कोभिड– १९ को संक्रमण बढ्दै गएपछि नारायण नगरपालिका र सबै वडा कार्यालयका सेवा बन्द गरिएका छन् । बिहीबार नगरप्रमुख रत्नबहादुर खड्कासहित १२ जना र शुक्रबार वडा नम्बर १ का कार्यालय सचिवलगायत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका र सबै वडा कार्यालय बन्द गरिएका हुन् ।
१६ गतेदेखि एक सातासम्मका लागि कार्यालयका सबै काम बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले जानकारी दिए । पछिल्ला दिनमा निर्वाचित जनप्रतिनिधि, वडामा कार्यरत कर्मचारी र वडाका जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएकाले समुदायसम्म कोरोना फैलन नदिन सेवा बन्द गरिएको नगरपालिकाबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले नगरवासीलाई सुरक्षित रहन नगरपालिकाले सूचना जारी गर्दै आएको छ । नगरका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नगरपालिकाले अनुरोध गरेको छ ।
कोरोना संक्रमण बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय दैलेखका सेवा पनि कटौती गरिएको छ । कर्मचारीमा संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको हो । कर्मचारीमार्फत सेवाग्राहीसँग सहजै कोरोना संक्रमण फैलन सक्ने र संक्रमण दर बढ्दै जाने भएपछि आइतबारदेखि अर्को सूचना प्रकाशन नहुन्जेल सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।
दैलेख सदरमुकामभित्र काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यापारी र होटेल व्यवसायीमा तीव्र रूपमा कोरोना फैलिएको छ ।