डेमोक्रेटिक पार्टीका जो बाइडेन आकस्मिक र अचानक रूपमा अमेरिकाको ४६औँ राष्ट्रपति बनेका होइनन् । ५० वर्षको राजनीतिक जीवनमा कमाएको ख्याति र इमानदारिताकै कारण अमेरिकी जनताले उनलाई नयाँ राष्ट्रपतिका रूपमा चयन गरेका हुन् ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्ष कार्यकालबाट दिक्क भइसकेका अमेरिकन नागरिकहरू एक असल व्यक्तिको खोजीमा थिए । यही वेला उनीहरूले जनतासँग सहज घुलमेल हुन सक्ने, कुशल राजनीतिकर्मी र विदेशी नीतिमा समेत प्रस्ट धारणा राख्ने सक्ने गुण बाइडेन भेट्टाए । अझ निर्वाचनका वेला उनले विभाजित राजनीति र राष्ट्रलाई नै एक पार्ने लक्ष्य घोषणा गरे । उनले चुनावी क्याम्पिनिङमै अमेरिकालाई एक बनाएर अगाडि लाने वाचा गरे ।
गत वर्षसम्म पनि बाइडेनको अवस्था निकै कमजोर थियो । रिपब्लिकन पार्टीका ट्रम्पले अगामी निर्वाचनमा जो आए पनि सहजै हराउने अपेक्षा सबैले गरेका थिए । यो एक वर्षभित्र बाइडेनले सूक्ष्म रूपले आफ्नो राष्ट्रपति बन्ने मनोकांक्षालाई अभियानको रूप दिए । अमेरिकाको राष्ट्रपति बन्न बाइडेनले धेरै रेकर्ड तोडेका छन् । यसमध्ये बिबिसीले बाइडेन विजयी हुनुका पाँच कारण विश्लेषण गरेको छ ।
कोभिड अस्त्र
सम्भवतः बाइडेनले जित्नुको प्रमुख कारण अमेरिकामा बढ्दो कोरोना भाइरस र यसमा राष्ट्रपति ट्रम्पले कोभिड १९ लाई निकै हल्का रूपमा लिनु पनि एक हो । ट्रम्पले कोभिड– १९ माथि विनामास्क नै अमेरिकाले जित निकाल्ने दाबी गरे । आफ्ना जनतालाई पनि मास्क लगाउन नहुने र आफ्नो स्वतन्त्रता कायम राख्नुपर्ने सुझाब उनले दिइरहे ।
कतिपय विकसित राष्ट्रले कोभिड– १९ नियन्त्रण गर्न लकडाउन गरेको अवस्थामा ट्रम्पले अमेरिकालाई खुला नै राखे । ‘लकडाउन कुनै पनि हालतमा हुन्न, अमेरिकी नागरिकलाई लकडाउनमा राखी बन्धक बनाउन मन छैन,’ ट्रम्पले भनेका थिए । उनले कोभिड– १९ लाई चाइनिज भाइरसको नाम दिएका थिए । चीनले मेडिकल राजनीति गरेको आरोपसमेत ट्रम्पले लगाएका थिए । विश्वकै शक्तिशाली राष्ट्र, विश्वस्तरीय चिकित्सा प्रणाली तथा वैज्ञानिकहरूको साथ रहेको अमेरिकाले सहजै कोरोना भाइरसमाथि विजय गर्ने भाषण ट्रम्पले दिइरहे । राष्ट्रपतिका प्रत्याशी डेमोक्र्याटका बाइडेनले चुनावी भाषणमा यही मुद्दालाई प्राथमिकतामा राखे । चुनावको अन्तिम दिनसम्म पनि यसलाई उनले जितको प्रमुख अस्त्र बनाए ।
चुनावमा सामान्य प्रचार
राष्ट्रपति निर्वाचनमा लगभग ११ खर्ब डलर खर्च भएको अनुमान छ । यो रकम २० वर्षयता चुनावमा खर्चिएको अत्यधिक हो । यसकारण ४६औँ राष्ट्रपति निर्वाचन महँगो भनी अमेरिकन समाचार एजेन्सीहरूले दाबी गरेका छन् ।
तर, निर्वाचनमा बाइडेनको खर्च निकै सरल थियो । उनले भद्दा किसिमको प्रचारप्रसारमा जोड दिएनन् । करिअरमा झैँ प्रचारप्रसारमा पनि सामान्य व्यक्तिकै रूपमा रहे ।
सन् १९८७ र २००७ को राष्ट्रपति निर्वाचनको समयमा उनले आफ्नो पार्टीबाट क्याम्पेनिङ गर्दा पनि सामान्य रणनीति अपनाएका थिए । उनको एउटै मान्यता छ, जनतालाई खुसी पार्न सकियो भने त्यत्तिकै भोट आउँछ । चुनावी प्रचारप्रसारको क्रममा उनी आफूमात्र अगाडि आए । आफ्ना अन्य कार्यकर्तालाई अनावश्यक रूपमा परिचालन गरेनन् । जोर्जिया र फ्लोयड राज्य कोरोनाले अति प्रभावित बनाएको समयमा बाइडेनले चुनावको प्रसारमा खर्चिने रकम त्यहाँका जनतालाई बाँडे । अघिल्लो निर्वाचनको उदाहरण हेर्ने हो भने राष्ट्रपतिका दुवै उम्मेदवार तथा पार्टीले आफूलाई कमजोर नबनाउन मनग्य रकम खर्चेका थिए ।
