मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक विक्रेता जी मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ । क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ र जी मोटर्सका प्रबन्ध–निर्देशक कैलाशबाबु गेलालले सोसम्बन्धी सम्झौतापत्रमा नक्सालस्थित जी मोटर्सको कार्यालयमा सोमबार हस्ताक्षर गरे । हाल तीन वर्षका लागि सम्झौता गरिएको प्रबन्ध–निर्देशक गेलालले जानकारी गराए ।
गेलालले आफ्नो संस्था र बुद्धिचाल खेलको प्रवर्द्धनका लागि क्लबसँग सम्झौता गरिएको बताउँदै तीन वर्षपछि पनि अवस्था हेरेर सम्झौता थप गर्न सकिने संकेत गरे ।
अध्यक्ष श्रेष्ठले बुद्धिचालमार्फत विश्वमा नेपाललाई चिनाउनु आफ्नो उद्देश्य रहेको बताउँदै धेरैभन्दा धेरै प्रतियोगिता हुने वातावरण बनाउन सकेको खण्डमा मात्र त्यो उद्देश्य पूरा गर्न सकिने धारणा व्यक्त गरे । उनले क्लबसँग सहकार्य गरेकोमा जी माटर्सलाई धन्यवाद दिँदै कोरोना भाइरसको जोखिम न्यूनीकरण भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा तयारी थाल्ने बताए ।