बार्सिलोनाको समस्याबाट दिक्क मेसी

विश्वकप छनोटमा सहभागी भई फर्केका लियोनल मेसीले बार्सिलोनाको प्रत्येक स–साना समस्याबाट दिक्क लागेको बताए, समस्याबाट बाहिर निस्कन विकल्पको खोजीमा मेसी

आइतबार, ७ मंसिर, २०७७
डिजिटल संस्करण

अर्जेन्टिनी कप्तान लियोनल मेसी २०२२ कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोट प्रतियोगितामा सहभागी भई बार्सिलोना फर्केका छन् । १५ घन्टा लामो हवाईयात्रापछि बार्सिलोना अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा मेसी निकै थकित देखिन्थे । विमानस्थलमा सम्भवत उनी चाहन्थे, आफूमाथि केही प्रश्न नराख्दा हुन्थ्यो । विश्वकप छनोट र लामो हवाईयात्रापछि मेसीलाई आराम चाहिएको छ । 

तर, विमानस्थलमा पुगेका पत्रकारले बार्सिलोना र उनीसँग सम्बन्धित प्रश्नका उत्तर पाउन हतार गरिरहेका थिए । यद्यपि मानसिक रूपले समेत थकित मेसीले पत्रकारका प्रत्येक प्रश्नकाे तिखो रूपमा उत्तर फर्काए । यसपटक मेसीले खुलेरै बार्सिलोना र एन्टोनियो ग्रिजम्यानकाको आलोचनासमेत गरेका छन् । 

बार्सिलोनाको हरेक समस्याबाट आफूलाई दिक्क लागेको मेसीले बताएका छन् । यसबाट छुटकारा पाउन आफूले समाधानका बाटो खोजिरहेको उनले जनाए । मेसी भन्छन्, ‘सधैँजसो बार्सिलोनाको समस्याबाट म दिक्क भइसकेको छु, यहाँ जहाँ हेरे पनि समस्या नै समस्या छ ।’ क्लबको व्यवस्थापन पक्ष कमजोर हुँदा नै बार्सिलोना समस्यामा परेको आरोप उनले लगाएका छन्। ‘पछिल्लो केही वर्ष म्यानेजमेन्ट त्यति राम्रो भएन, एकल निर्णयमै सबै काम भए, जसबाट क्लबको प्रदर्शनमा असर गऱ्याे,’ उनले भने, ‘व्यवस्थापन राम्रो हुँदा त्यसको प्रभाव खेलाडीमा पर्छ ।’ 

मेसी र बार्सिलोनाबीचको सम्बन्धबारे समाचार आएको यो पहिलो घटना पक्कै होइन । केही वर्षयता यी दुवैबीच नराम्रो सम्बन्ध भएको स्पेनिस मिडियाहरूले उठाइरहेका छन् । सन् २०२०/२१ को नयाँ सिजनमा मेसी स्वयंले बार्सिलोना छाड्न चाहेको दरिलो घोषणा गरेका थिए । त्यसवेला मेसीले अन्य क्लबमा जान वातावरण मिलाउन क्लबसँग अनुरोध गरे । ६ पटकका फिफा वर्ष खेलाडी मेसी गत सिजनमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको सम्पर्कमा आएका थिए । 

त्यसवेला मेसी सिटीमा जाने निकै हल्ला चलेको थियो । तर, बार्सिलोनाले उनको रिलिज क्लज यति धेरै राख्यो कि जुन युरोपका कुनै पनि तिर्न सक्ने अवस्था थिएन । फेरि मेसीको सम्झौता बाँकी नै थियो । सम्झौताअघि क्लब छाड्दा क्लबले रिलिज क्लज राख्ने गर्छ । सम्झौता बाँकी रहेको अवस्थामा क्लबले खेलाडीलाई बिक्री गर्ने वा आफूमै सीमित राख्ने अधिकार राखेको हुन्छ । 

यसै नियमको आडमा बार्सिलोनामेसीलाई क्लबमै राख्न सफल भयो । र, स्पेनिस ला लिगाको नयाँ सिजन पनि सुरु भयो । कप्तानीका रूपमा मेसीले राम्रो प्रदर्शन गरेका छन् । खेलतर्फ केन्द्रित रहँदा मेसी र बार्सिलोनाबीचको सम्बन्ध राम्रो भएको विश्वास गरिएको थियो । तर, भित्री रूपमा यी दुईबीचको सम्बन्धमा अझै पनि सुधार नभएको स्पष्ट देखिन्छ । मेसीले पत्रकारसामु बोलेको शब्दले त्यसको झल्को दिन्छ । 

मेसीले क्लबको पछिल्लो निर्णयसँग आफ्नो असमझदारी रहेको जनाएका छन् । उनले खुलेरै टिममेट ग्रिजम्यानको व्यवहार आफूलाई चित्तबुझ्दो नभएको बताएका छन् । ग्रिजम्यानका एजेन्ट एरिक ओल्हाटले पछिल्लो समयमा मेसीले खेलाडीसँग राम्रो व्यवहार नगरेको आरोप लगाएका थिए । ‘नाउ क्याम्पमा मेसी अन्य खेलाडीलाई अभद्र व्यवहार गर्छन्,’ एरिकको दाबी थियो, ‘ग्रिजम्यानलाई  मेसीले मन पराउँदैनन् ।’ एरिकको प्रश्नको प्रत्युत्तरका रूपमा मेसीले उल्टै ग्रिजम्यान खराब अवस्थामा बार्सिलोनामा आएको आरोप लगाएका छन् । 

मेसीले मैदानभित्र र बाहिर ग्रिजम्यानको व्यवहार फरक रहेको जनाएका छन् । भन्छन्, ‘ग्रिजम्यान मैदानमा असाध्यै राम्रो छ, तर त्यसभन्दा बाहिरको व्यवहार हेरौँ भने त्यो भन्न लायक छैन, ग्रिजम्यान आउँदा वार्सिलोनाको अवस्था राम्रो थियो, जसबाट क्लबले आर्थिक भर व्यहोर्नै बाध्य भयो ।’ 

बार्सिलोनासँग  २०२१ सम्म मेसीले सम्झौता गरेका छन् । त्यसपछि उनी स्वतन्त्र हुनेछन् । अहिले नै मेसी कुन क्लबमा जान सक्छन् भन्ने अवस्था छैन । यता सिटी पुनः एकपटक मेसी भित्र्याउन कसरतमा छ । २०२१–२२ को सिजनमा मेसीलाई भित्र्याउन सिटीले बार्सिलोनालाई कम्तीमा ६० मिलियन पाउन्ड प्रस्ताव राख्ने योजना बनाएको छ । 

सुझावित समाचार