१९ संक्रमित हुने सम्भावना देखिन्छ, यसबाट होटेल पनि सुरक्षित रहने अवस्था छैन ।’
खेलाडी र स्टाफ सबै होटेलमै बस्नेछन् । होटेलमा बस्दा उनीहरूले थप नियम पालना गर्नुपर्ने देखिएको छ । सिएका अनुसार हाउसकिपिङ होटेल रुम सफा गर्न आउने समयमा खेलाडी बाहिर नै बस्नु पर्नेछ । ‘बिहानको समयमा हाउसकिपिङले रुम सफा गर्न आउने छन्, त्यसवेला खेलाडी र स्टाफ सुरक्षित रहन बाहिर बस्नु पर्नेछ,’ सिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बिग वासको आयोजक सिएले खेलाडीलाई बायो डबल प्रणाली अनुसरण गर्न भनिएको छ । यो एक किसिमको आइसोलेसन हो । कोभिड–१९ बाट इन्फेक्सन नहोस् भनी खेलाडी आफू नै सुरक्षित रहने हो । यसमा खेलाडी, प्रशिक्षक, टिम म्यानेजर तथा अन्य स्टाफले होटेलमा बस्दा अन्य अपरिचित व्यक्तिसँग कुराकानी नगर्ने, तोकिएको समयमा मात्र प्रशिक्षण तथा बाहिर निस्कनुपर्ने हुन्छ । साथै म्याच अफिसियलले दिएको क्षेत्रसम्म मात्र खेलाडी हिँडडुल गर्न सक्छन् ।
भारतीय क्रिकेट बोर्ड (बिसिसीआई)ले दुबईमा सम्पन्न १३औँ इन्डियन प्रिमियर लिगका वेला पनि बायो डबल सुरक्षा नीति अपनाएको थियो । बिग वासले आइपिएलकै नियम पछ्याउँदै बायो डबल नियम लागू गर्ने जनाएको छ । ‘बायो डबल सुरक्षा होटेल, प्रशिक्षण, खेल स्थल, यातायात तथा व्यक्तिमाथि लागू गरिएको छ,’ सिएले भन्यो, ‘हामीलाई विश्वास छ यो सबैले अनुसरण गर्नेछन् ।’ बिग वासमा आठ टोली सहभागी छन् । यसमा शीर्ष पाँच टोली प्ले अफका लागि छनोट हुनेछन् १४ खेलपछि प्ले अफका लागि पाँच टोली छानिने छन् ।