भारतद्वारा दुई हजार भाइल रेम्डेसिभिर प्रदान

मंगलबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

भारतले नेपाललाई कोरोनाविरुद्ध लड्न दुई हजार भाइल रेम्डेसिभिर उपहारस्वरूप प्रदान गरेको छ । 

भारत सरकारको तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार  भाइल रेम्डेसिभिर औषधि हस्तान्तरण गरेका हुन् । 

कोभिड– १९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोगअनुरूप उक्त औषधि हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ । 

यसअघि गत १० वैशाखमा प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायतका अत्यावश्यक औषधि, ४ जेठमा कोभिड– १९ टेस्ट किट र २५ साउनमा आइसियू भेन्टिलेटरजस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोगस्वरूप प्रदान गरिसकेको दूतावासले जनाएको छ । 

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर एक प्रभावकारी औषधि हो । 

चिकित्सा अध्ययनका अनुसार यो औषधिको प्रयोगले बिरामीहरूको अस्पताल बसाइ अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रूपमा सघाउ पुऱ्याउँछ ।

सुझावित समाचार