जनताको जीवन र जीविका रक्षा मुख्य प्राथमिकतामा : अर्थमन्त्री पौडेल

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको ‘जीवन र जीविका’ रक्षा नै सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग भएको छलफलमा उनले कोभिड–१९ कै कारण जनताको जीवन र जीविका जोखिममा नपरोस् भन्नेतर्फ सरकारको विशेष ध्यान रहेको बताएका हुन् । ‘कोभिडको परीक्षण नपाएर, उपचार नपाएर जनताले जीवन गुमाउनुनपरोस्, जीवन जोखिममा नपरोस् भन्ने हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘मानिस बाँचेर मात्रै पुग्दैन, उसको जीविका पनि चल्नुपर्छ, हामी अहिलेको परिस्थितिको सीमाभित्र रहेर जनताको जीवन र जीविकाको रक्षा गर्छौँ ।’ यसका लागि हिजो गरिएका नीतिगत निर्णयको प्रभावकारी कार्यान्वयन गर्ने र अभ्यास अनुभवका आधारमा थप नयाँ नीतिहरू लिने उनले बताए ।

अर्थतन्त्रमा संकुचन आएको छ, पुनरुत्थान गर्छौँ
अर्थमन्त्री पौडेलले कोभिड–१९ का कारण अर्थतन्त्रमा संकुचन आएको बताउँदै पुनरुत्थानका नीति लिने बताए । ‘कोभिड महामारीको प्रभाव विश्वव्यापी छ, यो समस्त मानव जातिको साझा समस्या हो, संयुक्त प्रयासबाट मात्रै यो चुनौतीलाई परास्त गर्न सकिन्छ,’ उनले भने, ‘हाम्रो अर्थतन्त्र सानो छ, यसको चरित्र विशिष्ट छ, यसमा देखिएको संकुचनलाई पनि हामी साझा प्रयासबाटै पुनरुत्थान गर्न सक्छौँ ।’ सरकारले अघि सारेका नीतिको प्रभावकारी कार्यान्वयनबाट उत्पादन र रोजगारी बढाउँदै आर्थिक संकुचनबाट बाहिर आउने प्रयासमा रहेको उनले बताए ।

कोभिडले मुलुकमा प्रत्यक्ष रूपमा उत्पादन र रोजगारी प्रभावित भएको उल्लेख गर्दै उनले सोही कारण समस्त आर्थिक क्रियाकलपमा संकुचन देखा परेको बताए । ‘अहिले हामीले कोभिडकै बीच हामी रोजगारीका अवसरहरू कसरी सिर्जना गर्न सक्छौँ, उत्पादन कार्यलाई कसरी अघि बढाउन सक्छौँ भन्नेतर्फ ध्यान दिएका छौँ,’ उनले भने, ‘कोभिडलाई कुन रूपमा र कहिलेसम्म सामना गर्नुपर्ने हो भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले यही प्रतिकूल अवस्थामा पनि स्वास्थ्य सजगता अपनाउँदै उत्पादन वृद्धि गर्ने, रोजगारीबाट विमुख हुन नदिने र रोजगारी सिर्जना गराउनेतर्फ हाम्रो ध्यान छ ।’ आर्थिक क्रियाकलापलाई चलायमान र गतिशील बनाउँदै आर्थिक पुनरुत्थान गर्ने सरकारको नीति भएको उनले बताए । 

सुझावित समाचार