जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना सुरक्षा मापदण्ड नअपनाउने व्यापार–व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ । कोरोना नियन्त्रण र रोकथामको विकल्प नै सुरक्षा मापदण्ड रहेकाले त्यस्ता मापदण्ड अनिवार्य अपनाउन कार्यालयले व्यापारीलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले ३२ साउनदेखि जुम्लामा निषेधाज्ञा जारी गरेको छ । करिब १० दिनको पूर्ण निषेधाज्ञापछि प्रशासनले १४ भदौदेखि आंशिक निषेधाज्ञा जारी गरेको छ । बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सुरक्षा मापदण्ड अपनाएर सबै व्यापार–व्यवसाय सञ्चालन गर्न अनुमति दिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, ‘सुरक्षा मापदण्ड नअपनाउने व्यवसाय बन्द गर्ने चेतावनी दिएका छौँ ।’ व्यवसायीहरूले आफ्नो पसलको ढोका अगाडि अनिवार्य साबुनपानीले हात धुने व्यवस्थासहित स्यानिटाइजर, मास्क र व्यक्तिगत दूरी कायम गर्ने गरी व्यापार–व्यवसाय गर्न सुझाएको उनको भनाइ छ ।
प्रशासन र उद्योग वाणिज्य संघबीचको छलफलबाट जुम्ला बजारको प्रत्येक टोलमा सुरक्षा मापदण्डबारे अनुगमन गर्न संघले सोमबारदेखि स्वयंसेवक परिचालन गरेको छ । उद्योग वाणिज्य संघका पारस उपाध्यायका अनुसार परिचालित स्वयंसेवक सबै व्यवसायी नै हुन् । उनीहरू सबैले तोकिएका ठाउँमा साबुनपानी र स्यानिटाइजर राख्न सुझाब दिनेछन् । उनीहरूले दिएको सुझाबलाई व्यापारीले अटेरी गरेको खण्डमा स्वयंसेवकले प्रशासनसमक्ष खबर गर्नेछ ।
बजारमा खाद्यान्न अभाव हुन थालिरहेको समयमा स्थानीय प्रशासनले केही अत्यावश्यक सामग्री किनबेच गर्न सहज होस् भनेर सात घन्टा बजार खुला रहने व्यवस्था मिलाइएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, ‘व्यापारीले सुरक्षाका मापदण्ड पालन नगरेकाले हामीले स्वयंसेवक परिचालन गर्न लगाएका छौँ । अब पसल सञ्चालकले सेवा दिँदा पूर्ण रूपमा जनस्वास्थ्य सेवाको मापदण्डअनुसार काम गर्नुपर्नेछ ।’