मुम्बई लगातार आइपिएलको फाइनलमा

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

१३औँ आइपिएलको पहिलो प्ले अफमा दिल्ली क्यापिटल्सलाई ५७ रनले निराश पार्दै मुम्बई लगातार दोस्रोपटक उपाधिनजिक

साविक विजेता मुम्बई इन्डियन्स १३औँ इन्डियन प्रमियर लिग (आइपिएल)को फाइनलमा प्रवेश गरेको छ । दुबईमा बिहीबार पहिलो प्ले अफमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनको अन्तरले हराउँदै लगातार दोस्रोपटक अन्तिम दुई स्थान पक्का गरेको हो । दिल्लीसमक्ष फाइनल पुग्न अझ एक मौका बाँकी छ । शुक्रबार सनराइजर्स हैदरावाद र रोयल्स च्यालेन्जर्स बेंग्लोरबीचको विजेताविरुद्ध दिल्लीले प्रतिस्पर्धा गर्नेछ । 

मुम्बई सर्वाधिक पाँचपटक आइपिएल उपाधि उचाल्न एक जित टाढा छ । दुबईको डिएससी मैदानमा पहिलो ब्याटिङ गरेको मुम्बईले पाँच विकेटको क्षतिमा दुई सय योगफल बनाएको थियो । प्रत्युत्तरमा दिल्लीले आठ विकेट मात्र गुमाएर १ सय ४३ रन मात्र जोड्न सक्यो । मुम्बईले चालू आइपिएलमा दिल्लीलाई तीनपटक निराश पार्यो । यसअघि पहिलो राउन्डमा पाँच विकेट तथा दोस्रो राउन्डमा नौ विकेटको सानदार जित निकालेको थियो । 

शून्य रनमा तीन विकेट 
लक्ष्य पछ्याएको इनिङ्समा दिल्लीको अहिलेसम्मकै खराब सुरुवात भयो । दिल्लीले स्कोर बोर्डमा एक रन पनि नजोड्दा तीन महत्वपूर्ण विकेट गुमाएको थियो । न्युजिल्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टले इनिङ्सको पहिलो ओभरमै पृथ्वी साह तथा अजिन्का राहानेलाई डक आउट पारे । विकेटकिपर क्विन्टन डी कोकले पृथ्वीको क्याच लिए । राहाने एलबिडब्लू आउट भए । उत्कृष्ट फर्ममा रहेका दिल्लीका बायाँहाते ब्याट्सम्यान शिखर धवनलाई जसप्रित बुमराहले बोल्ड गरेका थिए । शीर्ष तीन ब्याट्सम्यान गुमाउँदा दिल्ली १.२ ओभरमा ०–३ को नाजुक स्थितिमा पुग्यो । 

बुमराह र आश्विनको धारिलो बलिङ
पहिलो प्ले अफमा दिल्लीका रविचन्द्रन आश्विन तथा मुम्बईका बुमराहले धारिलो बलिङ गरेका थिए । तर, यसमा बाजी भने बुमराहले मारेका छन् । उनले दिल्लीका चार ठूला विकेट लिँदै मुम्बईलाई सहज जिततर्फ अग्रसर पारे । बुमराहले धवनका कप्तान श्रयर आयेर (१२), मार्कोस स्टोनिस (६५) र डानियल साम्स (०) को विकेट लिए । बुमराहले आफ्नो बलिङ स्पेलमा केवल ४ ओभरमा एक मडेन राखी १४ रन मात्र दिए । उनी नै खेलमा म्यान अफ दी म्याच भए । यसअघि दिल्लीका आश्विनले २९ रन खर्चेर तीन विकेट लिए । आश्विनले दिल्लीका ओपनर डिकोक (४०), कप्तान रोहित शर्मा (०) तथा किरन पोलार्ड (०) रनमा आउट पारे । 

सात ब्याट्सम्यानका शून्य रन
प्रतिस्पर्धामा सात ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । मुम्बईको इनिङ्समा रोहितले सामना गरेको पहिलो बलमै आउट भए । यसैगरी अनुभवी विस्फोटक ब्याट्सम्यान पोलार्डले सामना गरेको दोस्रो बलमै विकेट गुमाए । दिल्लीको ब्याटिङमा पृथ्वी, धवन, राहने र साम्सले शून्य रनमा आउट भए । दिल्लीका नाटर्जे शून्य रनमा नटआउट रहे । रोहितको प्ले अफमा खराब फर्म जारी नै रह्यो । उनले अहिलेसम्म १९ प्ले अफ खेलमा केवल २ सय २९ रन मात्र जोडेका छन् । उनी तीनपटक शून्य रनमा आउट भए । 

दुई राम्रो साझेदारी 
मुम्बईले दिल्लीलाई विशाल योगफल दिनुपछाडि दुई ठूलो साझेदारी मुख्य रह्यो । डी कोक र सूर्यकुमार यादवले दोस्रो विकेटका लागि ३७ बलमा ६२ रन बटुले । यसैगरी इसान कृषणले हार्दिक पाण्ड्यासँग छैटौँ विकेटका लागि २३ बलमा ६० रनको साझेदारी गर्दै मुम्बईलाई २ सय रनको योगफलमा पुर्याए । हार्दिकले केवल १४ बलमा ३७ रन बटुले । उनले आफ्नो इनिङ्समा पाँच छक्का लगाए ।  डिकोकले २५ बलमा एक छक्का र पाँच चौका प्रहार गरी ४० रन बनाए ।

यसैगरी सूर्यकुमारले केवल ३८ बल सामना गरी ६ चौका र दुई छक्काको सहयोगमा ५१ रन बनाए । कृषणले ३० बलमा तीन छक्का र चार चौका प्रहार गरी ५५ रन बटुले । दिल्लीविरुद्धको सूर्यकुमारको आइपिएलमा सय खेल थियो । उनले अहिलेसम्म आइपिएलमा ११ अर्धशतकीय इनिङ्स खेलेका छन् । 

दिल्लीका दुई ब्याट्सम्यान टिके
कमजोर ब्याटिङ प्रदर्शनमा दिल्लीका दुई ब्याट्सम्यान मात्र टिक्न सफल भए । मार्कोस स्टोनिस र अक्षर पटेलले मात्र गतिलो योगदान दिए । स्टोनिसले ४६ बलमा ६ चौका र तीन छक्का प्रहार गरी ६५ रनको योगदान दिए । यसैगरी पटेलले ३३ बलमा  तीन छक्का र दुई चौकाको सहयोगमा ४२ रन बनाए । प्रतिस्पर्धामा मुम्बईका कृषणले छक्कामा नयाँ रेकर्ड बनाए । उनले चालू आइपिएलमा सबैभन्दा छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा आफूलाई शीर्ष स्थानमा राखे । उनले १३ खेलमा २९ छक्का प्रहार गरेका छन् । सन्जु सामसनले १४ खेलमा २६ छक्का लगाए । 
 

See More On

सुझावित समाचार