इरानी वैज्ञानिक हत्याको भू–राजनीति

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

इजरायलले सन् २०१० देखि २०१२ का बीचमा आधा दर्जन इरानी आणविक वैज्ञानिकको हत्या गर्दा केहीले ती हत्याले आणविक कार्यक्रमलाई सुस्त बनाउन सघाउने तर्क गरेका थिए । बहुपक्षीय कूटनीतिले उल्लेख्य प्रगति गर्न नसकेको अवस्थामा ती धारणा आएको हुन सक्छ ।

तर, शुक्रबार मारिएका इरानका वरिष्ठ आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्यालाई अलग सन्दर्भमा हेरिनुपर्छ । इरानले अहिले पुनः युरेनियम प्रशोधन सुरु गरेको भए पनि हालकै परिमाणको युरेनियमले हतियार निर्माण गर्न सकिँदैन ।

ट्रम्प प्रशासनले एकल रूपमा इरानसँग गरेको आणविक सम्झौताबाट हात झिकेपछि इरानले पछिल्लो कदम उठाएको हो । इरानसँग भएको आणविक सम्झौताले सन् २०३१ जनवरीसम्म इरानलाई आणविक हतियार बनाउन रोक्थ्यो, तर ट्रम्प अचानक एकतर्फी रूपमा सो सम्झौताबाट बाहिरिए । 

बाइडेन विगतको सहमतिमा फर्के आफूहरू सम्झौताका बुँदा मान्न प्रतिबद्ध रहेको इरानले बताएको छ । तर, त्यसका लागि राष्ट्रपति ट्रम्पले थोपरेका प्रतिबन्ध हटाउनुपर्ने उसको सर्त छ । यस्तोमा प्रश्न उठ्छ, अहिले नै फख्रिजादेहलाई किन मारियो ? इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन लिएर आगामी अमेरिकी प्रशासनको कूटनीतिक प्रयासमा अवरोध पुर्याउन सुरु गरेकोजस्तो देखिन्छ ।

इजरायललाई बाइडेनको कार्यकाल सुरु भएपछि अमेरिका पुरानो आणविक सम्झौतामा फर्केला भन्ने डर छ । आणविक सम्झौता सुचारु भएमा इरानमाथि लगाइएका कठोर प्रतिबन्ध हट्नेछ । त्यसो भएमा इरानको संघर्षरत अर्थतन्त्रले पुनर्जीवन पाउने र मध्यपूर्वमा उसको प्रभाव कम हुने इजरायललाई डर छ । फख्रिजादेहको हत्याले यो प्रयासलाई कठिन बनाउनेछ ।

इजरायली सरकारले हालसम्म हत्याको जिम्मेवारी लिएको छैन, तर विभिन्न रिपोर्ट तथा हत्याको प्रकृति हेर्दा दोष इजरायलको जासुसी संस्था मोसादका एजेन्टतर्फ तेर्सिन्छ । जहाँसम्म ट्रम्प प्रशासनको कुरा छ, उसलाई हत्याको योजनाबारे पहिले थाहा दिइएको हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, विदेशमन्त्री माइक पोम्पेओ हालसालै इजरायलमा थिए र ट्रम्प प्रशासनका कुनै सदस्यले पनि हत्याको विरोध गरेका छैनन् । 

फख्रिजादेहको हत्याले इरानको आणविक क्षमतामा असर गर्नेछैन । किनकि, इरानले आणविक दक्षता हासिल गर्ने सन्दर्भमा उलेख्य प्रगति हासिल गरिसकेको छ । अमेरिकी गुप्तचरका अनुसार इरानले १७ वर्षअघि नै आणविक हतियार बनाउने कार्यक्रम सञ्चालन गरेको थियो ।

तर, सिआइएले पहिचान गरेपछि त्यसवेला यो कार्यक्रम रोकिएको थियो । पछिल्लो हत्यापछि नै इरानले हतियार बनाउन सुरु नगर्ला, तर यसले अमेरिका र इरानबीचको शत्रुता बढाउनेछ । जुन कूटनीतिक प्रयासका लागि प्रत्युत्पादक हुनेछ र इरानभित्रका कट्टरपन्थीहरू थप सबल हुनेछन् । आगामी जुनमा इरानमा राष्ट्रपतीय चुनाव हुँदै छ, त्यसमा पनि कट्टरपन्थीहरूको प्रभाव बढ्नेछ । 

मोहसेन फख्रिजादेहको हत्यासँग आणविक बम निर्माण रोक्ने उद्देश्यको कुनै लिनुदिनु छैन, खासमा यसको एउटै लक्ष्य भावी कूटनीतिमा अवरोध पुर्याउने रहेको देखिन्छ 

