वर्तमान सत्ता ग्रिन हन्टका नाममा जुन आदिवासीलाई निर्लज्जतापूर्वक मारिरहेको छ, उनीहरूसँग सोध्नुस्, देशभक्ति भनेको के हो ?
हिजोआज हाम्रो देशमा भारतमाता र गाईमाताको निकै चर्चा छ । सबैलाई आफ्नो जन्मभूमि प्यारो हुन्छ । यो जीवन र परिवेशका प्रति उसको लगावको परिचय हो । तर, केही मानिस यसमा पनि वर्चस्वको खोजी गर्छन् । ‘सबै समान कसरी हुन सक्छन् ?’ भनेजसरी सबै मानिस पनि त समान देशभक्त हुन सक्दैनन् । कोही धेरै देशभक्त हुन्छन्, त कोही कम । जो धेरै देशभक्त हुन्, उनीहरूका अनुसार कम देशभक्तमाथि शासन गर्ने अधिकार उनीहरूकै हो । जसरी मनुवादी सामाजिक व्यवस्थामा शुद्रमाथि नियन्त्रण कायम गर्नु ब्राह्मणको अधिकार हो । उनीहरूका अनुसार जसले जति चर्को गरी भारतमाताको जय भन्छ, त्यो त्यति नै धेरै देशभक्त हो । भारतमाताकै जसरी गौमाताको पनि एउटा भाष्य निर्माण गरिएको छ । साँचो त के हो भने गौमाता भारतमाताभन्दा पनि पुरानो अवधारणा हो, जसको प्रयोग वर्चस्ववादीले गर्दै आइरहेका थिए । सायद यही सबै सोचेर होला, मध्यप्रदेशको भाजपा सरकारले गौ–क्याबिनेट नै बनायो । समाचारहरूका अनुसार गोपाष्टमी अर्थात् २२ नोभेम्बरका दिन यसको पहिलो बैठक हुनेछ ।
विडम्बना के छ भने गाईको पूजा गर्नेहरूले घरमा गाई होइन, कुकुर पालेका छन् । यस्तो परिवेशमा श्रमजीवी आममानिसले के नै गर्न सक्छन् ? कसैले उनको संवेदना पनि बुझ्न सक्दैनन् । नयाँ राजनीतिक भाष्यअनुसार त उनीहरू न त देशभक्त हुन्, न धार्मिक । प्रेमचन्दको उपन्यास गोदानमा होरी नामक एकजना किसानलाई केन्द्रमा राखेर तत्कालीन भारतीय किसानको गाथा लेखिएको थियो । होरीको आकांक्षा के थियो भने उसको घरमा एउटा गाई होस् । किसान परिवारका लागि गाई कैयाैँ रूपमा लाभप्रद हुन्छ । प्रेमचन्दको समयमा त्यसको महत्ता अझै धेरै थियो । होरीको निकै मिहिनेतपछि घरमा एउटा गाई आइपुग्छ, तर त्यससँगै उसको जीवनको दुःखद अध्याय पनि आरम्भ हुन्छ । उसको भाइले नै गाईलाई विष दिएर मारिदिन्छ । त्यसपछि कथा नै कथा छ ।
विडम्बना के छ भने गाईको पूजा गर्नेहरूले घरमा गाई होइन, कुकुर पालेका छन् । यस्तो परिवेशमा श्रमजीवी आममानिसले के नै गर्न सक्छन् ? नयाँ राजनीतिक भाष्यअनुसार त उनीहरू न त देशभक्त हुन्, न धार्मिक ।
