बैंक तथा वित्तीय संस्थाले आठ महिनामा निक्षेपको ब्याजदर करिब डेढ प्रतिशतले घटाएका छन् । कोरोनाको प्रभाव र लकडाउन सुरु हुनुअघि (फागुन)सम्म निक्षेपमा औसत ६ दशमलव ७७ प्रतिशत ब्याज दिइरहेका बैंक तथा वित्तीय संस्थाले असोज अन्त्यसम्ममा १ दशमलव ३२ प्रतिशतले घटाएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले साधारण बचतमा १ दशमलव ४६ प्रतिशतसम्म र मुद्दती बचतमा १ दशमलव २८ प्रतिशतसम्म ब्याजदर घटाएका हुन् । साधारण बचतमा बैंकहरूले ४ दशमलव ७८ प्रतिशतसम्म दिइरहेकामा ३ दशमलव ३२ प्रतिशतमा सीमित गरेका हुन् । मुद्दती खातामा भने ९ दशमलव ७४ प्रतिशतसम्म प्रस्ताव गरिरहेकामा ८ दशमलव ४६ प्रतिशतसम्म दिन थालेका हुन् ।
बैंक तथा वित्तीय संस्थाले बचत खातामा ब्याजदर कम गर्दा चिन्ता व्यक्त गर्न लागेको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । ‘सर्वसाधारणले बचत खातामा बैंकहरूले कम ब्याजदर दिएकोमा चिन्ता व्यक्त गरिरहेका छन्,’ उनले भने, ‘ब्याजदर यति नै बनाउन राष्ट्र बैंकले भन्न मिल्दैन, तर कर्जा र निक्षेपको ब्याजअन्तर घटाउन भन्न सक्छौँ ।’
०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीसँगै बैंकहरूले निक्षेपमा औसत ३ दशमलव २७ प्रतिशतसम्म ब्याजदर दिन थालेका थिए । तर, केही समयपछि बैंकहरूमा चरम पुँजी अभावको समस्या देखियो भने बचतको ब्याजदर करिब ७ प्रतिशत हाराहारी पुग्यो । ‘बचतकर्ता आकर्षित हुन सकेनन् र विश्वास गुम्यो भने फर्किन गाह्रो हुन्छ,’ भट्टले भने, ‘त्यसैले बैंकहरूले विश्वास बचाइराख्नुपर्छ ।’
वाणिज्य बैंकहरूले मंसिरयता भने मुद्दती निक्षेपको ब्याजदरमा केही वृद्धि गरेका छन् । कात्तिकमा बैंकहरूले मुद्दती निक्षेपमा औसत ८ दशमलव १५ प्रतिशत ब्याजदर प्रस्ताव गरेकामा मंसिरमा ८ दशमलव २४ सम्म गरेका हुन् । एकाध बैंकले यस्तो निक्षेपमा ९ देखि ९ दशमलव ७५ सम्म ब्याजदर प्रस्ताव गरेका छन् ।
‘केही बैंकहरूले अहिले पनि व्यक्तिगत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन्,’ बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले भने, ‘तत्कालका लागि मात्र बैंकहरूले निर्णय गरेको देखिँदैन ।’
यद्यपि, बैंकहरूको निक्षेपको ब्याजदर घटेको लाभ सेयर बजारले पाइरहेको छ । उच्च रकमको कारोबार हुँदा सेयर बजारमा दैनिक २ अर्बको कारोबार हुने गरेकोमा केही दिनयता बजारमा ६ देखि ९ अर्ब रुपैयाँसम्मको कारोबार भइरहेको छ ।
बैंकहरूले कर्जाको ब्याजदरसमेत यो अवधिमा करिब २ प्रतिशतले घटाएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत फागुनमा औसत ११ दशमलव ८ प्रतिशत ब्याजदर लिइरहेका बैंकहरूले असोजमा ९ दशमलव ४३ प्रतिशत लिइरहेका छन् । केही बैंकले भने निक्षेपको ब्याजदरको तुलनामा कर्जामा उच्च ब्याजदर लिइरहेका छन् ।
राष्ट्र बैंकले यस्तो ब्याजअन्तर (स्प्रेडदर) ०७७ असारसम्ममा ४ दशमलव ४ मा सीमित राख्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । यद्यपि, एक वर्षयता मर्जर गरेका संस्थालाई यो प्रावधानमा सहुलियत दिइएको छ । यही कारण जनता बैंक मर्जर गरेको ग्लोबल आइएमई बैंकको स्प्रेडदर ५ प्रतिशतसम्म थियो । तर, मर्जरसमेत नभएका बैंक अफ काठमाण्डू, हिमालयन बैंक र नेपाल बंगलादेश बैंकको स्प्रेडदर तोकिएको भन्दा धेरै छ । यी बैंकको स्प्रेडदर ४ दशमलव ७० देखि ४ दशमलव ८८ सम्म रहेको त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरेका छन् ।