सुर्खेतको सुब्बाकुनामा १ सय ३२ केभी प्रसारण लाइनको सबस्टेसन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुम–पश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सबस्टेसन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या देखिँदै आएको हो ।
सबस्टेसनका लागि चार वर्षअघि जग्गा अधिग्रहण गरे पनि डिजाइन गर्ने इटालियन कन्सल्टेन्टले बोलपत्र आह्वान गर्न ढिलाइ गरेको हो । सबस्टेसन निर्माण कार्य पूरा भएपछि अर्को जहरेमा निर्माण हुन लागेको ४ सय केभी प्रसारण लाइनको काम पूरा भएपछि मात्र चार जिल्लाको विद्युत् समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले बताए । अहिले सुर्खेतको सुब्बाकुना र जहरेमा ठूला सबस्टेसन निर्माण नभएकाले जाजरकोट, सुर्खेतको केही भाग, रुकुम–पश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ ।
त्यस्तै, जाजरकोट, नलगाड नगरपालिका–७ दानीपीपलमा समेत ४ सय केभी प्रसारण लाइनको सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । प्रदेशले नै जाजरकोटको चौखा सबस्टेसन निर्माणका लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरिले बताए । नलगाड जलविद्युत् आयोजना (४१७ मेगावाट), ताँसुगाड जलविद्युत् आयोजना (४.५ मेगावाट), डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना (१०६ मेगावाट) निर्माणका लागि १ सय ३२ केभी प्रसारण लाइन निर्माण कार्य छिटो गर्नुपर्ने बाध्यता रहेको छ ।