कोभिडको समाधान भ्याक्सिन मात्रै होइन

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

भाइरसको सम्पर्कमा आएका प्रत्येक व्यक्तिमा पोजेटिभ एन्टीबडी हुँदैन, तर तिनमा प्रतिरोधात्मक क्षमता हुन सक्छ

भारतमा यति वेला यही प्रश्न गरिँदै छ कि कोभिड–१९ को भ्याक्सिन सबैभन्दा पहिले कसले पाउनेछन् । कोरोना भाइरससम्बन्धी सूचनाको अभावमा यसो भनिँदै छ । के तपाईंले कहिल्यै सफा कोठामा घामको प्रकाश आउँदै गरेको देख्नुभएको छ ? यदि छ भने त्यहाँ तपाईंले अनेकौँ धुलोका कणहरू देख्नु हुनेछ, जुन पहिले तपाईंले देख्न सकिरहनुभएको थिएन । कोभिडसम्बन्धी हाम्रो धेरैजसो अनुभव यस्तै हो । हामीले जे देख्नुपर्ने थियो, त्यो देखिरहेका छैनौँ बरु हामीले त्यसविपरीत सेरोलजिकल परीक्षणको तथ्यांक मात्रै देखिरहेका छौँ । 

पश्चिमा विशेषज्ञको प्रारम्भिक अनुमान के थियो भने भारतमा यो भाइरसले हजारौँ मानिस मारिनेछन् र अस्पतालले बिरामीको चाप थेग्न सक्नेछैनन् । साथै दर्जनौँको संख्यामा डाक्टर पनि मारिनेछन् । वास्तवमा के आशंका जाहेर गरिएको थियो भने वायु प्रदूषण र कोभिड–१९ का कारण अगस्ट आउँदा नआउँदै प्रत्येक दिन संक्रमणका झन्डै दुई लाख नयाँ बिरामी देखा पर्नेछन् । तर, अहिले त्यस्तो केही पनि भएन । हो, केही अस्पतालमा कोभिडका बिरामी देख्न सकिन्छ र त्यहाँका डाक्टरले कोभिड नलागेका बिरामीको उपचार गर्न सकिरहेका छैनन् । 

यस्ता अस्पतालमा डाक्टरहरूको १४ दिने सिफ्ट चल्ने गर्छ कि एक महिने बिदा दिने गरिएको छ । त्यसैले उनीहरूमा भाइरसको संक्रमण हुनु दुर्लभ मानिन्छ । तर, नयाँदिल्लीको राममनोहर लोहिया जस्ता अस्पताल र खास गरेर सरकारी अस्पताल, जहाँ हामीले दैनन्दिन गैरकोभिडका बिरामी हेरिरहेका छौँ, त्यहाँ दर्जनौँको संख्यामा डाक्टरहरूको मृत्यु भएको छैन । यदि हामीमा रोग प्रतिरोधक क्षमता हुँदैनथ्यो भने के यो सम्भव थियो त ?

सजिलो शब्दमा भन्ने हो भने कोभिडको संक्रमण देखिनुभन्दा पहिले नै रुघाखोकी र श्वासतन्त्रमा अन्य समस्या पैदा गर्ने भाइरसले क्रस–इम्युनिटी अथवा अन्य भाइरसका खिलाफ प्रभावशाली प्रतिरक्षा प्रणाली विकसित गर्न सक्छन् ।
 

हाम्रा अस्पतालमा एउटा असामान्य घटना भएका छन्, जहाँ रेजिडेन्ट डाक्टर, जसले एउटै टेबलमा बसेर चार–पाँच अन्य डाक्टरका साथ खाना खाएका थिए, उनलाई कोभिड पोजेटिभ देखियो, तर अन्यलाई देखिएन । पोजेटिभ देखिएका व्यक्ति र अन्यका बीचमा ६ मिटरको दूरी कायम नगर्दा, मास्कको प्रयोग नगर्दा र १५ मिनेटभन्दा धेरै समय त्यस्ता व्यक्तिसँग बिताउँदा अरूलाई पनि संक्रमणको जोखिम हुने गर्छ । यसैगरी घरका केही सदस्यलाई छोडी परिवारका अधिकांश सदस्यलाई कोभिड पोजेटिभ देखिएको छ । यसैगरी एउटै परिवारमा कोभिडका कारण मृत्यु वरण गरेका परिवारका सदस्यमा पनि कोभिड नेगेटिभ देखिएको छ । यो व्याख्याको निकै ठूलो महत्व छ । किनभने देशका सबै त कोरोनाका कारण नराम्रो गरी संक्रमित भइसकेका छैनन् । अब प्रश्न उठ्छ, यस्तो कसरी भयो ?

