फेस्टिभ लाइटिङ

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

तिहार सुरु भएसँगै बत्तीको कारोबार बढ्दा मूल्य भने घट्यो, कम विद्युत् खपत गर्ने र ज्यादा प्रकाश दिने लाइटको माग बढी

तिहार भन्नेबित्तिकै झिलिमिली बत्तीको याद आइहाल्छ । तिहारको पहिलो दिनदेखि नै घरहरू बत्तीले झकिझकाउ हुन थाल्छन् । जुन घरमा उज्यालो हुन्छ, त्यही घरमा धनधान्यकी देवी लक्ष्मीको वास हुने विश्वास छ । अझ लक्ष्मीपूजाको दिन घरदेखि अफिससम्म झकिझकाउ पारिन्छ । मारवाडी व्यवसायीहरू लक्ष्मीपूजालाई अझ विशेष रूपमा मनाउने गर्छन् । तिहारमा घरलाई सजाउन बजारमा विभिन्न प्रकारका आकर्षक बत्तीहरू पाइन्छन् ।

चाडपर्वमा घर सजाउन विद्युतीय मालाबत्तीको प्रयोग हुँदै आइरहेको छ । सहरमा मात्र होइन कि गाउँमा समेत विद्युतीय मालाबत्तीले घर झकिझकाउ पारेको देखिन थालेको छ । ३५ वर्षदेखि काठमाडौंको भोटेबहालमा विद्युतीय लाइटको व्यापार गर्दै आइरहेका ओरेन्ट लाइट सेन्टरका सञ्चालक अमन जलन भन्छन्, ‘तिहारमा सिलिङमा मालाबत्ती झुन्ड्याएर घर सजाउने चलन छ ।’ पहिला साधारण बल्ब भएका मालाबत्ती आउँथे जसले धेरै पावर खपत गर्थे । तर, अहिले एलइडी बल्ब भएका मालाबत्ती आएका छन् । उनका अनुसार मालाबत्तीको मूल्य पनि ओरालो लागिरहेको छ । पहिला एउटै मालाबत्तीको मूल्य आठ सय रुपैयाँजति पथ्र्यो । अहिले सय रुपैयाँमै किन्न पाइन्छ । अलि राम्रो गुणस्तरमा जाँदा तीन सयदेखि ६ सय रुपैयाँसम्म खर्च गरे पुग्छ ।

अहिले चिनियाँ मालाबत्तीको दबदबा छ । चिनियाँ बत्तीकै कारण मूल्य घटेको जलन बताउँछन् । उनी भन्छन्, ‘पहिला पाँच÷पाँच मिटरको माला आउँथ्यो, अहिले डेढ सय मिटरसम्मका माला आउँछन् ।’ तिहारमा काठमाडौं उपत्यकालगायत देशभरका प्रमुख सहरका ठूला भवनहरू मालाबत्तीले दुलहीजस्तै सिंगारिन्छन् । मालाबत्ती घरको बाहिरपट्टि लगाइन्छ । घरको भित्री भागमा अन्य आकर्षक लाइटहरू प्रयोग गर्न थालिएको छ, जसले घर तिहारमा मात्र नभएर सधैँभरि झकिझकाउ गराउँछ । घरको गेटदेखि बगैँचा, सिलिङ, कोठाहरू सजाउन बजारमा विभिन्न प्रकारका लाइटहरू उपलब्ध रहेका छन् ।

