सरकारलाई संसदीय समितिको निर्देशन– निर्देशिका बनाई पर्यटनसँग सम्बन्धित सेवा सञ्चालन गराउनू

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशिका बनाई विमानस्थल, विमानसेवा तथा होटेल व्यवसाय सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले कोभिड– १९ का कारण पर्यटन क्षेत्रमा परेको असरको विश्लेषण गर्दै यस क्षेत्रका क्रियाकलापलाई कोरोना संक्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपायहरूसमेत समावेश गरी निर्देशिका बनाई विमानस्थल, विमानसेवा र यससम्बन्धी सेवा तथा होटेल व्यवसाय सञ्चालन गर्ने स्थिति बनाउन सरकारलाई निर्देशन दिएको हो । 

समितिले भनेको छ, ‘कोभिड– १९ का कारण पर्यटन क्षेत्रमा परेको असरको विश्लेषण गर्दै यस क्षेत्रका क्रियाकलापलाई कोरोना संक्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपायसमेत समावेश गरी निर्देशिका बनाई जारी गर्ने । सोहीअनुरूप विमानस्थल, विमानसेवा र यससम्बन्धी सेवा तथा होटेल व्यवसाय सञ्चालन गर्ने स्थिति बनाउने ।’

त्यस्तै, समिति बैठकले राष्ट्रिय हवाई नीति, २०६३ मा समयसापेक्ष अद्यावधिक एवं संशोधन गरी प्रतिस्पर्धाको माध्यमबाट भूमिस्थ प्रबन्धसम्बन्धी निर्णय गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण वा आकस्मिक उद्धार कार्य गर्नुपर्ने अवस्थामा सम्बन्धित संस्थाको अनुरोध तथा स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयले यथाशीघ्र हेलिकाेप्टर उडान अनुमति दिने व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सुझावित समाचार