नक्कली प्रहरी निरीक्षक बर्दीमै पक्राउ

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

पर्सा प्रहरीले बर्दीमै नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ ।

बुधबार बर्दी लगाएर लोकसेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने नक्कली प्रहरी निरीक्षक बारा जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेको पर्सा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार रायले नेपाल प्रहरीको निरीक्षकको बर्दी लगाएर लामो समयदेखि सक्रिय रहेर विभिन्न ठाँउमा सहभागी भएका छन् । 

पक्राउ परेका राय करिब एक वर्षदेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू प्रहरी निरीक्षक भन्दै ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

पक्राउ परेका राय वीरगन्ज– १६ स्थित देवपार्टी प्यालेसमा परीक्षा सञ्चालन गरेर विभिन्न व्यक्तिहरूबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको एसपी पन्तले बताइन् ।

पक्राउ परेका रायको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेशपत्र थान– २, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेशपत्र थान–२१, तिनको प्रश्नपत्र थान–२६, खरिदारको प्रवेशपत्र थान–१ बरामद भएको उनले बताइन् ।

रायसँगै प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका– ५ का ५७ वर्षीय हिरालाल महतो, वर्ष २८ को वसन्त चौधरी, पर्सा वीरगन्ज महानगरपालिका– १६ का २१ वर्षीय रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका– ५ का ४७ वर्षीय शिवनारायण चौरसिया र वीरगन्ज– २७ रानीघाटका २५ वर्षीय रामजी चौरसियासमेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । 

पक्राउ परेका राय यसअघि सरकारी छाप दस्तखत किर्ते मुद्दामा पुर्पक्षका लागि तीन महिना २० दिन वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरेका थिए ।

सुझावित समाचार