दश दिनको उतारचढावपछि अन्ततः लियोनल मेसी बार्सिलोनाबाट कतै नजाने भएका छन् । यसको अर्थ हो, मेसी अब एक वर्षसम्म बार्सिलोनामै रहनेछन् । याे सिजन बार्सिलोनामै रहनुको कारण क्लबका अध्यक्ष जोसेप मारियाले वचन पूरा गर्दा मान्छन् मेसी । जोसेपले दिएको वाचा पूरा नगरेको ओरोप मेसीले लगाएका छन् । गत अगस्ट महिनामै मेसीले नाउ क्याम्पमा नहरने बताएका थिए । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको दश दिनपछि मेसीले बार्सिलोना छाड्ने घोषणा गरेका थिए ।
ट्रान्सफर विन्डोमा स्वतन्त्रपूर्वक छाड्न क्लबसँग उनले आग्रह गरेका थिए । उनले बार्सिलोनामा एउटा ड्राफट पठाएका थिए । बार्सिलोनाले त्यसपछि विभिन्न कानुनका बुँदा देखाएर मेसीलाई बार्सिलोनामै राख्ने योजना तयार पाऱ्याे । मेसीले १० जुनभित्र क्लब छाड्ने जानकारी दिनुपर्ने अध्यक्ष जोसेपले दाबी गरे । सम्झौताअनुसार खेलाडीले क्लब छाड्नका लागि १० जुनसम्म पूर्वसूचना दिनुपर्छ । तर, त्यस समयमा स्पेनिस ला लिगा चलिरहेको थियो । मेसीको ध्यान नै उपाधि रक्षा गर्नेतर्फ रह्यो । यसबीचमा सम्झौतापत्रअनुसार के–के गर्नुपर्ने उनले हेक्का नै राखेनन् ।
त्यही हेक्का नराखेकै कारण मेसीमाथि बार्सिलोनाका अध्यक्ष जोसेपले दबाब बनाउने प्रमुख अस्त्र नै १० जुनको डेटलाइन बनाए । मेसीको ‘रिलिज क्लज’ ७० करोड युरो राख्दा अर्जेन्टिनी खेलाडी अन्य क्लबमा जान सक्ने बाटो लगभग बन्द भयो । त्यो रकम तिर्न वर्तमान समयमा कुनै पनि क्लब तयार छैनन् । यद्यपि म्यानचेस्टर सिटीले सुरुवातमा मेसी भित्र्याउन केही कसरत नगरेको होइन । तर, अन्तिममा रिलिज क्लजकै कारण सिटी पछाडि हट्यो ।
यद्यपि बार्सिलोनाले नयाँ सिजनमा खेलाडीलाई स्थानान्तर हुन छुट दिएको छ । यही नीतिअनुरूप स्ट्राइकर लुइस सुआरेज युभेन्टस जाने पक्का भएको छ । तर, मेसीको रिलिज क्लज नै ठूलो समस्या बन्यो । ३३ वर्षीय मेसीले गोल डटकमसँग कुराकानी गर्दै भने, ‘लामो समयदेखि म बार्सिलोना छाड्ने योजनामा थिएँ, तर व्यवस्थापनले असजिलो पाऱ्याे, केही न केही बाधा पुऱ्याउने नै गरेको छ ।’
बार्सिलोनाका अध्यक्ष जोसेपले प्रत्येकचोटि सिजनको अन्त्यमा केही निर्णय गर्ने विश्वास दिलाएको मेसीले जनाए । भन्छन्, ‘क्लबका अध्यक्षले प्रत्येक सिजनको अन्त्यमा केही निर्णय गर्छु भनी विश्वास दिलाउनुभएको थियो, मैले क्लब छाड्दा बाधा नपुऱ्याउने बताउनुभएको थियो, तर उहाँले बोलीको वचन राख्नुभएन ।’
मेसीले रिलिज क्लब र १० जुन डेटलाइनकै कारण नै नाउ क्याम्पमा थप एक वर्ष बस्नुपरेको स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘अध्यक्षले वचन नराखेका कारण फेरि बार्सिलोनामै बस्नुपरेको छ, रिलिज क्लज ७० करोड युरो छ, यो रकम तिर्न सक्ने कुनै क्लब छैनन् ।’
मेसीले अदालतको बाटो भए पनि प्रयोग गर्ने जनाएका छन् । वर्षौं बिताएको क्लबविरुद्ध अदालतकाे बाटो नरोज्ने उनको भनाइ छ । मेसीले भने, ‘म कोर्ट जादिनँ, जुन क्लबमा म हुर्केँ, करिअरमा सबै दियो, त्यस क्लबविरुद्ध म अदालत जान सक्दिनँ, यहाँ मैले जे चाहेको थिएँ सबै पाएँ, बार्सिलोना मेरो जीवन हो, मैले आफ्नो जीवन यहीँ बनाएँ, यसकारण यो क्लबविरुद्ध अदालत नजाने निर्णय गरेको छु ।’ बार्सिलोनाले नै शुक्रबार राति नै मेसी एक सिजन नाउ क्याम्पमै रहने जनाएको थियो ।
