पर्यटकीय सहर पोखरामा पर्यटन बसपार्क निर्माणको काम झन्डै ९० प्रतिशत पूरा भएकोे छ ।
कोरोना प्रभावका कारण लक्ष्यअनुरूप काम गर्न नपाए पनि बिस्तारै भइरहेको निर्माता कम्पनी आशिष–सिएम–मिसन जेभीका डाइरेक्टर शान्तकुमार श्रेष्ठले बताए ।
उनका अनुसार अब गेट निर्माण, रङरोगन र सौन्दर्यीकरणलगायतका काम बाँकी छ । गत वैशाखमै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरेको भए पनि कोरोना संक्रमणका कारण जारी लकडाउन र निषेधाज्ञाले गर्दा निर्माणमा ढिलाइ भएको हो ।
नियमित काम गर्न पाए अबको एक–डेढ महिनामा निर्माणको सबै काम सम्पन्न गरेर बसपार्क हस्तान्तरण गर्ने डाइरेक्टर श्रेष्ठले बताए ।
‘हाम्राे लक्ष्य वैशाखको अन्त्यसम्ममा काम सक्ने र हस्तान्तरण गर्ने थियोे,’ उनले भने, ‘तर, कोरोना संक्रमणका कारण लकडाउन र निषेधाज्ञाले नियमित काममा बाधा पुग्दा ढिलाइ भयो । अबको एक–डेढ महिनामा सकाएर हस्तान्तरण गर्ने योजनामा छौँ ।’
कम्पाउन्ड वाल, बिल्डिङको ढलान र प्लास्टर सकिएको छ । गेट राख्ने र भुइँको केही ढलानको काम अहिले भइरहेको छ ।
पोहोर २८ फागुनमा सम्झौता भएर निर्माण कार्य सुरु भएको निर्माणको पोहोरकै भदौको दोस्रो साताको अन्तिमबाट केही समय रोकिएको थियो ।
स्थानीयले आफूहरूलाई निकास दिनुपर्ने माग गरेका थिए । त्यसलाई सम्बोधन गर्न थोरै डिजाइन परिवर्तन गरिएको थियो ।
त्यसपश्चात् निर्माणको काम अगाडि बढेकोमा कोरोना संक्रमणपछि केही समय रोकिएको थियो । अहिले निर्माणको काम जारी रहेको डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।
४० बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ गर्न मिल्ने
निर्माण कम्पनीको स्थानीय आधिकारिक प्रतिनिधि एविज इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रोजेक्ट डाइरेक्टर इन्जिनियर असिम बरालका अनुसार पर्यटन बसपार्कमा ४० वटा पर्यटकबाहक बस आवतजावत गर्न सक्नेछन् ।
१० वटा माइक्रोबस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल, केही कारसमेत राख्ने स्थल रहनेछ । बसपार्कको दक्षिण–पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण–पश्चिमबाट बस बाहिरिने छन् ।
बसपार्कको पश्चिम र पूर्वी भागमा दुवैतर्फ एक सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बन्नेछ ।
जहाँ पर्यटक ओर्लिएपछि एकैछिन उत्तरी हिमालतर्फको सिन लिँदै तस्बिर खिच्न पाउनेछन् ।
डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइनेछ । बसपार्कमा व्यवस्थित शाैचालय, चमेनागृह रहन्छन् । अष्ट्रेलिया गएका बराल भने अहिले कोरोनाका कारण उतै रोकिएका छन् ।
लागत सात करोड ५० लाख
पोखरा महानगरपालिका– ७, राष्ट्र बैंकचोकनजिक निर्माण भइरहेको आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता २८ फागुन ०७५ मा भएको हो ।
निर्माण कम्पनीका अनुसार दुई असोज ०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता हो ।
तर, कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाइ भएको हो । सात हजार नाै सय वर्गमिटरमा बन्ने बसपार्कको निर्माण सात करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्ने सम्झौता हो ।