कोरोनाबाट फ्रान्सका पूर्वराष्ट्रपतिको निधन

शुक्रबार, १९ मंसिर, २०७७
डिजिटल संस्करण

फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी जिस्कार्ड डी स्टाइङको कोरोना भाइरसबाट निधन भएको छ । फ्रान्सलाई संगठित बनाउन र एकजुट पार्ने श्रेय ९४ वर्षीय वेलेरीलाई दिने गरिन्छ ।

सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका वेलेरीलाई केही दिनयता श्वासप्रश्वासमा समस्या देखिएको थियो । गत साता मात्र अस्पतालबाट स्वास्थ्यलाभ गरी उनी घर फर्किएका थिए । स्वास्थ्यमा खराबी आएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । बुधबार राति वेलेरीले अन्तिम सास लिएको अस्पतालले जनाएको छ ।

युरोपियन युनियन (इयू) को योजनाकारमध्ये उनी पनि एक पर्छन् । वेलेरी फाउन्डेसनले आफ्ना संस्थापक कोरोना संक्रमित भएको जनाएको छ । यसैबीच इयूले बिहीबार विज्ञप्तिमार्फत आफ्ना संस्थापक सदस्यको निधनप्रति शोक जनाएको छ ।

‘फ्रान्सलाई एउटा विकसित राष्ट्रका रूपमा अग्रसर गराउन प्रमुख भूमिका निर्वाह गर्नुभएका तथा सबै युरोपलाई एक बनाउने उद्देश्यका साथ स्थापित इयूकै प्रमुख योजनाकारको निधनबाट हामी स्तब्ध भएका छौँ,’ इयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इयूका प्रमुख मिचेल बार्निएरले फ्रान्सलाई आधुनिकीकरण गर्नमा वेलेरीको योगदान उच्च भएको बताएका छन् ।

क्रोएसियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले फ्रान्स तथा युरोपले एक महान् नेता गुमाएको बताएका छन् । साथै उनले युरोपलाई विश्वमै शक्तिशाली तथा समृद्धि बनाउने योजनाकारको निधनबाट धेरै क्षति पुगेको बताए । ‘एक महान् राष्ट्रपति तथा युरोप बनाउने नेताको निधनबाट हामी स्तब्ध छौँ,’ उनले भने । 

नक्कली भ्याक्सिनबाट सचेत रहन आग्रह
बेलायतले भ्याक्सिन प्रयोगमा ल्याउन अनुमति दिएसँगै बजारमा नक्कली भ्याक्सिन उपलब्ध हुन सक्ने सम्भावना त्यत्तिकै बढेको छ । इन्टरपोलले बुधबार सबैलाई सूचित गर्दै एक ग्लोबल अलर्ट नै जारी ग¥यो । इन्टरपोलले सबै राष्ट्रलाई भनेको छ, ‘कोभिडको समयमा केही संगठित र आपराधिक गतिविधि गर्ने समूहले नक्कली भ्याक्सिन उत्पादन गरिरहेका हुन सक्छन्, उनीहरूले बजारमा त्यस्ता भ्याक्सिन पठाउने सम्भावना छ, यसकारण हामी सबै नक्कली भ्याक्सिनबाट सुरक्षित रहनुपर्छ ।’

एजेन्सीहरूका अनुसार १९४ राष्ट्रमा इन्टरपोलले यस्तो सूचना जारी गरेको हो । ‘हाम्रो प्रयास नै नक्कली भ्याक्सिन बजारसम्म पुग्न नदिनु हो,’ इन्टरपोलको विज्ञप्तिमा भनिएको छ, ‘अहिले बनिरहेको भ्याक्सिन कम्पनीलाई पनि यसबारे जानकारी गराएको छ ।’ 
 

See More On

सुझावित समाचार