अमेरिकाको जोर्जिया राज्यमा दोहोर्याएर गरिएको मतगणनामा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन पुन: राष्ट्रपतिमा विजयी भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले दोहोर्याएर मतगणना गरिएको हो । बाइडेनले याे जितसँगै जोर्जियाबाट १६ निर्वाचक प्रतिनिधि (इलेक्टोरल मत) प्राप्त गरेका छन् ।
बाइडेनले पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रूपमा विजयी घोषणा गरिएको छ, र जोर्जियाको मतपश्चात् बाइडेनले तीन सय ६ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति ट्रम्पको भने दुई सय ३२ मत छ ।
अमेरिकाको राष्ट्रपतिमा विजयी हुन दुई सय ७० मत आवश्यक हुन्छ । सन् २०१६ मा जोर्जियामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको भन्दा ट्रम्पले ५ प्रतिशत बढी मत ल्याएर विजयी भएका थिए ।
जोर्जियाका सिनेटका दुवै पदमा यसपटक चुनाव भएको थियो, तर दुवै पार्टीका उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि आगामी जनवरीमा पुनः चुनाव हुँदै छ ।
जोर्जियामा सन् १९९२ पछि पहिलोपटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी भएका हुन् । सन् १९९२ मा यहाँबाट बिल क्लिन्टनले विजय हासिल गरेका थिए ।