म्याराथन धावक पार्कीलाई सम्मान

शुक्रबार, १९ मंसिर, २०७७
डिजिटल संस्करण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेता तथा सन् २०२१ मा जापानमा हुने ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्कीलाई धनगढीमा सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका–९, का बासिन्दा पार्कीलाई नेपाल एथलेटिक्स संघले धनगढी क्षेत्रीय रंगशालामा विशेष कार्यक्रम गरेर सम्मान गरेको हो । 

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पार्कीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मानपत्र प्रदान गरे । खेलाडीलाई सम्मान गर्दै मन्त्री सुवेदीले खेलकुदको विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए । 

नेपाल एथलेटिक्स संघका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र थापाले धावक पार्की सुदूरपश्चिमको मात्र नभइ देशकै गहना भएको बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवरले पार्कीलाई व्यक्तिगत तवरबाट १५ हजार रुपैयाँ सहयोग गरे । सम्मान कार्यक्रममा गोपीचन्दका आमाबुवाको पनि सहभागिता थियो ।

सुझावित समाचार