तर, बाइडेनले कोभिड– १९ महामारीमा रहेको अमेरिकामा सामान्य तरिकाले चुनावको प्रसारप्रचार गर्नुपर्ने धारणा राखे । फेरि अर्को महत्वपूर्ण पक्ष ट्रम्पको बोली र स्वभावको ठ्याक्कै उल्टो बाइडेन हुन् । आमनेसामने भएर वादविवाद हुँदा बाइडेन नरम रूपमै प्रस्तुत भए ।
ट्रम्प बहसमा कमजोर
निर्वाचनको अन्तिम साता ट्रम्प र बाइडेनबीच टेलिभिजनमा बहस भएको थियो । त्यसवेला ट्रम्पले राष्ट्रपतिका लागि उम्मेदवारी दिँदा बाइडेनको क्याम्पेनिङ इतिहासकै कमजोर हुने बताए । तर, बाइडेनले बहसका क्रममा ट्रम्पप्रति खासै टिप्पणी गरेनन् । उनले अमेरिकी राष्ट्रपति निर्वाचनलाई केवल अमेरिकन जनताको मुटु भएको मात्र बताए । ‘यो हामीबीचको मात्र लडाइँ हो, तर अमेरिकी राष्ट्रपति निर्वाचन जनताको मुटु हो,’ बाइडेनले भनेका थिए । उनले विभाजित अमेरिकलाई एकीकृत पार्नु नै पहिलो लक्ष्य रहेको बताए । ‘यो चार वर्षमा अमेरिकामा सबै पक्ष विभाजित भइसकेकका छन्, मेरो प्रयास फेरि एक अमेरिका बनाउनु हो,’ बाइडेनले भने ।
ट्रम्पले चार वर्षको अवधिमा केवल अन्य राष्ट्र र विपक्षीलाई भड्काउने मात्र काम गरेको आरोप बाइडेनको थियो । बाइडेनको भनाइ थियो, ‘अमेरिकन जनताले एउटा असल नेता खोजिरहेका छन्, चाहनाविपरीत काम गर्नेलाई कसैले मन पराउँदैनन् ।’
युवा र विद्यार्थीको साथ
चुनावी अभियानताका डेमोक्र्याटका बाइडेन सधैँ केन्द्रमै रहे । उनका सहयोगी बर्निए सान्डेस तथा एलिजाबेथ वारेनले पूरै निर्वाचनको प्रसारप्रसार डटेर गरे । डेमोक्र्याटले विभिन्न राज्यमा थोरै समर्थकबीच मात्र प्रचारप्रसार अभियान चलाएका थिए । यो एक किसिमको थोरै मानिसबीचको रक कन्सर्टजस्तै बाइडेनको चुनावी अभियान देखिन्थ्यो ।
यस किसिमको चुनावी प्रचारले उनले खर्च मात्र बचाएनन् जनताको मन पनि जिते । केन्द्र सरकारको ट्याक्स रणनीतिविरुद्ध बाइडेन विपक्षीका रूपमा उभिए । स्कुल, कलेज तथा स्वास्थ्यमा लगाइएको कर कम गर्नुपर्ने मुद्दा उनले उठाए । साथै स्कुल र कलेजमा ट्रम्प सरकारले कर छुट दिनुपर्ने मागसमेत उनले राखे । यो पक्षमा बाइडेनले वकालत गर्दा धेरै युवा र विद्यार्थीले उनको समर्थन गरे ।ट्रम्पले भने राष्ट्र बलियो बनाउने मेरुदण्ड नै कर भएको बताइरहे ।
घमण्ड र भ्रम
यस वर्षको सुरुवातमा बाइडेनको क्याम्पेनिङमा थोरै समर्थक उभिएका थिए । यसविपरीत ट्रम्पको सभामा उल्लेखनीय मानिस देखिएका थिए । त्यसबेला ट्रम्पले ठानेका थिए कि अमेरिकन जनता मलाई नै चाहन्छन्, बाइडेनलाई होइन । ट्रम्पले यहाँ नै पहिलो गल्ती गरेको विश्लेषक बताउँछन् । बाइडेन सुरुमा आत्तिएनन्, ५० वर्षको राजनीतिक अनुभव बटुलेका बाइडेनलाई यति विश्वास थियो कि बिस्तारै माहोल बन्दै जान्छ । ट्रम्पलाई यति घमण्ड चढेको थियो कि रुपैयाँ खर्चेको भरमा चुनाव जितिन्छ । ट्रम्पले यसपटक चुनावमा नसोचेको रकम खर्चिएका छन् । बाइडेनले डेमोक्र्याट कमजोर भएको राज्यमा भने अलि बढी खर्चिए ।
जहाँ आफ्नो पकड थियो, त्यहाँ सामान्य रूपमै मात्र प्रस्तुत भए । उनी टेक्सास, जोर्जिया, ओहियो तथा एरिजोनाजस्तो राज्यमा बाइडेनले सफलता चुम्नुको पछाडि पनि सरल चुनावी अभियान नै मानिन्छ ।