कोरोना संक्रमण जितेका खेलकर्मीका सुझाब

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस (कोभिड–१९) संक्रमण अझै त्रासपूर्ण छ । संक्रमणको संख्या दैनिक बढ्दै जाँदा सर्वसाधारणमा त्यसको प्रभाव अझ गम्भीर देखिँदै छ । लामो समयको लकडाउन–निषेधाज्ञासँगै कोरोना त्रासले अरू मानसिक समस्या निम्त्याउने अवस्था पनि देखिएको छ । भाइरस संक्रमण त्रासकै कारण अहिले घरेलु खेलकुद गतिविधि ठप्प बनेको छ । खेलाडी र खेलकुद पदाधिकारीहरूमै संक्रमण देखिएपछि सुरु हुने तयारीमा रहेका खेलकुद गतिविधि रोकिएको हो । कोरोना संक्रमण भएर स्वस्थ बनेका खेलाडी सकारात्मक सोच, स्वस्थ खानपान र नियमित व्यायामले संक्रमण जितिने बताउँछन् । सुनौँ उनीहरूको कोरोना सुझाव ।

‘आत्मबल सबैभन्दा महत्वपूर्ण रहेछ’ : पवन दास, पूर्वक्रिकेटर

१४ साउनमा एउटा बैठकमा सहभागी भएको थिएँ । त्यहाँबाट फर्किएपछि टाउको दुख्न थाल्यो । दुई दिनपछि चर्काे ज्वरो आयो । म जुन बैठकमा सहभागी भएर फर्किएको थिएँ, त्यहाँ भएका अरू तीनजनामा कोरोना संक्रमण देखिएको खबर सुनेँ । त्यसपछि आफैँ पनि पिसिआर परीक्षणका लागि अस्पताल पुगेँ ।

मसँगै बुबा, आमा र मेरो दुईजना नानीलाई पनि संक्रमण देखियो । श्रीमती र मसँग सम्पर्कमा रहेका अरू केही साथीलाई भने संक्रमण देखिएन । मैले नै घरमा संक्रमण फैलाएको महसुस भयो । केही दिनसम्म धेरै तनाव भयो । बुबाआमा बढी उमेर र प्रेसरको औषधि लिइरहनुभएकाले अझ अरू तनाव थपिएको थियो । यद्यपि, आत्मबल महत्वपूर्ण रहेछ ।

आफैँले आफैँलाई सम्हाल्ने प्रयास गरेँ । साथै, बुबाआमा पनि सँगै हुनुभएकाले हामीबीच एक–अर्कालाई अझ साथ मिल्यो । एक–अर्कालाई हौसला दिएर बस्यौँ । शरीरलाई शक्ति दिनेखालका खानेकुरा खायौँ ।

हामीले कहिले के खाने भनेर सूची नै बनाएका थियौँ । बिहान कागतीपानी खायौँ । खाना खाएपछि दिउँसो दूध र बेसार मिसाएर खायौँ । तातोपानी मात्रै खाने गर्‍यौँ । त्यसो गरेपछि एक दुई दिनपछि नै ज्वरो आउन छाड्यो । बिस्तारै सहज हुँदै गयो । २१ दिनपछि पुनः परीक्षण गर्दा संक्रमण ‘नेगेटिभ’ देखियो ।

म र मेरो परिवारले कोरोना संक्रमणलाई यसरी सहजै जित्यौँ । यही अनुभवका आधारमा म सबैलाई त्रासमा बस्नुभन्दा आफ्नो व्यवहारमा ध्यान दिन अनुरोध गर्दछु । बाहिर भनिएजस्तो कोरोना धेरै घातक होइन रहेछ ।

हामीले आत्मबल बलियो बनायौँ र स्वस्थ खानेकुरामा ध्यान दियौँ भने कोरोना संक्रमणलाई सहजै जित्न सक्छौँ । त्योभन्दा अघि कोरोना संक्रमण हुन नदिन आफूले आवश्यक उपाय भने अपनाउनुपर्छ । त्यसका लागि शारीरिक दूरी कायम गर्नु महत्वपूर्ण छ । 

‘आफूले आफैँलाई प्रेरित गर्नुपर्छ’ : एरिक विष्ट, फुटबलर 

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको तयारी थियो । बन्द प्रशिक्षण सुरु हुनुअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लकडाउनको समय काठमाडौंबाहिर रहेका र काठमाडौंभित्रै रहेका खेलाडीको पिसिआर परीक्षण फरकफरक दिन गर्ने गरी मिलाएको थियो । काठमाडौंमै रहेका मलगायत खेलाडीको पिसिआर परीक्षण ११ अगस्टमा गरिएको थियो । त्यसको दुई दिनपछि सबैको रिपोर्ट आयो । तर, मेरो आएन ।

