प्रधानमन्त्री केपी ओलीले संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका चाँडै सञ्चालनमा आउने बताएका छन् ।
बुधबार पूर्वी नेपालको चीनसँग सिमाना जोडिएको हिमाली जिल्ला संखुवासभा जिल्लाको छिमेकी मित्रराष्ट्र चीनसँग सिमाना जोडिएको किमाथांका नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिंकको रूपमा रहेको उत्तर–दक्षिण कोसी सडक आयोजनाको कोसी कोरिडोर र सीमा सुरक्षा पोस्ट (बिओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्दै सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई वर्षअगाडि आफैँले किमाथांका नाका चाँडै सञ्चालनमा ल्याउने र भारतको जोगवनीदेखि किमाथांकासम्मको तीन सय ९० मिटर उत्तर–दक्षिण कोसी सडक आयोजनाको कोसी कोरिडोर दुईलेनको सडक विस्तार गरी सञ्चालन गर्ने देखेको सपना बिस्तारै पूरा हुँदै गएको बताए ।
उनले सडक विस्तार गर्ने क्रममा भोटखोला गाउँपालिकामा १४ किलाेमिटर सडक विस्तार गर्न अत्यन्तै कठिन र ठूलाठूला ढुंगा भएकाले विस्तारमा समस्या देखेपछि नेपाली सेनालाई जिम्मा दिइएको छ । अब चाँडै ट्रयाक ओपन सम्पन्न हुने विश्वास लिएको उनले बताए ।
‘यो किमाथांका नाका मानवबस्ती भएको र बाह्रै महिना सञ्चालन गर्न सकिने नाका हो । त्यसैले यो कोसी कोरिडोर अत्यन्तै महत्वका साथ हेरिएको छ । मैले यो सडक र नाकाबारे चासो राख्नुका साथै अत्यन्तै महत्वका साथ हेरेको छु । त्यसैले स्थलगत रूपमा हेर्नसमेत आएको छु,’ उनले भने, ‘यो सडकले सबै समृद्धि र विकासमा परिवर्तन ल्याउने निश्चित छ । हिजो यही ठाउँ दुर्गम थियो, अहिले सडक विस्तारले सुगम बन्दै गएको छ । अब किमाथांका नाका सञ्चालनमा ल्याएपछि छिमेकी मुलुकका दुई ठूला राष्ट्र चीन र भारतसँग व्यापारिक सम्बन्ध नजिक बन्छ । त्यसले हाम्रो जीवनयापनमा समेत सजिलो हुन्छ ।’
प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकाेप्टरबाट बुधबार बिहान करिब १० बजेतिर किमाथांका नाका पुगेका थिए ।
त्यहाँ चीनसँग सिमाना जोडिएको किमाथांका नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिंकको रूपमा रहेको उत्तर दक्षिण कोसी सडक आयोजनाको कोसी कोरिडोर र सीमा सुरक्षा पोस्ट (बिओपी), भन्सार कार्यालय र सुक्खा बन्दरगाहबारे समेत जानकारी लिनुका साथै अनुगमन गरेका थिए ।
किमाथांकामा करिब दुई घन्टाको अनुगमन र कार्यक्रमलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली नौ सय मेगावाटको अरुण तेस्रो ड्यामस्थल फ्याक्सिन्दा आएका थिए ।
०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रोको शिलान्यास गरेका थिए ।
पछिल्लो समय अरुण तेस्रोको कामकाे प्रगतिबारे आफू सन्तुष्ट रहेको प्रधानमन्त्री ओलीले बताए ।
०४२–०४३ देखि सुरु भएको मुलुकको नै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना राजनीतिक विवादमा फसेपछि लामो समय रोकिएको थियो ।