कोरोनाले सबै खेलका तालिका प्रभावित

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाइमा हुन्थ्यो । 

कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको माहोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो । 

राष्ट्रिय खेलाडीहरू फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीव्र तयारीमा व्यस्त हुन्थे ।  

तर, कोरोनाले वर्षभरिको तालिका प्रभावित गराउँदा खेलाडीदेखि पदाधिकारीमा नैराश्यता छाएको छ । 

कोरोना महामारीले धेरै क्षेत्रलाई प्रभावित बनाउँदा खेलकुद क्षेत्र पनि अछुतो रहेन । 

विश्वलाई घुँडा टेकाएको कोरोना भाइरस (कोभिड–१९) अझै नियन्त्रणमा आउन नसक्दा विकल्प खोजी भइरहेको छ । 

नेपालमा भने अझै सहज बन्न सकेको छैन, विकल्प पनि अझै सोचिएको छैन । तय भएका खेलकुद तालिका पनि प्रभावित भएका छन् । 

फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशापन देखिएको छ ।  

सरकारले गर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ । 

पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे कोभिडका कारण अन्योल भएको र बोर्ड बैठकपछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालले बताए ।

यसअघि पूर्वाधारको चुनौतीका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन् ।

तर, पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताए । 

उनले खेलकुद चलायमान बनाउनका लागि खेलाडीदेखि सम्बन्धित संघबाट तत्परता देखाउनुपर्ने र सहयोगका लागि परिषद् तयारी रहेको स्पष्ट पारे । 

कोरोना महामारीबीच घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन् । मुखैमा आएको फ्रोन्चाइज क्रिकेट लिए एभरेष्ट प्रिमियर लिग रोकियो । 

तालिकामा रहेको पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा पऱ्याे । साथै मोफसलमा हुने धेरै गोल्डकपदेखि फुटबलका डिभिजन लिगहरूमा कोरोनाको असर देखियो । 

छिटपुटबाहेक एकलदेखि युगलसम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन् । 

महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडीदेखि खेलसम्बद्ध पदाधिकारीले खोजिरहेका छन् । 
खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताए । 

तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल–तालिकामा असर देखिँदा खेलाडीमा अहिले नैराश्यता देखिएको छ । ९ महिनाभन्दा लामो समय खेलाडी खेलकुद गतिविधिबाट बाहिर रहँदा यस्तो असर देखिएको हो । 

खेलकुद जीवन हो भन्दै होमिएका खेलाडीमा नकारात्मक असर देखिन थालेको छ ।

सुझावित समाचार