सातामा करिब १२ अर्बको कारोबार, ६० अंकले बढ्यो नेप्से

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

लगानी क्षेत्र अभावका कारण वृद्धि भइरहेको बजारमा गत साता २२ प्रतिशतले वृद्धि भएर ११ अर्ब ९० करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो साता ९ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । 

गत साता ५० अंक जोड्दै सेयर बजार १ हजार ५ सय १० अंकमा बन्द भएको छ । अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडाले निरन्तरता पाउने–नपाउने विषयलाई लगानीकर्ताले रणनीति बनाएपछि अन्तिम दिन बजार स्थिर देखिएको थियो । खतिवडाको बहिर्गमनसँगै सेयर बजार बढ्नेमा लगानीकर्ता आशातीत देखिएका छन् । नेप्से परिसूचक २ वर्ष ९ महिनाकै उच्च बिन्दु (१६३२) नजिक आइपुगेको छ । 

तरलताले बजारको वृद्धिमा सहयोग पुग्दै आइरहेकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनिरहेको छ । सकारात्मक मनोविज्ञानका कारण बजार बुलिस प्रवृत्तिमा देखिएको छ । बजारले तत्काललाई १ हजार ५ सय ३० बिन्दुमा सामान्य प्रतिरोधको सामना गर्ने सम्भावना छ भने १ हजार ६ सय ३२ लाई लक्ष्य बनाएर अगाडि बढिरहेको छ । केही दिनअघि मात्रै २१ दिने मुभिङ एभरेजलाई काटेर ७ दिने रेखा अघि बढेको छ । यसले बुलिस प्रवृत्ति कायमै रहेको देखाउँछ ।

नेप्सेको मैनबत्ती चित्रले भने बजार लगानी गर्नुअघि आइतबारको पहिलो सत्रको कारोबार हेर्नु सही हुने संकेत गरेको छ । साताको अन्तिम दुई दिनमा पहिलो दिन डोजी स्टार र दोस्रो दिन कालो सानो शरीर भएको मैनबत्ती आकृति बनेको छ । यसले परिसूचकको आगामी गतिलाई लिएर लगानीकर्तामा अन्योल देखिएको संकेत गर्छ । यसले बजारको बढ्दो प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गरिरहेको छ । तर, यो दरिलो संकेत भने होइन । आइतबारको पहिलो सत्र हेरेर लगानी गर्नु सही हुनेछ । 

सातामा सेयर संख्या र रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै कारोबार भयो । कम्पनीको २० लाख २४ हजार कित्ता सेयर किनबेच भएर १ अर्ब ७२ करोड रुपैयाँको कारोबार भयो । कारोबार संख्याका आधारमा एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको धेरैपटक सेयर किनबेच भयो । 

गत साता बजारमा ३४ लाख ९१ हजार कित्ता सेयर थपिएको छ । सामुदायिक लघुवित्त बोनस र शिखर इन्स्योरेन्सको हकप्रद सेयर सूचीकरण भएको हो । 

सुझावित समाचार