श्रीलंका र पाकिस्तानमा टी–२० फ्रेन्चाइज लिगको तयारी

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस महामारी (कोभिड–१९) को बीच नै पाकिस्तान प्रिमियर लिग (पिएसएल) तथा लंका प्रिमियर (एलपिएल) लिग टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुने भएका छन् । यो दुवै लिग विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को समाप्तिपछि हुने जनाइएको छ । 

आइपिएल यसपटक युएईमा हुँदै छ । यो १९ सेप्टेम्बरबाट सुरु हुन्छ । यसको समापन (फाइनल) १० नोभेम्बरमा हुने आइपिएलले जनाएको छ । आइपिएल सकिएको चार दिनपछि श्रीलंकामा लंका प्रिमियर लिग प्रारम्भ हुन्छ । यसको फाइनल ६ डिसेम्बरमा हुनेछ । उता पाकिस्तानको पिएसएलका चार खेल नोभेम्बरमै हुनेछन् । कोरोना भाइरसको महामारीका कारण पिएसएलले नोभेम्बरमा केवल चार खेलमात्र आयोजना गर्नेछ । 

पिएसएलका सबै खेल लाहोरमै हुने जनाएको छ । यदि कोरोना भाइरस नभएको भए एलपिएल लिग २८ अगस्टदेखि २० सेप्टेम्बरसम्म हुने थियो । कोभिड– १९ का कारण यसको मिति सारिएको हो । लंका प्रिमियर लिगमा पाँच टोलीको सहभागिता रहनेछ । कोलम्बो सुपर किंग्स, गाले लायन्स, केन्डी रोयल्स, जाफना सनराइजर्स तथा डाम्बुला क्यापिटल्स रहेका छन् । 

श्रीलंकाली मिडिया तथा समर्थकहरूले लंका प्रिमियरमा सहभागी भएका फ्रेन्चाइज टोलीका नाम आइपिएलकै जस्तो भएको जनाएका छन् । सामाजिक सञ्जालमा यसको विरोध पनि भइरहेको छ ।  लंका प्रिमियर लिगमा विश्वका चर्चित क्रिकेटर हुनेछन् । सन् २०१९ को विश्वकप विजेता इंग्ल्यान्डका फास्ट बलर प्लेकेट तथा उपविजेता न्युजिल्यान्डका टिम साउथीले प्रतिस्पर्धा गर्नेछन् । 

यस लिगमा ९३ अन्तर्राष्ट्रिय क्रिकेटले भाग लिने आयोजकले जनाएको छ । पाकिस्तानका अलराउन्डर मोहमद हफिज तथा वेस्टइन्डिजका ओपनर डवाने स्मिथको पनि सहभागिता रहनेछ । लंका प्रिमियर लिगको नियमअनुसार एक टोलीले प्रतिस्पर्धाको दौरान ६ जना विदेशी खेलाडी सहभागिता गराउन सक्छ । 

आइपिएलमा चारजना मात्र विदेशी खेलाडी मिल्ने प्रावधान छ । यो लिगमा आठ प्रशिक्षक हुनेछन् । श्रीलंकाको कोलम्बो, डाम्बुला, केन्डी तथा हवनटोटा सहरमा लिग हुनेछन् । पाकिस्तानको लिगमा १४ नोभेम्बरको दिन दुई खेल हुनेछन् ।

सुझावित समाचार