‘स्वाब’ संकलनमा गल्ती भएकाले पुनः परीक्षण गर्नुपर्ने भएको भनेर एन्फाबाट खबर पाएँ । घरमा सल्लाह गरेर फेरि ह्याम्स अस्पतालमा पिसिआर परीक्षण गराएँ । त्यसको दुई दिनपछि टेकु अस्पतालबाट संक्रमण पुष्टि भएको खबर आयो । अस्पतालबाट खबर आउनुअघि नै सामाजिक सञ्जालतिर मेरो नाम नै राखेर कोरोना संक्रमित भएको ‘पोस्ट’ देखेको थिएँ । 

त्यसैले त्यस बेलादेखि नै म घरमै ‘आइसोलेसन’मा बसिसकेको थिएँ । जब अस्पतालबाट खबर आयो, ठूलो पीडा महसुस हुँदोरहेछ । एक्कासि सामाजिक सञ्जालमा त्यस्तो पोस्ट देख्दा अवस्था थप त्रासपूर्ण बन्यो ।

यद्यपि, आफ्नो सहारा आफैँ बन्ने प्रयास गरेँ । आफूलाई प्रेरित गर्न धेरै ‘मोटिभेशनल’ भिडियो खोजेर हेरेँ । खानेकुरामा ध्यान दिएँ । स्वस्थ रहनुपर्छ भनेर घरको छतमै भए पनि नियमित व्यायाम गरिरहेँ । आफन्त र एन्फाबाट पनि धेरैले फोनमार्फत हौसला दिइरहनुभयो । आफैँ सकारात्मक रहने बानी, स्वस्थ खानेकुरा र नियमित व्यायामले १९ दिनपछि मैले कोरोनालाई जितेँ । पहिले कोरोनाका कारण यति मान्छे मरे भन्ने समाचार सुनेको थिएँ । त्यसले गर्दा संक्रमण हुँदा नै मरिन्छ कि भन्ने डर हुँदो रहेछ । तर, कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्ने रहेनछ । सधैैँ सकारात्मक भएर बस्ने बानी बसाल्नुहोस् । कोरोनालाई जित्न सकिन्छ । 

‘संक्रमित हुँदैमा नआत्तिनुस्’ :  हीरा थापामगर, स्क्वासका प्रशिक्षक

सातदोबाटोस्थित स्क्वास हलमा आउनुभएको एकजना पदाधिकारीमा संक्रमण देखिएपछि उहाँको सम्पर्कमा गएका हामी १०–१२ जनाले पिसिआर परीक्षण गराएका थियौँ । त्यसमध्ये मेरो मात्रै संक्रमण भएको रिपोर्ट आयो । अरू कसैमा पनि संक्रमण देखिएन । त्यस बेला आफूलाई धेरै नै पीडा भएको थियो । त्यसअघि इटालीमा संक्रमण भएका मान्छे धेरै मरेका समाचार सुनेको थिएँ । त्यसैले आफू पनि संक्रमित भएको समाचार पहिलोपटक सुन्दा अवस्था त्रासपूर्ण बनेको थियो । मलाई संक्रमण भए पनि लक्षण केही देखिएको थिएन । त्यसैले संक्रमणलाई जित्न नियमित व्यायाम र खानपानमा ध्यान दिएँ । 

दिनको एउटा उसिनेको अन्डा खाएँ । तातोपानी मात्रै खाएँ । कागती पानी धेरै पिएँ । संक्रमित भएर ‘होम आइसोलेसन’मा बसेको १८ दिनपछि फेरि परीक्षणका लागि गएँ । आफैँले पैसा तिरेर परीक्षण गराएँ । तर, दुई दिनपछि आउँछ भनेको रिपोर्ट पाँच दिनसम्म आएन । त्यो समय फेरि तनाव थपियो । संक्रमण देखिएकैले रिपोर्ट नआएको होला भन्ने सोचेँ । पाँच दिनको बिहान एउटा म्यासेज आयो, तर बुझिएन । फेरि आफैँ फोन गरेर अस्पताल पुगेँ । रिपोर्ट नेगेटिभ रहेछ । रिपोर्ट देखेपछि खुसीको सीमा रहेन । त्यसपछि आफ्नो आत्मबल पनि बढ्यो । त्यसपछि महसुस भयो कि कोरोना भनेको रुघाखोकीजस्तै सामान्य रहेछ ।

खानपिनमा ख्याल गरेको छ भने कोरोनालाई जित्न सकिने रहेछ । त्यसैले म कसैमा संक्रमण देखिए पनि नआत्तिन सुझाब दिन चाहन्छु । नियमित व्यायाम र सन्तुलित खानपानमा ध्यान दिने हो भने सातादिनमै कोरोनालाई जित्न सकिने रहेछ । त्यसो भन्दैमा लापरबाह नबन्नुहोस् । दीर्घरोगीहरूलाई यसले ठूलै समस्या पनि दिन सक्छ । त्यसैले संक्रमणबाट बच्न आवश्यक उपाय भने अपनाउन सुझाब दिन चाहन्छु ।

सुझावित समाचार