मन्दिरहरू बन्द गरिएपछि कुभिण्डोको मूल्य घट्यो

आइतबार, ९ कार्तिक, २०७७
डिजिटल संस्करण

बजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण मठमन्दिरहरू सर्वसाधारणका लागि बन्द छन् । 

नवरात्रिमा मन्दिर गई कुभिण्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ । तर, भक्तालुहरूका लागि मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दसैँमा कुभिण्डोको माग घटेको छ । 

कुभिण्डो खासगरी नवरात्रिको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशुबलि नदिनेहरूरुले कुभिण्डो बलि दिनका लागि प्रयोग गर्ने चलन रहेको छ । 

तर, यस वर्ष कोभिड संक्रमणका कारण मठमन्दिरलगायत शक्तिपीठहरूमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिण्डोको माग घटेको छ । 

माग घटेपछि मूल्य पनि घटेको र बिक्री निकै घटेको व्यापारीहरूले बताएका छन् । गत वर्ष एउटा कुभिण्डो झन्डै चार सय रुपैयाँमा बिक्री भएको, तर यस वर्ष एक सयदेखि एक सय ५० रुपैयाँमा पनि बिक्री हुन नसकेको व्यापारीले बताएका छन् ।

काठमाडौंको आरएनएसी क्षेत्रमा पुग्दा व्यापारीले सडकमा कुभिन्डो बिक्रीका लागि राखेको देखिन्छ, तर कुभिण्डो किन्नेहरुरू भने देखिँदैनन् । 

अघिल्लो वर्ष दुई–तीन सयको संख्यामा कुभिण्डो बिक्री भएको, तर अहिले १०–१५ वटा पनि बिक्री नभएको व्यवसायीहरूको भनाइ छ ।

सुझावित समाचार