नेप्सेको कारोबार प्रणालीमा दुईपटक समस्या

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

कारण अझै अज्ञात, पुरानै समस्या बल्झिएको शंका

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणालीमा एकै दिन दुईपटकसम्म समस्या आएर केही समयलाई कारोबार स्थगित गर्नुपरेको छ । नियमित कारोबार समय पुर्याउन बिहीबार साँझ पाँच बजेसम्म कारोबार सञ्चालन गरिएको थियो । 

समस्या जहाँको तहीँ, दोष एक–अर्कोलाई 
पछिल्लो समय नेप्सेको कारोबार प्रणालीमा पटक–पटक समस्या आउन थालेको छ । लगानीकर्ताले अनलाइनमार्फत दिएको आदेश लिन समस्या हुने तथा ब्रोकरहरूको मात्र नभई नेप्सेकै सर्भर नचल्ने समस्या आइरहेको छ । बिहीबार के कारणले समस्या आएको हो, नेप्सेले अहिलेसम्म पहिल्याउन सकेको छैन । ‘हाम्रो कारोबार प्रणाली जडान गर्ने नेपाली कम्पनी वाइकोसँग सोधेका छौँ,’ नेप्सेका वरिष्ठ प्रबन्धक नीरञ्जन फुँयालले भने, ‘२१ साउनमा समेत यस्तै किसिमको समस्या आएको थियो, त्यही समस्या हो कि भन्नेछ ।’

२१ साउनमा नेप्सेका तीनवटै सर्भर चलेका थिएनन् । बिहीबार भने कुनै ब्रोकरकोमा आदेश प्रविष्टि नभएपछि किनबेच आदेश चाङ लाग्दा सबै ब्रोकरका सर्भरमा समस्या आएको अनुमान नेप्सेले गरेको छ । हाल ५–६ ब्रोकरले एउटै सर्भर चलाउने गरेकाले पनि क्षमता नपुगेको हुन सक्ने फुँयालले बताए । नेप्सेका अनुसार एउटा ब्रोकरमार्फत दिइने किनबेच आदेश सबै ब्रोकरको प्रणालीमा देखिनुपर्ने र सोपछि मात्रै कारोबार हुन सक्ने व्यवस्था रहेको छ । नेप्से र ब्रोकर सबैले प्रविधिमा क्षमता बढाउनुपर्ने देखिएको बुझाइ नेप्सेको छ । 

ब्रोकरहरूले भने यो समस्या ब्रोकरको कारण मात्र नभएको दाबी गरेका छन् । ‘अहिले जे समस्या हुँदा पनि ब्रोकरलाई देखाएर नेप्से पन्छिने गरेको छ,’ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले भने, ‘हाम्रा आठ–दश ब्रोकरले क्षमता बढाएर हेर्दा पनि समस्या समाधान नभएको पायौँ, यदि तथ्यांक केन्द्रमा समस्या हुन्थ्यो भने सबैमा कारोबार रोकिँदैनथ्यो ।’ यसअघि जस्तै लगानीकर्ताको आदेश दोहोरिँदा उनीहरूसँग भएको भन्दा धेरै सेयरको कारोबार हुन पुगेको छ । यसअघि भएका ती कारोबार रद्द गरिएको थियो । गल्तीमा ब्रोकरले नेप्सेलाई र नेप्सेले ब्रोकरलाई देखाउने प्रवृत्तिले समस्या समाधान भएको छैन भने लगानीकर्ताले हैरानी व्यहोर्नुपरिरहेको छ । 

अन्तरदिनमा नेप्से १५३२ मा
नेप्से परिसूचक अन्तरदिनमा १ हजार ५ सय ३२ सम्म पुगेको छ । कारोबार अन्त्यमा भने वृद्धि १२ अंकमा सीमित भएर परिसूचक १ हजार ५ सय २० मा रोकिएको छ । तरलताले निर्देशित गरेको बजारमा सामूहिक लगानी कोष, व्यापारमूलक र होटेल समूहबाहेक सबै समूहमा सुधार भएको छ । यस दिन २ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । निर्जीवन बिमा कम्पनीको समूहगत परिसूचक १ वर्षकै उच्च बिन्दुमा आइपुगेको हो । यो समूहको परिसूचक ८ हजार ३८ मा पुगेको छ । लघुवित्त, जीवन बिमा कम्पनीको समूहगत परिसूचक १ वर्षको उच्च बिन्दुआसपास आइसकेको छ । 

लघुवित्त कम्पनीहरू मर्जरमा जाने खबरले पनि यी कम्पनीहरूको मूल्य बढ्न थालेको छ । प्राथमिक निष्कासन नगरेका कम्पनी र गरिसकेका लघुवित्त मर्जरमा जाने र थप सेयर (एफपिओ) निष्कासन गर्ने परिपाटी मौलाएपछि लगानीकर्ता आकर्षित भएका हुन् । एफपिओमा प्रिमियम मूल्य पाउँदा अंकित मूल्य (१ सय)का अतिरिक्त मूल्य बोनस सेयर दिन प्रयोग हुने भएकाले आकर्षण बढेको हो । यद्यपि, धेरै लघुवित्त कम्पनीको मूल्य उच्च भइसकेका छन् । 

त्यस्तै, बैंकहरूमा पर्याप्त तरलता भइरहेको समयमा राष्ट्र बैंकले कल निक्षेपको ब्याजदरमा थप कडाइ गरेको छ । कुनै समय ११ प्रतिशतसम्म ब्याजदर दिने गरिएको यस्तो निक्षेपमा गत वर्षबाट साधारण बचतसरह बनाउन निर्देशन दिएको राष्ट्र बैंकले यसलाई साधारण बचतको ब्याजभन्दा आधा बनाउन भनेको छ । जहिले आवश्यक पर्छ, झिक्न सकिने यस्तो निक्षेपको ब्याजदरसमेत घट्ने भएपछि यसले समेत बजारलाई फाइदा पुगेको छ । हाल साधारण बचतको ब्याजदर ३–४ प्रतिशत हाराहारी छ । निक्षेपको ब्याजदर घट्दा र कर्जा सुलभ हुँदा सेयर बजारलाई फाइदा पुगेको छ । 

यसअघि खुलामुखी सामूहिक लगानी कोषका योजनाले ग्राहकबाट इकाइ पुनः खरिद गर्दा लिने शुल्क आयका रूपमा योजना व्यवस्थापकमा रहने गरेको भए पनि यसलाई धितोपत्र बोर्डले नियन्त्रण गरेको छ । बोर्डले कोषसम्बन्धी नियमावलीमा संशोधन गर्दै यस्तो आम्दानी योजनामा नै रहनुपर्ने व्यवस्था गरेको हो । यसले योजनाका इकाइधनी लाभान्वित हुने भएका छन् ।

See More On

सुझावित समाचार