भारतीय बिरामी नआउँदा आँखा अस्पताल सुनसान

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल–भारत सीमानाका बन्द गरिएको छ । जसले गर्दा भारतीय बिरामी नआएपछि विराटनगरका आँखा अस्पताल सात महिनादेखि सुनसान बनेका छन् । विराटनगरमा विराटनगर, विराट, दीपज्योति, गोल्छा र तापडिया आँखा अस्पताल सञ्चालनमा छन् । यहाँका अस्पतालमा ९५ प्रतिशत बिरामी भारतीय हुन्छन् । सामान्य अवस्थामा भिडमभिड हुने अस्पताल नाका बन्द भएपछि सुनसान बनेका हुन् । 

सामान्य अवस्थामा विराटनगरका आँखा अस्पतालमा दैनिक तीन हजार भारतीय बिरामी आउने गरेका थिए । तर, अहिले सबै अस्पतालमा गरी पाँच सयजना बिरामी पनि उपचारका लागि नआउने गरेको विराट आँखा अस्पतालका प्रबन्ध निर्देशक राजकुमार मण्डलले बताए । 

यहाँको सबैभन्दा ठूलो विराटनगर अस्पतालका प्रमुख सुधीर ठाकुरका अनुसार कोरोना महामारीभन्दा अघि दैनिक दुई हजार बिरामी उपचारका लागि आउने गरेका थिए । उनीहरूमध्ये धेरैजसो भारतको बिहारका हुन् । कोरोनाका कारण सीमानाका बन्द भएपछि अस्पताल ठप्प भएको उनले बताए । ‘नाका बन्द भएपछि ६ महिना अस्पताल ठप्पै भयो । लकडाउन खुलेपछि दैनिक ५०–६० जना नेपालकै बिरामी आइरहेका छन्,’ ठाकुरले भने । 

त्यस्तै, थापानिवासमा रहेको विराट र दीपज्योति तथा विराटनगर बजारमा रहेको गोल्छा र तापडिया आँखा अस्पतालको अवस्था पनि उस्तै छ । भारतीय बिरामी आउन नपाएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी बेरोजगार भएका छन् । उनीहरूलाई अस्पतालले कटौती गरेर बेतलबी बिदामा राखेको छ । 

भारतीय बिरामी आउन छाडेपछि आँखा अस्पतालआसपासमा चस्मा र औषधि पसलेको मात्र नभएर होटेल, लज सञ्चालन गर्ने र बिरामी ओसारपसार गर्ने ट्याम्पो, ट्याक्सी व्यवसायीको कारोबार पनि शून्य भएको छ । चस्मा र औषधि पसलेलाई घरभाडा तिर्न सक्ने अवस्थासमेत नभएको गोल्छा आँखा अस्पतालका चस्मा पसल सञ्चालक तेजलाल कर्णले बताए ।

बिरामी आउन छाडेपछि सञ्चालन गर्दै आएको लज बन्द भएकाले जीविकोपार्जनका लागि आफूले टेलर सञ्चालन गर्न थालेको विराटनगर आँखा अस्पतालअगाडि होटेल लज सञ्चालन गर्दै आएका सूर्य नेपालीले बताए । उनका अनुसार बिरामी आउन छाडेसँगै व्यवसाय धराशयी भएकाले अन्य व्यवसायीले पनि पेसा परिवर्तन गर्न थालेका छन् । 

विराटनगरका आँखा अस्पतालमा दक्ष चिकित्सकबाट आँखा जाँच गरेर औषधि दिने, आवश्यक चस्मा सिफारिस गर्ने मात्र नभएर मोतिया बिन्दुदेखि अन्य जटिल प्रकारका सफल अप्रेसन पनि हुँदै आएका छन् । आधुनिक प्रविधिबाट आँखाको अप्रेसन गरिने र उपचार सस्तो पनि भएकाले भारतीय बिरामी धेरै आउने गरेका हुन् । 

सुझावित समाचार