स्तन क्यान्सरबाट पीडित दोलखाकी धनकुमारी मगरको उपचारका लागि अमेरिका बस्ने दोलखालीहरूले एक लाख ९३ हजार रुपैयाँ सहयोग गरेका छन् । दोलखाको भीमेश्वर नगरपालिका– ७ मगर टोलस्थित सिंहरामकी ५० वर्षीया विपन्न महिला धनकुमारी मगरको दाइने स्तनमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको धनकुमारीको परिवारले उपचार गर्न नसक्ने भएपछि सहयोगको अपिल गरेको थियो । धनकुमारी मगरले उपचारका लागि रकम अभाव भएकै कारण मर्नुपर्ने अवस्था आएको भन्दै सहयोगको याचना गरेपछि भीमेश्वर– ७ का स्थानीय युवा कर्मा शेर्पाले अमेरिका बस्ने दोलखालीसँग समन्वय गरेका थिए । उनकै समन्वयमा पीडित महिलाको ज्यान बचाउन क्षमताअनुसारको सहयोग गरिएको हाल अमेरिका बस्दै आएका भीमेश्वर– १ का दागेल्बु शेर्पाले जानकारी दिए । उनका अनुसार अमेरिका बस्ने १९ जनाले सहयोग संकलन गरी पठाइएको हो । संकलन गरी पठाइएको एक लाख ९३ हजार एक साताअघि भीमेश्वर– ७ का स्थानीय युवा कर्मा शेर्पाले पीडित महिलाको बैंक खातामा जम्मा गरी रसिद वितरण गरेका छन् ।
उनको उपचारमा रकम अभाव भएको समाचार सबैभन्दा पहिला नयाँ पत्रिकाको अनलाइन संस्करणमा प्रकाशन भएको थियो । समाचार प्रकाशन भएसँगै हालसम्म उनको उपचारका लागि लाखौँ रुपैयाँ संकलन भइसकेको परिवारले जनाएको छ ।
पीडित महिलाको भक्तपुरमा उपचार
स्तन क्यान्सरबाट पीडित महिलाको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनलाई क्यान्सर पहिलो चरणमा रहेकोले अहिलेसम्म दुईपटक किमोथेरापी गरिएको छ । थप एकपटक थेरापी गरिएपछि अवस्था हेरेर शल्यक्रिया गरिने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ । धनकुमारीको उपचारका लागि आठ लाख खर्च लाग्ने जनाएको अस्पतालले स्थानीय तहको सिफारिसका आधारमा एक लाख रुपैयाँ विपन्न नागरिक उद्धार कोषबाट उपलब्ध हुने जनाएको छ ।
थप सहयोगको अपेक्षा
धनकुमारीका श्रीमान् रामबहादुर मगरका अनुसार हालसम्म चार लाख ५० हजार रकम विभिन्न दाताहरूबाट प्राप्त भएको छ । रामबहादुरले श्रीमतीको उपचारका लागि अझै दुई लाख ५० हजार रकम अपुग रहेको जनाएका छन् । उक्त रकम जुटाउन आफूले नसक्ने भन्दै रामबहादुरले थप सहयोगको अपेक्षा गरेका छन् ।
धनकुमारी मगरको महालक्ष्मी विकास बैंक चरिकोट शाखामा रहेको खाता नम्बर ०५३१०२००२८५१८१०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने रामबहादुरले बताए ।