मेलुङ गाउँपालिकामा खानेपानी आयोजना माग्न आएका उपभोक्तालाई अनावश्यक लाञ्छना लगाएर मुद्दा लगाएको भन्दै विरोधस्वरूप कांग्रेस कार्यकर्ताले चरिकोटमा प्रदर्शन गरेका छन् । मेलुङ गाउँपालिका– ४ भेड्पुका बासिन्दाले संघीय सरकारबाट परेको खानेपानी आयोजनाले सबै बस्तीलाई समेट्नुपर्ने माग गर्दा गाउँपालिकाले उल्टै पक्रन लगाएर मुद्दा चलाएको भन्दै कांग्रेस कार्यकर्ताले शनिबार प्रदर्शन गरेका हुन् ।
संघीय सरकारको क्रमागत आयोजनाअन्तर्गत भेड्पुस्थित अरले खानेपानी आयोजनालाई गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले अन्यत्रै सार्न खोजेपछि स्थानीय ज्ञापनपत्र बुझाउन गएका थिए । ज्ञापनपत्र बुझाउन गएका व्यक्तिलाई पक्रेर मुद्दा चलाएको कांग्रेस कार्यकर्ताहरूको आरोप छ । भेड्पुको अरले खानेपानी आयोजनामा गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले मनपरी गरेको भन्दै ज्ञापनपत्र बुझाउन गएकामध्ये राप्रपाका केन्द्रीय सदस्य प्रवीण थोकर, कांग्रेसका कृपाश्वर गोले, कुमार थोकर, मधुकर गोले र सपन गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू जिल्ला प्रहरी कार्यालय दोलखामा छन् । कांग्रेसको भ्रातृ संगठन तरुण दल र नेविसंघको संयुक्त आयोजनामा निकालिएको जुलुस पार्टी कार्यालय हुँदै सातदोबाटो पुगेको थियो ।
आन्दोलन चर्काउने चेतावनी
जुलुसपछि आयोजित कोणसभामा नेविसंघका पूर्वमहामन्त्री एवं कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले पक्राउ परेका पाँचजनालाई तत्काल रिहा नगरे आन्दोलन अझै चर्काउने बताए । उनले गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले खानेपानीका नाममा जनतामाथि अपराध गरेको आरोप लगाए । कोणसभामा कांग्रेस नेता बर्मा लामाले मुद्दा फिर्ता नलिए गाउँपालिका प्रवेशमा रोक लगाउने चेतावनी दिए ।
संघीय सरकारले चालू आर्थिक वर्षका लागि भेड्पुको बिकटोल, आँगेटार, लामाटोल र बिर्ता क्षेत्रमा खानेपानी विस्तार गर्न ९० लाख बजेट उपलब्ध गराएको थियो । सो बजेट गाउँपालिका अध्यक्षले आफूअनुकूल परिचालन गर्न खोजेको भन्दै ज्ञापनपत्र बुझाउन आएका भेड्पुवासी र अध्यक्ष श्रेष्ठबीच विवाद भएपछि आन्दोलनले उग्र रूप लिएको मेलुङ प्रहरीले जनाएको छ ।
मेलुङ गाउँपालिकाका अध्यक्ष श्रेष्ठले भने ज्ञापनपत्र बुझाउने नाममा आफूमाथि अभद्र व्यवहारका साथै आक्रमण प्रयास भएको बताएका छन् । उनले संघीय सरकारबाट प्राप्त आयोजना खानेपानी अभाव भएको क्षेत्रमा परिचालन गर्ने प्रारम्भिक चरणको तयारी हुँदाहुँदै आफूमाथि आपराधिक समूहले आक्रमण गर्न खोजेको सुनाए ।