रानी–जमराबाहेक सबै गौरवका सिँचाइ आयोजनाको वित्तीय प्रगति ४३ प्रतिशतभन्दा न्यून

शनिबार, २० मंसिर, २०७७
डिजिटल संस्करण
रानी–जमराबाहेक सबै गौरवका सिँचाइ आयोजनाको वित्तीय प्रगति ४३ प्रतिशतभन्दा न्यून

रानी–जमरा सिँचाइ आयोजना

राष्ट्रिय गौरवका ५ वटा सिँचाइ आयोजनामध्ये पहिलो चौमासिकमा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको वित्तीय प्रगति राम्रो देखिएको छ । यस आयोजनालाई पहिलो चौमासिकमा छुट्याएको २७ करोड ९२ लाख रुपैयाँमध्ये २६ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । यो ९३ दशमलव ९३ प्रतिशत हो । भौतिक प्रगति भने ६१ प्रतिशत रहेको छ । 

रानी–जमराबाहेक अन्य आयोजनाको प्रगति भने ४३ प्रतिशतभन्दा न्यून रहेको छ । सिक्टा सिँचाइ आयोजनाको प्रगति ४२ प्रतिशत छ भने बबई सिँचाइको प्रगति ३८ प्रतिशत मात्र छ । सिक्टामा पहिलो चौमासिकका लागि २८ करोड १२ लाखमध्ये ११ करोड ९५ लाख र बबईमा २२ करोड ८४ लाखमध्ये ८ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति २८ प्रतिशत छ । यस आयोजनालाई ८२ करोड १४ लाखमध्ये २२ करोड ९४ लाख रुपैयाँ खर्च भएको हो । सबैभन्दा कम सुनकोसी–मरिन डाइभर्सन आयोजनाको प्रगति ४ प्रतिशत मात्र छ । चौमासिकका लागि छुट्याएको १८ करोड ७२ लाखमध्ये ७९ लाख मात्र खर्च भएको छ ।  

ऊर्जा मन्त्रालयको चौमासिक प्रगति ६८%
चालू आर्थिक वर्षको पहिलो चार महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समष्टिगत वित्तीय प्रगति ६८ दशमलव ७३ प्रतिशत र भौतिक प्रगति ७६ दशमलव ७४ भएको छ । आर्थिक वर्ष ०७७/७८ का लागि कुल बजेट ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो । जसमा १४ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च भएको चौमासिक प्रगति प्रतिवेदनले देखाएको छ । यो कुल चौमासिक बजेटको ६८ दशमलव ७३ प्रतिशत हो ।

मन्त्रालयमा चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगतिको समिक्षा बैठक

त्यस्तै, ऊर्जातर्फका ४० मध्ये ११ आयोजनाको प्रगति ८० देखि १ सय प्रतिशतसम्म देखिएको छ । यस्तै, १२ वटा आयोजनाको प्रगति ५० देखि ८० प्रतशितसम्म छ भने ५० प्रतिशत वा सोभन्दा कम प्रगति भएका आयोजनाको संख्या १७ छ । यस्तै, कुल ३३ आयोजना रहेका सिँचाइतर्फका १९ आयोजनाको प्रगति ८० देखि १ सय प्रतशित छ । ५० देखि ८० प्रतिशतसम्म प्रगति भएका आयोजनाको संख्या ७ छ । यस्तै, ७ वटा आयोजनाको प्रगति भने ५० प्रतिशतभन्दा कम छ । 

आगामी चौमासिकमा अहिलेको भन्दा राम्रो प्रगति आवश्यक : मन्त्री पुन
चौमासिक प्रगति समीक्षामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोभिड–१९ महामारीको समयमा भएको प्रगतिलाई सन्तोषजनक भनेका छन् । उनले प्रथम चौमासिकमा देखिएको कमजोरी आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन दिए । ‘कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तीय र झन्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुसीको कुरा हो,’ मन्त्री पुनले भने । आगामी दिनहरू सबै मिलेर योभन्दा राम्रो प्रगति देखिने गरी काम गर्नुपर्नेमा जोड दिए । 

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ मिल्ने गरी काम गर्न निर्देशन दिए । मुआब्जा वितरणअगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उनको भनाइ छ । मन्त्री पुनले विकास आयोजनाको काममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित जनताका कुरा अधिकतम सुन्ने र समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिए । तर, समस्याप्रति गम्भीर भएर समाधान दिँदादिँदै नियतवश अवरोध भए बल प्रयोग गरेरै भए पनि काम अगाडि बढाउनुपर्ने बताए । विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गर्दै मन्त्री पुनले भने, ‘कोसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने हो, म आफैँ गएर समाधान गर्छु ।’

सुझावित समाचार