लमजुङमा पकेट क्षेत्रमा मासियो सुन्तला

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

लमजुङमा लटरम्मै हुने गरी फल दिने सुन्तलाको पकेट क्षेत्रमै सुन्तलाले फल दिन छाडेपछि किसान चिन्तित भएका छन् । सुन्तलाघारीले हराभरा जिल्लाको बेँसीसहर नगरपालिका, ११ स्याउतगाउँ अहिले उराठलाग्दो छ ।

कुनै समय सुन्तला बिक्रीबाट मात्रै वार्षिक ३ लाख आम्दानी गरेका बेँसीसहर–११, साबिक चिती–२, स्याउतका रजमूर्ति पन्तको बगैँचामा आफूलाई खान पुग्ने सुन्तलासमेत फल्न छाडेको धेरै वर्ष भयो । धान, कोदो, मकैजस्ता बाली फल्ने झन्डै ७ रोपनी खेत मासेर सुन्तला खेती गर्दै आएका उनको बगैँचामा सुन्तलाका बोटहरू मरेर सखाप भएका छन् ।

उनी मात्र होइन, स्याउतकै सुरेशबाबु पाण्डेले भने, ‘घरनजिकैको सुन्तला बगान हेर्दा विरक्त लाग्छ ।’ ६ वर्षअगाडि सुन्तलाबाट वार्षिक ६ लाखसम्म कमाउने पाण्डेलाई अहिले त्यो कहानीजस्तो लाग्न थालेको छ । उनको सुन्तलाबारी अहिले बाँझो बारीका रूपमा परिणत भएको छ । 

उनी मात्रै होइन, पूरै गाउँलेको व्यथा एउटै छ । १० वर्षपहिला खुसी र नगद कमाउने बगैँचा अहिले ऋण बोकाएर गएको छ । त्यस्तै व्यथा अर्का किसान एवं शिक्षक गणेशबाबु पन्तको पनि छ । २०–२५ वटा बोटले ४०–४५ हजार आम्दानी दिएपछि जोसिएर ०५६ सालमा करिब १२ रोपनी जग्गामा ३ सय बोट सुन्तला, २० बोट मौसम, १० बोट कागती रोपेर हराभरा बनाएर लाखौँ आम्दानी गर्ने सपना देखेका उनले उल्टै ६ लाख ऋण बोके ।

सुन्तला रोपेका किसान पन्तको जग्गा अहिले धानखेतमा परिणत भएको छ । एकखेपको पनि आम्दानी लिन नपाई सुन्तलाको बोट मरेको उनको भनाइ छ । उनले भने, ‘आफूले कमाएको त सकियो नै, उल्टो सुन्तला खेतीले ऋण बोकायो ।’ 

कृषि ज्ञानकेन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार पतेरो, कत्लेकिरालगायतका किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने, तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटमा कृषकले ध्यान नदिँदा सुन्तलाको बगैँचा मासिने क्रम बढेको हो । उनले भने, ‘जिल्लाको पकेट क्षेत्रमा नै सुन्तला फल्न छाडे र रोगकै कारण सुन्तलाका बोट पनि सुक्दै गए ।’


साबिकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको साबिक चितीको स्याउत, तार्कुको गहते, भोर्लेटारको लामासोती, करापुटारको बेतिनी, उदिपुरको धिमिरे, गाउँसहर, भोटेओडारलगायतका क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैँचा मासिँदै गएको गाउँसहरका अगुवा कृषक जीवनजङ थापाले बताए ।

६ हजार मेट्रिकटनसम्म सुन्तला उत्पादन हुने गरेको जिल्लामा यस वर्ष करिब १ हजार मेट्रिकटन मात्र सुन्तला उत्पादन हुने रेग्मीको भनाइ छ । केही वर्षअगाडि जिल्लामा १ हजार २ सय हेक्टरजति क्षेत्रफलमा सुन्तला खेती हुने गरे पनि गत वर्ष ३ सय २ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । यस वर्ष झन् घटेर २ सय २५ हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती हुने गरेको कृषि ज्ञानकेन्द्र लमजुङले जनाएको छ ।

सुझावित समाचार