नवप्रवर्तनकारी कामलाई राज्यले ५० प्रतिशत ऋण लगानी गरिदिने

१० लाखदेखि १ करोडसम्मका योजनामा सरकारले २ प्रतिशत ब्याजदरको ऋण दिने, आवेदन दिने म्याद कात्तिक मसान्तसम्मलाई थपियो

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

सरकारले नवप्रवर्तनकारी काम सुरु गर्न चाहनेलाई ऋण लगानी गरिदिने भएको छ । नवीनतम सोच, ज्ञान, सीप र क्षमताको प्रवद्र्धन गर्न राज्यले नवप्रवर्तनकारी काम सुरु गर्ने व्यक्ति तथा संस्थालाई सुरुवाती पुँजी ऋण अनुदानमा दिने भएको हो । यसका लागि इच्छुक व्यक्ति तथा संस्थाले राष्ट्रिय योजना आयोगमा आवेदन दिनुपर्ने हुन्छ । 

सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमार्फत नवप्रवर्तनकारी काम सुरु गर्नेलाई अनुदानका रूपमा सुरुवाती पुँजी दिने घोषणा गरेको थियो । तर, अघिल्लो वर्ष उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन । चालू आर्थिक वर्षबाट भने सरकारले सुरुवाती पुँजी अनुदानमा नभई सहुलियत ऋणमा दिने घोषणा गरेको छ ।

बजेटमा भएको सोही व्यवस्थाअनुसार नयाँ आविष्कारको काम गर्ने व्यक्ति, कम्पनी तथा संस्थालाई ऋण लगानी गरिदिने भएको योजना आयोगका सदस्य रामकुमार फुयाँलले जानकारी दिए । ‘नवप्रवर्तनकारी काम सुरु गर्न चाहनेलाई ऋण अनुदान दिनेसम्बन्धी कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेस गरिसकेका छौँ,’ उनले भने, ‘कार्यविधि यथासक्य छिटो पारित हुनेछ, मन्त्रिपरिषद्बाट पास भएलगत्तै हामी यसलाई कार्यान्वयनमा लगिहाल्नेछौँ ।’ 

आठ क्षेत्रमा १ करोडसम्मको ऋण अनुदान
कार्यविधिअनुसार नवीनतम सोच, ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई त्यस्तो उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि सुरुवाती पुँजीका रूपमा ऋण अनुदान उपलब्ध गराइनेछ । अहिलेलाई १० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको योजनामा लगानी गरिदिने व्यवस्था गरिएको फुयाँलले बताए ।

यस्तो ऋण अनुदान २ प्रतिशत ब्याजदरको हुनेछ । कार्यविधिअनुसार विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–वाणिज्यलगायत ८ वटा क्षेत्र तोकिएको छ । यी क्षेत्रमा अविष्कार गर्नेलाई सरकारले पुँजी दिने हो । काम सुरु हुँदै जाँदा तीन किस्तामा उपलब्ध गराइने यस्तो ऋण सम्बन्धित व्यक्ति वा संस्थाले साढे ४ वर्षभित्र तिरिसक्नुपर्ने छ । 

 आवेदनको म्याद कात्तिक मसान्तसम्मलाई 
राष्ट्रिय योजना आयोगले २९ वैशाखमा नवप्रवर्तन सुरुवाती पुँजी अनुदान प्रदान गर्न प्रस्ताव आह्वान गरेको थियो । त्यसउपर करिब ७ सयवटा आवेदन परेका थिए । तर, कोभिड १९ को महामारीले मुलुकको अर्थतन्त्रमा परेको असरको कारण कार्यक्रम कार्यान्वयन नसकिएको आयोगले जनाएको छ ।

त्यसपछि चालू आवको बजेटले अनुदान नभई ऋण अनुदान दिने भएपछि आयोगले नयाँ कार्यविधि बनाएको छ । जसअनुसार आवेदन गर्न असोज मसान्तसम्मको म्याद दिइएको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६ कात्तिकमा निर्णय गर्दै आवेदन दिने म्याद कात्तिक मसान्तसम्मलाई थपेका हुन् । अब यसअघि आवेदन दिएका आवेदकले पनि अनुदानमा ऋणका लागि पुनः आवेदन दिनुपर्ने फुयाँलले बताए । 

 चालू आवलाई ५० करोड बजेट
चालू आर्थिक वर्षका लागि सरकारले नवप्रवर्तन कार्यमा ऋण अनुदान दिन ५० करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ । ‘कोरोनाका कारण उत्पन्न व्यावसायिक अवसरको उपयोग गर्न नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहन गर्न चाहने उद्यमी व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने नवप्रवर्तन सुरुवाती पुँजीका लागि ५० करोड व्यवस्था गरेको छु,’ तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवको बजेटबाट घोषणा गरेका छन् । कुनै व्यवसाय विस्तार गर्न वा परम्परागत व्यवसाय सुरु गर्न यो ऋण अनुदान दिने होइन । बिलकुलै नयाँ अविष्कारमार्फत उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने, सेवा प्रवाह गर्नेलगायत कार्यका लागि अनुदान दिने उनले बताए । 

See More On

सुझावित समाचार