बुधबार पनि सेयर बजारमा परिसूचक नेप्से बढेको छ ।
नेप्से १ दशमलव ७२ प्रतिशत अर्थात् २८ दशमलव ८९ अंकले बढेर एक हजार सात सय ६७ बिन्दुमा पुगेको छ ।
सेन्सेटिभ परिसूचक पनि ५ दशमलव २३ अंकले बढेर तीन सय ३५ दशमलव ६२ अंकमा बन्द भएको छ । नेप्से परिसूचक बढ्नुमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको रुरूपमा लिइएको छ ।
बैंकमा अधिक तरलता हुँदा ब्याजदर सस्तो भएको छ । सस्तो ब्याजदर भएकै कारण सेयर बजारमा राम्रो प्रभाव परेको देखिएको छ । अहिले बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा तल छ भने कर्जाको ब्याजदर पनि ८ प्रतिशतको आसपासमा छ ।
सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।
यसबाहेक बैंक तथा वित्तीय संस्थालगायत नेप्सेमा सूचीकृत कम्पनीहरूले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेकाले त्यसको असर पनि बजारमा देखिएको छ ।
यस्तै चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरू प्रकाशित भइराखेको र अधिकांश कम्पनीको वासलात राम्रो देखिएपछि लगानीकर्ताले लगानी बढाएका छन् ।
त्यसैले बजारमा लगानी भित्रिँदा सेयरको माग बढ्न गएकाले परिसूचकमा पनि सकारात्मक असर परेको देखिन्छ । आज (बुधबार) पनि बजारमा चार अर्ब नाै करोड ९६ लाख चार हजार सात सय ४२ रुपैयाँबराबरको एक करोड २४ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका समूहमध्ये फाइनान्स समूहबाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह नाै दशमलव ९९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६ दशमलव २१ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा समूह, म्युचुअल फण्ड र अन्य समूह ४ प्रतिशतभन्दा बढीले बढेका छन् ।
बैंकिङ समूह पनि १ दशमलव १५ प्रतिशतले बढेको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दूरसञ्चार कम्पनीको २५ करोड ९० लाख २८ हजार नाै सय ३० रुपैयाँको भएको छ । यस्तै हिमालयन डिस्टिलरीको सेयर कारोबार पनि १८ करोड ८६ लाख ४० हजार रुपैयाँभन्दा बढीको भएको छ ।
यसबाहेक १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुने कम्पनीहरूमा एनआइसी एसिया बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बिमा कम्पनी रहेका छन् ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । ९ प्रतिशतभन्दा माथि सेयर मूल्य बढ्ने कम्पनीहरूमा लक्ष्मी इक्युटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी, एनआइसी एसिया ग्रोथ फण्ड, सानिमा जनरल इन्स्योरेन्स कम्पनीलगायतका रहेका छन् ।
बजार बढे पनि आइसिएफसी फाइनान्स, सेन्ट्रल फाइनान्सलगायतका कम्पनीहरुको सेयर मूल्य भने घटेको छ ।