फख्रिजादेह हत्याको इरानी नेताहरूले कडा शब्दमा आलोचना गरेका छन् । राष्ट्रपति हसन रुहानीले उचित समयमा इरानले जवाफ दिने बताए । हत्याका लागि इजरायललाई दोष लगाउँदै रुहानीले भने, ‘यो जघन्य हत्यालाई हेर्दा पछिल्ला साता हाम्रा शत्रुहरू अत्यन्त भयभीत भएको देखिएको छ ।

सम्भवतः एउटा युगको अन्त्य हुँदै छ र विश्वव्यापी व्यवस्थामा परिवर्तन आउँदै छ भन्ने कुराले तिनको मनमा दबाब बढाएको हुनुपर्छ ।’ इजरायलसँग बदला लिने रुहानीको भनाइलाई हेर्दा आगामी दिनमा हमास अथवा प्यालेस्टाइनी इस्लामिक जिहादप्रतिको इरानको समर्थन बढ्ने देखिन्छ । परिणामस्वरूप इजरायली पर्यटक र विद्यार्थीमाथिको आक्रमणको जोखिम बढ्नेछ । इजरायलसँगको घनिष्टताका कारण अमेरिकीहरू पनि निसानामा पर्न सक्छन् ।

तनाव बढिरहँदा अमेरिकी राष्ट्रपति निर्वाचन जितेर सत्ता सम्हाल्ने पर्खाइमा बसेका बाइडेनले इरानसँगको सम्बन्धमा गम्भीर चुनौती सामना गर्नुपर्ने हुन्छ । बाइडेनले इरानसँगको वार्ता सूचारु गर्ने वाचा गर्दै आएका छन् । तर, बाइडेन र उनको टिमसँग अहिले मिडियामार्फत इरानलाई शान्त रहन आग्रह गर्न सक्नेबाहेक विकल्प छैन । उता, इरानसँगको आणविक सम्झौतामा कायम रहेको र इरानसँग कूटनीतिक सम्बन्ध नटुटाएका युरोपेली मुलुकहरूले बाइडेनको उद्घाटनसम्म क्षति न्यूनीकरणको प्रयास गर्न सक्छन् ।

ब्रिटेन, फ्रान्स र जर्मनीले इरानसँगको आणविक सम्झौता कार्यान्वयन भए÷नभएको निगरानी गर्ने आयोग गठन गर्ने प्रयास गर्नुपर्नेछ । तिनले अन्तर्राष्ट्रिय कानुनमा गैरकानुनी मानिएको र आणविक अप्रसार नीतिमा क्षति गर्न सक्ने हत्याको आलोचना गर्नुपर्छ । युरोपेली संघको वैदेशिक तथा सुरक्षा नीति हेर्ने उच्चायुक्तका एक प्रवक्ताले हत्यालाई ‘आपराधिक कार्य’को रूपमा व्याख्या गरिसकेका छन् । 

विभिन्न कारणले इरानको आणविक कार्यक्रम सुस्त गतिमा अघि बढिरहेको छ । इरान र अमेरिका सम्बन्ध अत्यन्त सुमधुर भएको वेला सन् १९५० को दशकबाट अमेरिकी सहयोगमा इरानको आणविक कार्यक्रम सुरु भएको थियो । त्यसको एक दशकपछि जोनसन प्रशासनले इरानलाई पहिलो आणविक अनुसन्धान रियाक्टर उपहार दियो ।

इरानको आणविक कार्यक्रम सुरु भएको ६० वर्षमा इजरायल, भारत, पाकिस्तान र उत्तर कोरियाले आणविक बम बनाइसक्दा इरानले अझै बनाएको छैन । देशमा अझै पनि एउटा मात्र आणविक ऊर्जा संयन्त्र छ । इजरायलको उग्रताले इरानलाई हतियार निर्माणका लागि उकास्यो भने दुःखद अवस्था आउनेछ । यसले मध्यपूर्व क्षेत्रभर आणविक हतियारको दौड सुरु गराउनेछ, जुन अस्थिर मध्यपूर्वलाई घातक ठहरिनेछ । विगतको अनुभव हेर्ने हो भने मध्यपूर्व अशान्तिले विश्वलाई नै प्रभावित बनाउनेछ । 

बारबरा स्लाभिन ‘फ्युचर अफ इरान इनिसिएटिभ एट द एट्लान्टिक काउन्सिल’की निर्देशक हुन् ।

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार