नक्कली प्रमाणपत्र मुद्दामा पूर्वडिएसपी दोषी ठहर, पाँच हजार जरिवाना

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको अभियोग लागेका नेपाल प्रहरीका पूर्वडिएसपी अरुणकुमार शाह दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ माघमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । पटनाको बिडी इभिनिङ कलेजबाट स्नातक उत्तीर्ण गरेकाे प्रमाणपत्र पेस गरेर उनी इन्स्पेक्टरमा भर्ना भएका थिए । आयोगले उनीविरुद्ध उजुरी परेपछि छानबिन हुँदा उनले त्यहाँ पढ्दै नपढेको र नक्कली सर्टिफिकेट पेस गरेको पुष्टि भएको थियो । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले बुधबार उनलाई दोषी ठहर गरेको हो । 

असइलाई २० दिन कैद 
त्यस्तै घुससहित पक्राउ परेका असइ पदमबहादुर कटवाल पनि दोषी ठहर भएका छन् । न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रुपाखेती, रवि शर्मा अर्यालको इजलासले उनलाई २० दिन कैद र सात हजार जरिवानाको फैसला गरेको हो ।  

गत वर्ष असारमा उनी घुससहित रंगेहात पक्राउ परेका थिए । प्रहरी चौकी भोक्राहामा कार्यरत रहेको वेला वन कार्यालयबाट पक्राउ पुर्जी आएको भन्दै तर्साएर घुस लिएका थिए ।

सुझावित समाचार