वास्तवमा हामी शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कम महत्व दिन्छौँ र तथाकथित सेरोलोजिकल टेस्टका माध्यमबाट यसको एउटा सानो हिस्सामा भएको एन्टीबडीको आकलन गर्छौँ, जुन आफैँमा कमजोर धरातलमा हुन्छ । अब हामीलाई के थाहा भइसकेको छ भने यसको परिणाम र प्रतिक्रियामा एकरूपता हुँदैन । जुन बहुप्रचारित प्लाज्मा परीक्षणको असफलताले स्पष्ट गरेको छ । वास्तवमा कोरोना भाइरसको सम्पर्कमा आएका प्रत्येक व्यक्तिमा पोजेटिभ एन्टीबडी हुँदैन । त्यति हुँदाहुँदै पनि तिनमा यसका खिलाफ प्रतिरोधात्मक क्षमता हुन सक्छ । के कुरा स्पष्ट छ भने दिल्ली जस्तो कोभिड प्रसारको अनुकूल भूगोलमा पनि सबैलाई संक्रमण भइरहेको छैन । नोवेल कोरोना भाइरस वा सार्स–कोव–२, भाइरस त्यसै वर्गका हुन्, जसले सामान्य रुघाखोकी निम्त्याउँछन् । हामीहरू बर्षौँदेखि रुघाकोखी व्यहोर्दै आइरहेका छौँ । वास्तवमा भारतमा डाक्टरको निर्देशनविनै सर्वाधिक बिक्ने औषधि यसैको हुने गर्छ । 

रुघाखोकीको प्रत्येक संक्रमणले शरीरमा आफ्नो एउटा छाप छोडिरहेको हुन्छ । जसरी हामीलाई छिमेकीसँगको प्रत्येक झगडा सम्झना भइरहेको हुन्छ । त्यसैले भाइरसले मेमोरी टी–सेल इम्युनिटी पैदा गर्छ भन्नु तर्कसंगत देखिन्छ । के मानिन्छ भने कोभिडको सम्पर्कमा नआएका २० देखि ५० प्रतिशत व्यक्तिमा पहिलेदेखि नै यस प्रकारको क्रस–रिएक्टिभ मेमोरी हुन्छ । साइन्स पत्रिकाको अक्टुबरको अंकमा जोस मैट्सको महत्वपूर्ण शोधमा भनिएको छ– राम्रो स्वास्थ्य भएका बिरामीमा यस्तो प्रतिरक्षा कोषिकाहरू पाइन्छन्, जुन सार्स–कोव–२ र सामान्य रुघाखोकीको भाइरसका खिलाफ प्रभावकारी छन् । यसैगरी नेचर पत्रिकाको अगस्टको अंकमा प्रकाशित नीना लाबर्टको एउटा शोधअनुसार पनि सार्स र कोभिडको सम्पर्कमा नआएका मानिसमा पनि सार्स–कोव–२का खिलाफ प्रतिरोधी टी–सेल पाइएका छन् । सजिलो शब्दमा भन्ने हो भने कोभिडको संक्रमण देखिनुभन्दा पहिले नै रुघाखोकी र श्वास तन्त्रमा अन्य समस्या पैदा गर्ने भाइरसले क्रस–इम्युनिटी अथवा अन्य भाइरसका खिलाफ प्रभावशाली प्रतिरक्षा प्रणाली विकसित गर्न सक्छन् । 

अन्ततः शरीरको प्रतिरक्षा क्षमताले हामीलाई जोगाउन मुख्य भूमिका खेल्ने गर्छ । र, के कुराको पूरै सम्भावना छ भने अदृश्य प्रतिरक्षा क्षमताले भन्दा सम्भवतः नैसर्गिक प्रतिरक्षा क्षमताले नै प्रभावकारी काम गर्छ । भारतमा यस्तै देखिँदै छ । 

(लेखक नयाँदिल्लीस्थित राममनोहर लोहिया अस्पतालमा त्वाचा विज्ञानका प्रोफेसर हुन्)
द प्रिन्टबाट 

सुझावित समाचार