साग खेलकुद आयोजना गर्न एक अर्ब ३१ करोड लागत

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भएको खर्च विवरण आज सार्वजनिक गरेको छ ।

प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो । 

आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको विवरणअनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ । 

यस्तै पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म दुई अर्ब ८६ करोड १४ लाख २८ हजार नाै सय ७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले बताए । 

यस्तै, पदक विजेता खेलाडी, प्रशिक्षकहरू र सहभागी राष्ट्रिय संघहरूलाई नेपाल सरकारको तर्फबाट २२ लाख ७६ करोडबराबरको पुरस्कार रकम ०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि उनले बताए । 

सदस्यसचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरिए पनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताए । 

गत वर्षबाट महामारीका रूपमा फैलिएको कोभिड– १९ र सागमा सहभागी राष्ट्रहरूबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागी राष्ट्रहरूको ओलम्पिक कमिटीबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उनले बताए । 

सदस्यसचिव सिलवालका अनुसार तीन करोड ५५ लाख ७१ हजार एक सय ३७ रुपैयाँ बैंक मौज्दात रहेको छ । एक करोड ९३ लाख ८० हजार दुई सय २४ रुपैयाँ भने फ्रिज भएको उनले बताए । 

नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न एक अर्ब २३ करोड १८ लाख ४८ हजार दिएको थियो । यस्तै, टिकट बिक्रीबाट दुई करोड ६७ लाख ११ हजार ६ सय ७५, विज्ञापनबाट २० लाख ९९ हजार एक सय ५० रुपैयाँ र सहभागी राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार पाँच सय ९८ रुपैयाँ प्राप्त भएको सिलवालले बताए । 

साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख ८८ हजार आठ सय चार रुपैयाँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ । 

यस्तै होटेल बसोवासमा १३ करोड ५९ लाख ६७ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ । 

खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख ८३ हजार आठ सय ८१ रुपैयाँ, राष्ट्रिय टिम व्यवस्थापनमा ३० करोड ८० लाख ८१ हजार नाै सय ३९ रुपैयाँ खर्च भएको छ । 

यस्तै सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख ५६ हजार चार सय ७९, पोखरामा सात करोड ६२ लाख ९८ हजार दुई   सय २४ र जनकपुरमा ८० लाख ३७ हजार दुई सय १२ रुपैयाँ खर्च भएको छ ।

१४औँ साग आयोजना गर्ने पालो पाकिस्तानको भए पनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन । 

सुझावित समाचार