अहिले घरमा प्रयोग गरिने बत्तीहरू अपग्रेड भइसकेका छन् । बजारमा कम विद्युत् खपत गर्ने र ज्यादा प्रकाश दिने लाइट आइसकेका छन् । कुनै समय फ्लोरिसेन्ट बत्तीहरू चलनचल्तीमा थिए । ती बत्तीहरूलाई सिएफएल बत्तीले विस्थापित गरिदिएको थियो । पछिल्लो समय सिएफएलभन्दा पनि ३० प्रतिशत कम विद्युत् खपत गर्नुका साथै ज्यादा उज्यालो दिने एलइडी लाइट प्रयोगमा आइसकेका छन् । पुराना बढी पावरका बत्तीले भन्दा अहिले बजारमा आएका एलइडी बल्बले विद्युत् कम खपत गर्नुका साथै उज्याले पनि बढी दिने जलन बताउँछन् । कुनै समय सिलिङमा ६० वाट, १०० वाटका बत्ती लगाउने गरिएकोमा अहिले ६ वाट, १२ वाट र १८ वाटका एलइडी लाइट आइसकेका छन् । नयाँ प्रविधिका गुणस्तरीय लाइट सफा, चम्किलो र आँखाका लागि पनि आरामदायी हुन्छन् । पुरानो प्रविधिका लाइटले बत्तीको बिल पनि बढी उठाउँछन् । 

घरको गेटमा राख्न पिल्लर लाइट आउँछन्, जसको मूल्य ६ सयदेखि ६ हजार रुपैयाँसम्म पर्छ । बगैँचामा गार्डेन डोमलाइट प्रयोग गर्न सकिन्छ । घरको बाहिरी भाग सजाउन डोमलाइट, वाललाइट, रोपलाइट, फ्लडलाइटलगायत लगाउन सकिन्छ । घरको बाहिरी भागको सिलिङमा ६ वाट, १२ वाट र १८ वाटको बत्ती प्रयोग गर्न सकिन्छ, जसको मूल्य ३४० देखि १८ सय रुपैयाँसम्म पर्छ । अमन जलनका अनुसार घरको भित्री भागहरू सजाउन झुमर, वाललाइट, ह्याङ्गिङ लाइट, डोमलाइटलगायत प्रयोग गर्न सकिन्छ ।

‘बैठक कोठाको सिलिङमा प्रायः झुमर प्रयोग गरिन्छ,’ उनी भन्छन्, ‘तर, पछिल्लो समय मान्छेले महँगो मूल्य पर्ने क्रिस्टलका झुमर लाइटभन्दा पनि मोडर्न टाइपका आकर्षक लाइटहरू मनपराउन थालेका छन् ।’ प्रविधिको विकाससँगै झुमरको मूल्य घटेको छ भने गुणस्तर बढेको छ । पहिला ४५÷५० हजार रुपैयाँ पर्ने क्रिस्टलका झुमर अहिले १८ देखि २० हजारमै आउँछन्, त्यो पनि एलइडी बल्बसहित । पहिलाका झुमरमा नर्मल चिमको प्रयोग हुन्थ्यो । ‘हामीसँग चार हजारदेखि चार लाख रुपैयाँसम्मका झुमर छन्, तर सबैभन्दा बढी प्रयोग गरिने १० देखि ५० हजारसम्मका झुमर हुन्, ५० हजारमा राम्रै झुमर किन्न पाइन्छ,’ उनी सुनाउँछन् ।

भान्छाकोठा र अध्ययन कोठामा ह्याङ्गिङ लाइटको प्रयोग बढ्न थालेको छ । आकर्षक डिजाइनमा रहेका ह्याङि लाइटले घरको इन्टेरियर नै परिवर्तन गरिदिन्छ । पछिल्लो समय क्लासिक लाइटको प्रयोग पनि बढ्दो छ । बेडरुममा डिमलाइट, सरफेसलाइट, पेरिस लाइटको बढी प्रयोग गरिने जलन बताउँछन् । उनका अनुसार बेडरुममा ह्याङ्गिङ लाइट पनि प्रयोग गर्न सकिन्छ । बाथरुमको सिलिङ डोमलाइट राख्न सकिन्छ भने ऐनामाथि राख्न मिरर लाइट आउँछ । डोमलाइटको मूल्य चार सयदेखि २४ सय रुपैयाँसम्म पर्छ । घरको गल्लीहरूमा ६ वाट, १२ वाट र १८ वाटका एलइडी लाइट प्रयोग गर्न सकिने जलन बताउँछन् ।

सुझावित समाचार