दसैँमा एयरलाइन्सलाई छैन रौनक, उडान बढे यात्रु घटे

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

दसैँ सुरु हुन एक साता मात्रै बाँकी भए पनि विगतका वर्षहरूमा जहाजमा अग्रिम टिकट लिनेको संख्या प्रायः शून्य नै रहेको छ । १५ असोजदेखि सरकारले उडान संख्या थप गर्न दिए पनि यात्रुको संख्या १० प्रतिशत घटेको कम्पनीहरूले जनाएका छन् । यात्रु नआएपछि एयरलाइन्स कम्पनीहरूले उडान थप्न चासो नै देखाएका छैनन् । उनीहरूका अनुसार अहिलेको यात्रु दसैँकेन्द्रित भन्दा पनि नियमित उडान पनि नपुग्ने अवस्थामा छन् । हेलिकोप्टर कम्पनीहरूले पनि केही बिरामी उद्धारबाहेक बिजनेस नै पाउन सकेका छैनन् । विगतमा दसैँको सिजनमा हेलिकोप्टर कम्पनीहरूले नेपाली यात्रु पनि उल्लेख्य रूपमा ओसार्ने गर्थे । विगतमा दसैँको सिजनमा बुद्ध एयरले मात्रै दैनिक ५० भन्दा बढी उडान गर्ने गरेको थियो । तर, यसपालि दसैँमा यात्रुको बुकिङ आउने देखिएको छैन । 

चाडबाडकै लागि भनेर अग्रिम टिकट बुकिङ गर्ने यात्रु अहिलेसम्म नदेखिएकाले दसैँमा उडान थप हुन कठिन रहेको बुद्ध एयरका प्रवक्ता रूपेश जोशी बताउँछन् । ‘उडान केही बढाएका छौँ, तर अब दसैँका लागि भनेर बढाउनुपर्नेजस्तो देखिएन,’ जोशीले भने । विगतका वर्षहरूमा दसैँ तथा तिहारमा अत्यधिक चाप हँुदा टिकट नै दिन नसक्ने अवस्था हुने गरेकोमा यसपटक नियमित टिकट पनि सस्तोदरमै बिक्री गर्नुपरेको प्रवक्ता जोशी बताउँछन् । विगतमा एयरलाइन्स कम्पनीहरूले दसैँको समयमा महँगो मात्रै टिकट बिक्री गर्ने गरेका थिए । अहिले काठमाडौं आउनेको संख्या घटेको र काठमाडौंबाट जानेको संख्या भने केही बढेको जोशीले बताए । बुद्ध एयरले बिहीबार मात्रै ३१ वटा उडान गरेको छ । 

पहाडी तथा हिमाली क्षेत्रमा उडान गर्ने एयरलाइन्सहरूले अझै यात्रु नै पाउन सकेका छैनन् । केही गाउँपालिका तथा जिल्लाहरूले पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दा पनि हिमाली क्षेत्रमा यात्रु बढ्न सकेका छैनन् । अहिले लुक्ला, डोल्पा, मनाङलगायत क्षेत्रमा जान पिसिआर अनिवार्य गरिएको छ । रारा जानका लागि भने मंगलबारदेखि अनिवार्य पिसिआर परीक्षणको रिपोर्ट हटाइएको छ । कोभिड–१९ का कारण आन्तरिक उडानमा विगतका वर्षझैँ दसैँको माहोेल नबनेको वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता योगराज कँडेल बताउँछन् ।

विगतमा दसैँका समयमा बुद्धले ५०, श्रीले १५, यतीले ३० वटा दैनिक रूपमा उडान गर्ने गरेका थिए । अन्य एयरलाइन्स कम्पनीले पनि दैनिक दर्जनौँ उडान गर्ने गरेका थिए । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिकतर्फको उडान ५ असोजदेखि खुलाएको थियो । 

विभिन्न गन्तव्यमा दैनिक सातवटा उडान गर्दै आएको श्री एयरलाइन्सले पनि प्रायः गन्तव्यमा एकतर्फी उडानमा मात्र यात्रु अकुपेन्सी रहेको जनाएको छ । बिहीबारदेखि दैनिक १५ उडान अनुमति पाएको श्रीले धनगढी, नेपालगन्ज,  भैरहवा, विराटनगर र भद्रपुरलगायतका गन्तव्यमा उडान गर्दै आएको छ । कम्पनीले जनकपुर, सिमरा, पोखरा र राजविराजलगायत गन्तव्यमा उडान गर्न सकेको छैन । यती, तारा, समिट, सिम्रिक, सीता एयरलाइन्सले पनि दसैँको उडान थप गर्न सक्ने जनाएका छन् । 

निगमका महाप्रबन्धकमा पौडेल नियुक्त
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले चार वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केही महिनाअघि उनलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए । निगमको महाप्रबन्धक हुने भएपछि केही दिनअघि उनले बतास अर्गनाइजेसनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए । 

सुझावित समाचार