भूकम्पको पाँच वर्ष बित्यो, जोखिममा परेको बस्ती अझै स्थानान्तरण भएन

मंगलबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

विनाशकारी भूकम्पबाट जोखिमयुक्त बस्तीमा परेका विस्थापित पाँच वर्ष बित्दा पनि सुरक्षित स्थानमा बस्ती स्थानान्तरण हुन नसकेपछि समस्यामा परेका छन् । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार लमजुङका ६९ घरपरिवार पहिरोको उच्च जोखिममा छन् । तीमध्ये जिल्लामा पाँच परिवारको मात्र बस्ती स्थानान्तरण भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययनअनुसार ०७२ को भूकम्पबाट लमजुङको क्व्होँलासोथर गाउँपालिका– ७ भोजेको २९ घर पहिरोको उच्च जोखिममा छन् ।

भोजेको दुई घर स्थानान्तरण भए पनि बाँकी स्थानान्तरण नभएको क्व्होँलासोथर गाउँपालिका– ७ का वडाध्यक्ष डिलकुमारी गुरुङले बताइन्  । उनका अनुसार १४ घरपरिवारले आफ्नो जग्गा नभएकाले जग्गा खरिद गरी घर बनाउने क्रममा छन् । क्व्होँलासोथर गाउँपालिका– ७ का वडासचिव तक्मा विकले गाउँका पहिरो प्रभावित पानी पर्न साथ गाउँमाथि गएर बस्ने गरेको बताए । 

उनी भन्छन्, ‘जब पानी पर्छ मानीसहरू पहिरोको डरले घर छोड्न बाध्य छन् ।’ प्राधिकरणले घर निर्माणमा चासो नदिँदा पहिरोको डरले स्थानीय डरैडरमा बस्नुपरेको वडासचिव विक बताउँँछन् । आकाशमा कालो बादलसँगै वर्षा सुरु हुन थालेपछि कुन वेला पहिरोमा परिने हो भन्ने त्रासले रातभर झिमिक्क निदाउन नसकेको भोजेको स्थानीय टेकबहादुर गुरुङ बताउँछन् । 

उनी भन्छन्, ‘पानी नपर्दा त दिनरात डर हुन्थ्यो । बर्खामा त सुत्ने कुरै भएन ।’ त्यस्तै क्व्होँलासोँथर गाउँपालिका– ८ मपिङका आठ घरपरिवार पनि उच्च जोखिममा छन् । ती परिवारको पनि बस्ती स्थानान्तरण हुन सकेको छैन । यस्तै, मर्स्याङ्दी गाउँपालिका– ५ घेर्मु उपल्लो चिप्लाका २२ घर पनि पहिरोको उच्च जोखिममा छन् । 

हालसम्म उक्त क्षेत्रमा आठ घरपरिवारले जग्गा खरिद गरेका छन् भने २० घरपरिवारले पहिलो किस्ता लिएका छन् । अनुसन्धानकर्ता तथा विज्ञले उक्त गाउँ सार्न सिफारिस गरे पनि बस्ती स्थानान्तरण नभएको स्थानीय कुमिरजंग गुरुङले बताए । पहिरोले घर बगाउन लागेपछि रामबहादुर गुरुङ घेर्मुफाँटमा बसाइँ सरेका छन्। सरकारबाट स्थानान्तरणको काम नभएपछि आफ्नै खर्चले घर बनाएको उनको भनाइ छ ।

 स्थानीय आइतसरी गुरुङ भन्छिन्, ‘पहिरोले घर लाने समस्या भएपछि डराइडराई बस्नुपरेको छ ।’ जाने ठाउँ नभएका स्थानीय पहिरोकै त्रासमा यहीँ बस्न बाध्य छन् । कुल ८५ घरधुरी रहेको चिप्लामा पहिरो बढ्दै गएपछि बसाइँ सरेर जानेको सङ्ख्या बढ्दो छ । अहिले सिंगाे गाउँमा ४१ घर मात्र बाँकी छन् । दूधपोखरी गाउँपालिका– १ पिप्राउका ६ घर पहिरोको उच्च जोखिममा छन् । प्रिपाउका तीन घरपरिवारले तेस्रो किस्ता लिएका छन् भने दुई घरले जग्गा खरिद गरेका छन् ।

दोर्दी गाउँपालिका– ७ फलेनी तल्लो माझखर्कका चार घर उच्च जोखिममा छन् । माझखर्कका भूकम्प प्रभावितले पहिलो किस्ता लिए पनि बस्ती स्थानान्तरण भएको छैन । हाल उनीहरू पुरानै घरमा बसेका छन् । 

जिल्लामा भिरालो जमिन रहेको र बस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गा खोज्न कठिनाइ भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय लमजुङका प्रमुख जगदीश मिश्रले बताए । 

भूकम्पपछि पहिरोको जोखिममा रहेको परिवारको स्थानान्तरण कार्यालयमार्फत हुने उनको भनाइ छ । जोखिममा रहेको बस्तीको पहिचान गरे पनि धेरै परिवारको बस्ती स्थानान्तरण प्रक्रिया अघि बढ्न नसकेको प्रमुख मिश्रले बताए ।    

सुझावित समाचार