जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार ढोरपाटन वडा नम्बर ५, ६, ७, ८ र ९ को तटीय क्षेत्रमा ३० भन्दा बढी घर बगाएको छ।
अहिलेसम्म बाढीमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । मृतकमध्ये ६ जना महिला र तीनजना पुरुष भए पनि एकजनाको मात्र सनाखत भएको छ । सनाखत भएकी एक महिला भने ढोरपाटन नगरपालिका– ९ की २६ वर्षीया केशमाया विक रहेको रेग्मीले बताए।
शव कतै पुलको लठ्ठाेमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोलाकिनारको बालुवामा भेटिएको छ। शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बाढीमा बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका– ९ बस्ने ३५ वर्षीया कौशला पुन, उनको ६ वर्षीय छोरा हिक्मत पुन, ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, २८ वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर, उनको ६ वर्षीय छोरा रहेका छन् ।
यसैगरी ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन, गलकोट नगरपालिका– ४ घर भई ढोरपाटन घुम्न गएका २४ वर्षीय नवीन भण्डारी बेपत्ता भएका छन् भने भण्डारीसँगै घुम्न गएका अन्य तीनजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेग्मीले जानकारी दिए।
ढोरपाटनको वडा नम्बर ६, ७ र ८ मा नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। बाढीका कारण सबै ठाउँमा सडक अवरुद्ध भएको छ ।
बाढीले सडकछेउमा पार्किङमा राखेको जिप, दुईवटा विद्युत्गृह, स्वास्थ्य चौकी भवन, एउटा झोलुंगेपुल, ढोरपाटन– ९ को सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ।