भारतमा कोरोना भाइरस (कोभिड– १९) महामारी सुरु भएदेखि बन्द रहेका विद्यालय सोमबारबाट आंशिक रूपमा खुल्न थालेका छन् । भारतमा कोरोना संक्रमण अझै नियन्त्रणबाहिर नै भए पनि सरकारले आवश्यक सुरक्षा उपायसहित विद्यालय खोल्ने प्रयास गरेको हो ।
भारत सरकारले पहिलो चरणमा कक्षा नौदेखि १२ सम्मको पढाइका लागि मात्रै विद्यालय खोल्ने अनुमति दिएको छ । यद्यपि, सरकारले यस सम्बन्धमा विद्यालय र विद्यार्थीलाई स्वेच्छिक निर्णय गर्न सक्ने जनाएको छ ।
सरकारले खोल्न अनुमति दिए पनि त्यसको अन्तिम निर्णय विद्यालयले गर्नेछ । साथै, विद्यार्थी पनि स्वैच्छिक रूपमा पढाइका लागि विद्यालय जानेछन् । विद्यालय जानुअघि अभिभावकले सम्बन्धित निकायमा लिखित अनुमति दिनुपर्नेछ ।
भारतको गृह मन्त्रालयले आजैबाट अनलाइन कक्षा सञ्चालनका लागि पनि शिक्षक र अरू गरी ५० प्रतिशत कर्मचारीलाई एकैपटक विद्यालयमा बोलाउन सक्ने अनुमति दिएको छ । केन्द्रीय सरकारले सुरक्षित रूपमा विद्यालय खोल्ने जिम्मेवारी सम्बन्धित राज्य सरकारलाई दिएको छ ।
सोमबार भारतमा कहाँ–कहाँ विद्यालय खुले ?
सरकारको अनुमतिसँगै जम्मु–कस्मिरमा सोमबारबाटै विद्यालय खुलेको छ । कक्षा नौदेखि १२ सम्मका विद्यार्थी पाँच महिनापछि पढाइका लागि सोमबार विद्यालय पुगेका छन् । विद्यालय जानुअघि सबै अभिभावकले आफ्ना नानीबाबुलाई विद्यालय पठाउन लिखित रूपमै अनुमति दिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
यस्तै, आसाममा पनि सोमबारबाटै विद्यालय खुलेका छन् । कोरोना भाइरस संक्रमण फैलिएको पाँच महिनापछि पहिलोपटक पढाइका लागि विद्यालय पुगेकी आसामकी एक विद्यार्थीको भनाइलाई टाइम्स अफ इन्डियाले उद्धृत गरेको छ, ‘विद्यालय खोल्ने सरकारको निर्णयले निक्कै खुसी दिएको छ । हामी सरकारले घोषणा गरेको कोभिड– १९ विरुद्धको सबै निर्देशन पालना गर्ने छौँ ।’
चन्डीगढमा पनि सोमबारबाटै कक्षा नौ र १२ का विद्यार्थी विद्यालय जान थालेका छन् । यस्तै, श्रीनगरमा पनि आजैबाट विद्यालय खुलेको छ । हिमाञ्चल प्रदेशमा पनि विद्यालय खुलेका छन् । केन्द्रीय सरकारले जारी गरेको सुरक्षा उपाय र अभिभावकको लिखित अनुमतिसहित विद्यार्थी विद्यालय पुगेका छन् ।
दिल्लीमा सबै विद्यालय आगामी ५ अक्टोबरसम्म नखुल्ने भएका छन् । भाइरस संक्रमण बढिरहेका कारण दिल्लीमा तत्काल विद्यालय खोल्न नसकिने दिल्ली सरकारले घोषणा गरेको हो । दिल्ली सरकारले भनेको छ, ‘दिल्लीमा रहेको सबै सरकारी र निजी विद्यालय आगामी ५ अक्टोबरसम्म खुल्ने छैनन् । त्यो समयसम्म अनलाइन कक्षा सन्चालन हुनेछ ।’
यस्तै, बिहारमा पनि सोमबार विद्यालय खुलेको छैनन् । बिहार सरकारले यस सम्बन्धमा मंगलबार निर्णय गर्ने राज्य सरकारको शिक्षा विभागका प्रिन्सिपल सेक्रेटरी सञ्जय कुमारले जनाएका छन् ।