४६औँ राष्ट्रपति निर्वाचनका क्रममा अमेरिकामा कोरोना भाइरस संक्रमित र यसको प्रभावबारे धेरैले चासो दिएका थिएनन् । विश्वभरका मिडिया र आमनागरिकको चासो डेमोक्रेटिक पार्टीका जो बाइडेन र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीचको प्रतिस्पर्धामाथि मात्रै केन्द्रित थियो । निर्वाचन सकिएको दुई साता भएको छ । अब पुनः एकपटक अन्तर्राष्ट्रिय समाचार एजेन्सीहको नजर अमेरिकामा बढिरहेको कोरोना भाइरस संक्रमण दरतर्फ ध्यानाकर्षण भएको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ११ लाख ८५ हजार संक्रमित छन् । यही क्रममा द गार्डियनले अमेरिकामा कोरोनाका बिरामीका लागि बेड अभाव भएको समाचार प्रकाशन गरेको छ । दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेका कारण संक्रमितको उपचार नै प्रभावित भइरहेको द गार्डियनले जनाएको छ ।
नेभेडा र मिसिगनमा कोरोना नियन्त्रणबाहिर
अमेरिकाका केही राज्य कोरोनाबाट निकै प्रभावित भएका छन् । नेभेडा तथा मिसिगनमा पनि कोरोना नियन्त्रणभन्दा बाहिर गएको छ । यी राज्यका अस्पतालमा बेड कम भएपछि प्रशासनले कार पार्किङ क्षेत्रलाई नै अस्पतालमा परिणत गरेको छ ।
नेभेडा र मिसिगनमा अहिले ७७ हजार संक्रमित अस्पतालमा उपचार गरिरहेका छन् । मिसिगनमा रहेका ठूला कार पार्किङ क्षेत्र अस्पतालका रूपमा परिणत भएको द गार्डियनको भनाइ छ । पर्याप्त सुविधा नहुँदा चिकित्सकहरूले संक्रमितको उपचार राम्रोसँग गर्न नपाएको बताएका छन् । मिसिगनको क्रिटिकल केयरका डाक्टर एलिसन जोनसनले संक्रमितको संख्या निरन्तर बढेका कारण उपचार गर्न कार पार्किङलाई नै अस्पताल बनाउनुपरेको बताए । उनले भने, ‘अवस्था त्यति राम्रो छैन, हामी बाध्य भएर संक्रमितको उपचार कार पार्किङमा गरिरहेका छौँ ।’ नेभेडामा सबै संक्रमितले बेड पाउन सकेका छैनन् ।
ट्रम्प प्रशासनको असफलता
विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भएको देश अमेरिका हो । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई हल्का रूपमा लिएकै कारण अमेरिकामा संक्रमित र मृत्युदर बढेको आरोप छ । ट्रम्पको कमजोर प्रशासनिक नीतिले अमेरिकाले कोरोनामाथि नियन्त्रण लिन नसकेको विश्व स्वास्थ्य संगठनले आरोप लगाएकोे छ । यो साताभित्र अमेरिकामा १५ लाख संक्रमित थपिएका छन् । हालै राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्रम्प एक्लो व्यक्तिका कारण अमेरिकाले कोरोनाविरुद्ध लड्नुपरेको प्रतिक्रिया दिएका छन् । ‘एक व्यक्तिको कमजोर रणनीतिले अमेरिकामा कोरोनाको स्थिति भयावह भएको छ, आउँदो दिनमा संक्रमित र मृत्यु संख्या योभन्दा बढ्ने छ,’ बाइडेनले भने, ‘अभैm पनि अवस्था बिग्रेको छैन, तत्कालै कठोर निर्णय लिनु आवश्यक छ ।’ न्युयोर्क टाइम्सका अनुसार अमेरिकामा प्रतिदिन एक लाखभन्दा बढी संक्रमितका नयाँ केस आएको छ । न्युयोर्क सहरको प्रशासनले कोरोना रोकथामका लागि तत्काल लकडाउनबाहेक अन्य विकल्प नभएको स्पष्ट पारेको छ । न्युयोर्कमा स्कुल, होटेल, रेस्टुरेन्ट तथा बार बन्द भइसकेका छन् । मिनेसोटामा आगामी शुक्रबारदेखि लकडाउन घोषणा हुने जनाइएको छ ।
भ्याक्सिनप्रति अमेरिकाको तयारी
अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित बनाउन भ्याक्सिन निर्माण र प्रयोगको तयारी तीव्र बनाएको छ । यही डिसेम्बर महिनासम्म सर्वसाधारणले भ्याक्सिन पाउन सक्ने ट्रम्प प्रशासनले दाबी गरेको छ ।
प्रशासनले डिसेम्बरको अन्त्यसम्म दुई करोड अमेरिकनलाई भ्याक्सिन उपलब्ध गराउने योजना बनाएको छ । अप्रिलसम्म ७० करोड अमेरिकन भ्याक्सिनको सम्पर्कमा आउनेछन् । अमेरिका र जर्मनीका कम्पनीले उत्पादन गरेको भ्याक्सिन परीक्षण अन्तिम चरणमा पुगेको छ । अहिले यहाँको स्वास्थ्य विभाग, मानव संशोधन, रक्षा तथा केही निजी कम्पनी भ्याक्सिन उत्पादनमा सक्रिय भएर लागेका छन् ।
प्रशासनबाट स्वीकृति पाएको २४ घन्टाभित्र नै सर्वसाधारणले भ्याक्सिन पाउन सक्ने अमेरिकी अनुसन्धानकर्ता तथा डाक्टर मोनेसेफ स्लाओईले द गार्डियनलाई बताएका छन् । ‘डिसेम्बर महिनाको अन्तिम सातासम्म आपतकालीन अवस्था भनी भ्याक्सिन प्रयोगमा ल्याउने योजना छ,’ डाक्टर मोनेसेफले भने । यसका लागि अमेरिकन रक्षा तथा महामारी नियन्त्रण विभागलाई तयारी अवस्थामा राखिएको उनले बताए ।