अन्ततः होरी किसानबाट मजदुर बन्न पुग्छ । त्यो पनि दैनन्दिन भारी बोक्ने मजदुर । बाटो खनिँदै छ र होरी ढुंगा फुटाइरहेको छ । उसलाई रिंगटा लाग्छ र अन्ततः ऊ मर्छ । तर, अन्तिम सास फेर्ने वेलामा उसको मानसपटलमा जीवनका विविध स्मृति घुम्न थाल्छन् । त्यसमध्ये उसले गाई पनि सम्झिन्छ । प्रेमचन्दकै शब्दमा भन्ने हो भने, ‘उसका आँखा निभ्न खोज्दै छन् र जीवनको समग्र स्मृति सजीव भएर उसको हृदयमा आउन थालेका छन्, तर सबै क्रमहीन । अगाडिको पछि र पछिको अघि स्वप्नचित्रसरी क्रम नमिलीकन । त्यो सुखद बालपन, जहाँ ऊ डन्डीबियो खेलिरहेको थियो र आमाको काखमा सुत्थ्यो । लगत्तै ऊ खुट्टामा गोबर लागेको देख्छ । त्यतिमै दृश्य फेरियो, धनिया बेहुली बनेर आएकी छ, रातो मजेत्रो बेरेर उसले खाना खुवाउँदै छे । र, फेरि एउटा गाईको चित्र अघिल्तिर आयो, बिल्कुलै कामधेनुजस्तो । उसले त्यसको दूध दुह्यो र मंगललाई खुवाइरहेको थियो कि गाई देवी बन्न पुगी...।’
कथामा के पनि थियो भने थोरै बेरपछि होरीको चेतना फर्किन्छ । त्यति वेलासम्म उसकी पत्नी धनिया आइसकेकी हुन्छे । ऊ पत्नीलाई भन्छ– मैले केही तितो, नमिठो बोलेको भए माफ गर्नु है धनिया । अब जान्छु, गाईको तिर्सना मनमै रहने भयो...।’ हिन्दुत्ववादीको गाई र होरीको गाईमा कुनै अन्तर्सम्बन्ध छ त ? हिन्दुत्ववादीको गाई पहिले देवी हो अनि त्यसपछि मात्र दूध दिने गाई । होरीको गाई देवी होइन । त्यस्तो तिर्सना जुन होरीको मनमा गाँठो परेको छ । त्यसलाई पाउने सम्भावना निकै न्यून छ । गाईप्रतिको लालसा होरीको अवचेतन मनमा गाडिएको छ र त्यसले उसलाई देवीको रूपमा सम्झिन्छ । यो आफैँमा दुःखद हो । मृत्युको वेलामा उसले आफ्नी पत्नी धनियालाई यसै लालसाबारे भनेको थियो । तर, ऊ मरेलगत्तै उसको पुरोहितलाई गोदानमा एउटा गाई चाहिएको छ । गोदान भएन भने होरी नर्कमा पुग्ने सम्भावना प्रबल छ । यो गौदान पुरोहितको त्यस्तो पाखण्ड हो, जसले किसानको कोमल चेतनालाई भुट्ने गर्छ । वास्तवमा किसानको आफ्नो लोकोत्तर दुनियाँमा पनि गाईको अभिलाषा हुन्छ । पुरोहितले यसै भावको मनोवैज्ञानिक लाभ उठाउने गर्छ र विनाकुनै शारीरिक श्रम बसी–बसी पेट पाल्ने गर्छ । शोषणको यो यस्तो विराट् रूप हो, जहाँ माक्र्सवादीहरूको ध्यान सारै थोरै जाने गर्छ ।
गाई र भारतमाता यस धर्मव्याकुल समाजका लागि आफ्नो वर्चस्व स्थापित गर्ने साधन मात्र हुन् । तर, काम गरिखाने मानिसका लागि आफ्ना वरपरका पशुपक्षी र देश उनको जीवनका ढुकढुकी हुन् । गाई त गाई हो, उनीहरूले आफ्ना भेडाबाख्रासँग पनि प्रेम गर्ने गर्छन् । अरू त अरू त्यहाँका रुख–बिरुवासँग पनि उनीहरूको सम्बन्ध स्थापित हुन्छ । वर्तमान सत्ता ग्रिन हन्टका नाममा जुन आदिवासीलाई निर्लज्जतापूर्वक मारिरहेको छ, उनीहरूसँग सोध्नुस्, देशभक्ति भनेको के हो ?
(प्रेमकुमार मनुस्मृति : एउटा प्रक्रिया पुस्तकका लेखक हुन्)
मिडिया भिजिलबाट