मेसीले इन्स्ट्राग्राममा नयाँ सिजनमा उत्कृष्ट योगदान दिने वाचा गरेका छन् । ‘सकेसम्म उत्कृष्ट योगदान दिनेछु, बार्सिलोनाका समर्थकहरू तपाईं यति विश्वास गर्नुस्, वार्सा कहिले पनि परिवर्तन हुनेछैन,’ मेसीले लेखेका छन् ।
मेसीले फुटबल करिअरको राम्रो अन्त्यको खोजीमा रहेको जनाएका छन् । गोल डटकमसँग गरेको कुराकानीमा उनी भन्छन्, ‘हो अहिले पनि म भन्छु, प्रत्येक वर्ष बार्सिलोना छाड्ने विचार आउँछ, बार्सिलोनामा मेरो समय सकिएको छ, अहिले पनि करिअर यही बार्सिलोनामै समाप्त होस् चाहना राख्छु, तर यो सम्भव छैन, यसैकारण यस वर्ष नै क्लब छाड्ने निर्णय गरेँ ।’
सन् २०१९/२० को सिजन कठिन रूपमा बितेको मेसीले विश्लेषण गरेका छन् । बार्सिलोनाले २००८ पछि उपाधिविहीन रूपमा सिजन बताएको थियो । क्याटलान क्लबले युरोपियन च्याम्पियन्स लिग नजितेको पाँच वर्ष भइसकेको छ । १२ वर्षपछि उपाधिविहीन हुनु नै दुःखको क्षणका रूपमा मेसीले लिएका छन् । भन्छन्, ‘यदि सिजनको समीक्षा गर्ने हो भने गत वर्ष फुटबल करिअरकै नराम्रो वर्षका रूपमा लिएको छु, मैदान र ड्रेसिङ रुम राम्रो भएन, दुवै क्षेत्रमा तनावको मात्र सामना गरेँ, जब खेलाडी, प्रशिक्षक र ड्रेसिङ रुममा वातावरण राम्रो हुन्न त्यसवेला आफूले सोचे र भनेकोजस्तो हुँदैन ।’
नकारात्मक विचारबीच नै एउटा क्षितिजको किरण देखेको उनले बताए । उनका अनुसार नयाँ किरण थियो, बार्सिलोना छाड्ने । च्याम्पियन्स लिगमा बायर्नसँग पराजयले क्लब छाड्ने निर्णय कारण नभएको मेसीको भनाइ थियो । ‘धेरैले बायर्नसँगको हारले क्लब छाड्ने निर्णय भएको बताए, तर म अगाडिदेखि नै छाड्ने मुडमा थिएँ,’ मेसी भन्छन्, ‘त्यहीवेला नै मैले अध्यक्षलाई क्लब छाड्ने निर्णय सुनाएँ ।’ मेसीले बार्सिलोनामा १६ वर्ष बिताउँदा ६ सय ३४ गोल गर्नुका साथै ३४ उपाधि जिते ।
यद्यपि बार्सिलोनामै रहने निधो गरेका मेसीले प्रशिक्षक रोनाल्ड कोएम्यानसँग सम्बन्ध सुधार्नुपर्छ । सुरुमै प्रशिक्षक र मेसीबीच सम्बन्ध राम्रो भएन । एक वर्षमा मेसीलाई प्रशिक्षकले कसरी लिनेछन् र मेसीले प्रशिक्षकसँग कस्तो भावना राख्नेछन्, त्यो हेर्न बाँकी छ ।
यसै सन्दर्भमा प्रशिक्षकसँग कस्तो सम्बन्ध हुन्छ भन्ने प्रश्नमा मेसीको प्रतिक्रिया यस्तो रह्यो, ‘मेरो व्यवहारमा कुनै परिवर्तन आउनेछैन, समय र परस्थिति जस्तो भए पनि म आफूलाई परिवर्तन गर्दिनँ ।’ उनी भन्छन्, ‘म वर्षभरि नै उत्कृष्ट प्रदर्शनको प्रयासमा रहनेछु, हार वा र जित भनेको मैदानमा आउने नतिजा हो, यसबाट कोही पनि डराउनुहुन्न ।’
मेसीले बार्सिलोनालाई युवा खेलाडीको आवश्यकता रहेको स्पष्ट पारेका छन् । ‘बार्सिलोनालाई यति वेला युवा खेलाडीको अति नै आवश्यकता छ, जुन समयमा हामी युवा थियौँ, त्यसवेला एक से एक खेलाडी बार्सिलोनामा थिए, अहिले त्यही अभाव भएको छ,’ उनले भने ।