नेप्से परिसूचक ७ दशमलव ३५ अंकले बढेर १ हजार ४ सय ९५ बिन्दुमा पुगेको छ । अन्तरदिनको कारोबारमा नेप्से परिसूचक १ हजार ५ सय बिन्दुसम्म पुगेको भए पनि त्यहाँबाट ओर्लिएको हो । केही समयलाई १ हजार ५ सयको बिन्दु मनोवैज्ञानिक तह नै बन्ने देखिएको छ । बजारमा प्रवाह हुने कुनै पनि सकारात्मक खबरले भने यो बिन्दुलाई पार गर्नेछ ।
यसअघिका दिन २ अर्ब रुपैयाँमाथिसम्म दैनिक कारोबार हुँदै आएकोमा यो तहबाट लगानी घटेको छ । मंगलबार १ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको हो । केही दिन घटेको बजारमा सुधारको संकेत देखिए पनि अझै स्पष्ट संकेत भने गरेको छैन ।
व्यापारमूलक, लघुवित्त, जलविद्युत् र उत्पादनमूलक समूहमा उच्च दरमा वृद्धि भएको छ । वाणिज्य बैंक (बैंकिङ) र होटेल समूहमा मात्रै गिरावट आएको छ ।
पहिलो कारोबारका लागि १ सय ७ देखि ३ सय २२ को मूल्य रेन्ज पाएको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ५ दशमलव ५ प्रतिशतले मूल्य बढेर ३ सय ४० रुपैयाँमा अन्तिम कारोबार भइरहेको छ । यस दिन ९९ कम्पनीको मूल्य बढेर र ६३ कम्पनीको मूल्य घटेर कारोबार भएको छ भने २८ कम्पनीको मूल्य स्थिर छ । बजारमा पुनः खरिद चाप बढेको १४ दिने आरएसआई सूचकले देखाउँछ । यो सूचक ७५ बिन्दुमा छ । ७० माथि सूचक रहे अधिक खरिद क्षेत्रमा रहेको मानिन्छ ।
विगत तीन दिनको कारोबारमा नेप्से लगातार कालो मैनबत्ती आकृतिमुनि अन्तिम दिन सानो सेतो शरीरसहितको डोजी स्टार बनेको छ । यसले प्रवृत्ति परिवर्तन भएर बजार संकेत गरे पनि यो दरिलो संकेत भने होइन ।
नागरिक लगानी कोषले १ बराबर शून्य दशमलव ८२ प्रतिशत हकप्रदको प्रस्ताव धितोपत्र बोर्डमा दर्ता गराएको छ । यही कारण मंगलबार कम्पनीको सेयर मूल्य ६ प्रतिशतले वृद्धि भएको छ । मंगलबार सपोर्ट लघुवित्तको ६० हजार कित्ता बोनस सेयर र सिभिल लघुवित्तको ५७ हजार कित्ता सेयर सूचीकृत गरेको छ ।
नबिकेको सेयर किन्न कर्जा नपाइने
यसैबीच राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै प्राथमिक सेयर बिक्री नभएको आठौँ दिनबाट बैंक तथा वित्तीय संस्थाले कर्जा दिन पाउने यसअघिको व्यवस्था हटाएको छ । यससँगै प्राथमिक सेयर बिक्री हुन नसके लगानीकर्ताले स्वपुँजी हालेर किन्नुपर्ने भएको हो ।